माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाडौं । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/सात महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने छ ।

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण समेत गरेका थिए । बाढी पहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको जनाइएको छ ।

 

कार्यकारी निर्देशक घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत्गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए ।

 

उनले ४२.५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिबार स्थलगत निरीक्षण गरेका थिए । यी दुई आयोजनाले भने एक वर्षभित्र विद्युत उत्पादन गर्ने जनाइएको छ ।

 

ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

 

माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट यी तीन जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण सुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् ।

 

सबैको मनमस्तिकमा गढेको उज्यालो नायकका रूपमा परिचित घिसिङको भ्रमणले रसुवामा सञ्चालित अन्य विद्युत् आयोजना लक्षित समयमा पूरा गराउन प्राविधिकलाई थप हौसला बढेको र आगामी दिनमा उनको भ्रमणले निरन्तरता पाइरहने आफूहरू आशावादी रहेको विद्युत् क्षेत्रमा कार्यरत प्राविधिक बताउँछन् ।

 

चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत सेयर जिल्लावासीलाई उपलब्ध गराई खरिद गर्न नसक्नेका लागि बैंकबाट ऋणको समेत व्यवस्था मिलाउने कार्यमा कार्यकारी निर्देशक घिसिङले योगदान दिएका थिए ।

ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं बाहिरका सहरमा घरजग्गाको कारोबार उच्च, यी हुन् धेरै किनबेच हुने १० ठाउँ Read Next

काठमाडौं बाहिरका सहरमा घरजग्गाको कारोबार उच्च, यी हुन् धेरै किनबेच हुने १० ठाउँ