काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामाभन्दा बाहिरका जिल्लाहरुमा घरजग्गाको कारोबार बढी हुन थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौं बाहिरका जिल्लामा पनि तीव्र रुपमा घरजग्गा कारोबार हुन थालेको देखिएको हो ।
काठमाडौं उपत्यकामा भने अनुसार जग्गा नपाइने र जग्गाको भाउ पनि छोइ नसक्नु भएकाले उपत्यका बाहिरका मुख्य सहरहरुमा कारोबार फस्टाएको घरजग्गा व्यवसायीहरु बताउँछन् ।
यस्तै, तुलनात्मक रुपमा जग्गाको भाउ काठमाडौंकोभन्दा सस्तो हुनु, उपत्यका बाहिरका सहरमा पनि यहाँकै जस्तो पूर्वाधार विकास हुनु, औद्योगीकरण बढ्नु, रोजगारी सृजना हुनु, संघीय राजधानीका रुपमा सहरहरु विकसित हुनु लगायत कारणले काठमाडौं बाहिरका जिल्लामा घरजग्गाको किनबेच बढेको हो ।
पछिल्लो समय काठमाडौं उपत्यका बाहिरका इटहरी, विराटनगर, भरतपुर, पोखरा, धुलिखेल, बनेपा, घोराही, धनगढी, निजगढ, हेटौंडा लगायत मुख्य सहरहरुमा घरजग्गा किनबेच बढेको विभागको तथ्यांकले देखाएको छ । यी सहरहरुमा जग्गाको भाउ काठमाडौं उपत्यकाकौ हाराहारीमा रहेको छ भने केही ठाउँमा काठमाडौंकोभन्दा पनि महँगो रहेको छ ।
यी हुन् कात्तिकमा धेरै घरजग्गा किनबेच भएका ठाउँहरु
भूमि व्यवस्थापन विभागको तथ्यांक अनुसार कात्तिक महिनामा कुल ५० हजार ८३ वटा घरजग्गा किनबेच भएको छ । जसमा सार्वाधिक किनबेच हुने १० जिल्लाको शीर्ष ७ स्थानमा काठमाडौं उपत्यका बाहिरका जिल्लाहरु रहेका छन् ।

कात्तिकमा सबैभन्दा धेरै घरजग्गा किनबेच मालपोत कार्यालय, इनरुवा सुनसरीमा भएको छ । यस कार्यालयबाट कात्तिकमा २०१९ घरजग्गा किनबेच भएको छ ।
यसैगरी, कात्तिकमा दोस्रोधेरै घरजग्गा किनबेच मालपोत कार्यालय मोरङबाट भएको छ । एक महिनामा यस कार्यालयबाट १ हजार ९४४ घरजग्गा किनबेच भएको छ ।
कात्तिकमा सर्वाधिक घरजग्गा किनबेच हुने मालपोत कार्यालयहरु क्रमशः मालपोत जनकपुरधाम १ हजार ७८१, मालपोत कार्यालय भद्रपुर झापा १ हजार ७५५, मालपोत कार्यालय नेपालगञ्ज बाँके १ हजार ६६१, मालपोत कार्यालय भक्तपुर, १ हजार ६२०, ललितपुर मालपोत १ हजार ५७७, मालमोत कार्यालय कलंकी १ हजार २८०, मालपोत कार्यालय चितवव १ हजार २७८ रहेका छन् ।
यसैगरी, कात्तिकमा मालपोत कार्यालय काभ्रेपलाञ्चोक, धनगढी, जलेश्वर, बारा, विराटनगर र राजविराजमा पनि १ हजार बढी घरजग्गा किनबेच भएका छन् ।