काठमाडौं । नेपाली बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बिहीबार सम्पूर्ण बीमा कम्पनीहरुले अब शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने पर्ने हस्तक्षेपकारी निर्देशन जारी गर्यो ।
यसअघि बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीमा २० प्रतिशत पुनर्बीमा अनिवार्य गनुपर्ने व्यवस्था गरिएको थियो । सो व्यवस्थालाई संशोधन गर्दै समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सम्पूर्ण पुनर्बीमा नेपालमै गर्नुपर्ने व्यवस्था गरेको हो ।
हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी क्षेत्रको लागनीमा हालै संचालनमा आएको हिमालयन पुनर्बीमा गरी दुईवटा मात्रै पुनर्बीमा कम्पनी रहेका छन् ।
बीमकको जोखिम बहन गर्नका लागि बीमा कम्पनीहरुले बीमा गरेका हुन्छन् । त्यसमा सबेै जोखिम कम्पनी आफैले बेर्होदैनन् । उनीहरुले पनि बीमकको जोखिमलाई पुनर्बीमा गर्छन् । हाल नेपाली जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले कम्तीमा २० प्रतिशत स्वदेशी पुनर्बीमा र बाँकी विदेशी कम्पनीमा पुनर्बीमा गर्दै आएका छन् । समितिको पछिल्लो निर्देशनले अब विदेशमा पुनर्बीमा गर्ने ढोका बन्द भएको छ ।
नियमनको नाममा समितिले जारी गरेको उक्त निर्देशनले अहिले बीमा क्षेत्रमा तरंगित बनाएको छ । समितिको निर्देशनलाई एकाथरीले स्वदेशी पुनर्बीमा कम्पनीको व्यवसाय विस्तारमा यो निर्णय कोशेढुंगा साबित हुने, स्वदेशी पैसा विदेशिन रोकिने भनेर सकारात्मक चर्चा गर्न थालेका छन् ।
अर्काथरी, हाल भएका दुई पुनर्बीम कम्पनीले मात्र सबै जोखिम बहन गर्न नसक्ने, खुला बजार अर्थतन्त्रको नीति विपरीत सिन्डिकेट लाद्न खोजेको लगायत टिप्पणी गरेका छन् । साथै, स्वार्थ समूहको चलखेलमा हालै खुलेको हिमालयन रि इन्स्योरेन्सलाई व्यापार दिन यस्तो यस्तो नीति ल्याइएको आरोप समेत लगाएका छन् ।
‘स्वदेशी मुद्रा बाहिर नजाओस् भन्ने उद्देश्य नीति ल्याइएको हो’
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पैडेल स्वदेशी मुद्रा बाहिर नजाओस् भन्ने र स्वदेशी पुनर्बीमा कम्पनीलाई बलियो बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको बताउँछन् ।
‘हाम्रो उद्देश्य स्वदेशी मुद्रा विदेश नजाओस् स्वदेशमै बसोस् भन्ने हो, स्वदेशी पुनर्बीमा कम्पनीले गर्न नसकेपछि बाहिर जाने हो,’ उनले भने,‘पहिलो प्राथमिकता स्वदेशमै दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
३९ वटा बीमा कम्पनीकको स्वदेशी पुनर्बीमा कम्पनीले मात्रै जोखिम धान्न सक्छन् भन्ने जिज्ञासामा निर्देशक पौडेलले भने, ‘स्वदेशी पुनर्बीमा कम्पनीहरुले हामी धान्न सक्दैनौँ भनेपछि बाहिर जाने ठाउँ छोडिदिएकै छ ।’
यस्तै, स्वार्थ समूहको चलखेलमा हालै खुलेको पुनर्बीमा कम्पनीलाई व्यापार दिन यस्तो व्यवस्था गरिएको भन्ने आरोप लागेको छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘स्वदेशी कम्पनीको हितका काम गर्दा कसरी चलखेल हुन्छ ? विरोधका लागि जे पनि आरोप लगाउने ?’
‘समितिको निर्देशनले बीमा क्षेत्रमा ठूलो असर पुर्याउँछ’
नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनी र २० निर्जीवन बीमा कम्पनी रहेका छन् । हाल नेपालमा संञ्चालनमा रहेका दुई वटा पुनर्बीमा कम्पनीहरुले मात्रै जोखिम वहन गर्र्न नसक्ने विज्ञहरुको बुझाइ छ ।
बीमा समितिको उक्त निर्देशनले बीमा क्षेत्रमा ठूलो असर पुर्याउने, स्वदेशी पुनर्बीमा कम्पनीले जोखिम बहन धान्नै नसक्ने र जसको कारण नेपाली बीमा कम्पनी समस्यामा पर्ने उनीहरुको भनाइ छ ।
समितिले जारी गरेको निर्देशनमा भनिएको छ, ‘स्वदेशी पुनर्बीमकले कुनै पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका २०७८’ मा उल्लेख भए बमोजिमको योग्यता पुगेको विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने ।’
स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेपछि मात्रै विदेशी पुनर्बीमा कम्पनीसँग गराउनुपर्ने समितिले गरेको उक्त व्यवस्थाले विदेशी पुनर्बीमा कम्पनीले गर्ने मूल्यांकन नै अर्कै हुने एक बीमा कम्पनीका सीईओले बताए ।
विदेशमा पनि पहिले आफ्नै देशमा पुनर्बीमा गर्ने प्रचलन रहेको एक विज्ञले बताए । विदेशी मूलुकहरुले आफ्नो विदेश नीति र आर्थिक स्थितिका आधारमा विदेशमा पुनर्बीमा गराउने गरेको बीमा ती विज्ञ बताउँछन् ।
‘अमेरिकाको विदेश नीति अन्य गरिब देशलाई सहयोग गर्ने हो,अर्थतन्त्र बलियो छ, त्यसैले उसले विदेशमा पुनर्बीमा गराउँदैन्,’ ती बीमा बिज्ञ भन्छन्, ‘नेपालको अर्थतन्त्र कमजोर छ । विदेशी सहयोगले सबै चलिरहेको छ, ठूलो विपत्ति आउँदा स्वदेशी बीमा कम्पनीहरुले जोखिम धान्न सक्दैनन्,त्यसैले नेपालले विदेशी बीमा कम्पनीहरुसँग पुनर्बीमा गराउँदै आएका थिए ।’