काठमाडौं । नेपालमा पछिल्लो समय सफ्ट ड्रिङ्क्सको प्रयोग बढ्दै गएको पाइन्छ । दैनिक खाजा खाँदादेखि विभिन्न चाडपर्व, अवसर, उत्सव, भोजभतेर लगायत हरेक कार्यक्रममा यसको उपभोग गर्न थालिएको छ ।
सामान्यतया घरमा पाहुनाको स्वागतमा समेत सफ्ट ड्रिङक्सको प्रयोग हुन थालेको देखिन्छ । केही हदसम्म पाहुनालाई चियाले स्वागत गर्ने संस्कार समेत सफ्ट ड्रिङक्सले विस्थापन गर्दै लगेको पाइन्छ । सहरदेखि गाउँका कुनाकुनासम्म सफ्ट ड्रिङक्सको प्रयोग बढ्दो क्रममा रहेको छ ।
नेपाली बजारमा सफ्ट ड्रिङ्क्स रूपमा कोकाकोला, फ्यान्टा, मिरिन्डा, पेप्सी, ड्यू, सेभेन अप, स्लाइस, स्प्राइट जस्ता पेय पदार्थ पाइन्छ । देशका अधिकांश क्षेत्रम यिनै पेय पदार्थको वर्चश्व समेत रहेको देखिन्छ ।
यसैबीच, नेपाली बजारमा रहेका पेय पदार्थहरुको भीडमा एउटा नयाँ ब्राण्ड ‘आरसी कोला’को प्रवेश भएको छ । ११६ वर्ष पुरानो अमेरिकन कम्पनी आरसी कोला नेपाली बजारमा भित्रिएको हो । जसलाई व्यवसायी सुवास आचार्यले नेपाल भित्र्याएका हुन् ।

विश्वभरका ६८ देशमा उत्पादन गर्दै आएको पेय पदार्थ उत्पादक कम्पनी आरसीकोला नेपालमा औपचारिक रूपमा साउनदेखि भित्रिएको हो । आचार्यले ५५ करोड लगानीमा मकवानपुरको लोथरमा उद्योग संचालनमा ल्याएका हुन् । कर्पोरेट कार्यालय भने काठमाडौंको टेकुमा रहेको छ ।
पेय पदार्थमा फरक स्वाद दिन आरसीकोलाको ‘इन्ट्री’
नेपाली बजारमा हाल करिब १ दर्जन बढी पेय पदार्थ रहे पनि प्रायको स्वाद उस्तैउस्तै रहेको पाइन्छ । यही भीडमा अलि फरक स्वाद दिन आरसीकोला नेपाल भित्र्याइएको आचार्य बताउँछन् ।
‘हामी नेपाली बजारमा फरक र नयाँ स्वाद दिन आरसीकोला लिएर आएका हौं । यो नेपालमै उत्पादन हुन्छ । यसले अरु पेय पदार्थको भन्दा फरक स्वाद दिनेछ,’ आरसीकोला कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका आचार्यले चाणक्य पोष्टसँग भने ।
‘हामी नेपाली पेय पदार्थ खान बानी परेका छौं, उस्तैउस्तै स्वादको खाइरहेका हामीले अब फरक स्वाद पाउने छौं । आरसी कोलाले फरक स्वाद दिनेछ,’ उनले भने ।
दैनिक २ लाख बोतल उत्पादन, ८ प्रोडक्ट बजारमा
कम्पनीले दैनिक २ लाख बोलत (२५०एमएल)को दरले आरसीकोलाका प्रोडक्टहरु उत्पादन गर्दै आएको आचार्यले बताए । कम्पनीले हाल ७ प्रकारका प्रोडक्ट उत्पादन गर्दै आएको छ ।
कम्पनीले जी पावर, आरसी कोला, माइटी रेन,आरसी क्यु अरेन्ज,आरसी क्यु लेमोन लाइम,आरसी जीरअपका साथै मिनरल वाटर बजारमा ल्याएको छ ।

कम्पनीको उत्पादनहरुको मूल्य बजारमा उपलब्ध अन्य पदार्थहरुको जस्तै रहेको छ । कम्पनीलले ल्याएका प्रोडक्ट जी पावरको मूल्य प्रतिबोतल (२५० मिलिलिटर) १०० रुपैयाँ रहेको छ भने अन्यको प्रतिबोतल ४० रुपैयाँ रहेको छ ।
कम्पनीले फ्याक्ट्री (४०)र मार्केट (६५) गरी हाल कुल १०५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । रोजगारीको लागि दैनिक हजारौं युवा पलायन भएको अवस्थामा स्वदेशमै रोजगारी र्सिजनासँगै आन्तरिक उत्पादन र बजार विस्तारको लागि आरसीकोलाले भूमिका खेल्ने आचार्य बताउँछन् ।
‘पहिला स्थापित हुन्छौं, अनि मात्र बजारमा प्रतिस्पर्धा गर्छौं’
भर्खर मात्र नेपाली बजारमा प्रवेश गरेकाले पहिला बजारमा स्थापित हुने योजनाका साथ अघि बढेको आचार्य बताउँछन् । ‘हामी नेपालमा उत्पादनको सुरुवाती चरणमा छौं । आरसीकोला बारे सबैलाई थाहा छैन, चखाउन नै बाँकी छ । विस्तारै बजारमा आफ्नो उपस्थिति बढाउँछौं । आफ्नो लेबल बनाउँदै छौं,’ आचार्य भन्छन्, ‘अहिले नै बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन, पहिला आफू स्थापित हुन्छौं, अनि मात्र बजारमा प्रतिस्पर्धामा जान्छौं ।’
चार महिना अघिमात्र बजारमा आएको आरसीकोला अहिले पूर्वको काँकडभिट्टादेखि पश्चिममा महेन्द्रनगरसम्म विस्तार भइसकेको आचार्यले जानकारी दिए । आफ्नो उत्पादनलाई आक्रमक रूपमा नेपालभरका बजारमा पुर्याउने गरी काम भइरहेको उनले बताए ।