भारतले चासो नदिँदा नेपालगञ्ज सुक्खा बन्दरगाह निर्माण अलपत्र

काठमाडौं । भारतीय पक्षले चासो नदिँदा बाँकेको नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन । एक दशक अघि निर्माण प्रक्रिया थालिए पनि अहिलेसम्म सुक्खा बन्दरगाहको निर्माण पूरा हुन नसकेको हो ।

 

पछिल्लो समय बन्दरगाह निर्माण अलपत्र बनेको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो ।

 

‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’ नेपालगन्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भने, ‘भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरुप अगाडि बढ्न सकेको कहिले छैन ।’

 

जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उनले बताए । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको २ हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारत सरकारले लगानी गर्नुपर्ने हो  ।

 

इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ  । ‘हामीले पहुँच मार्ग निर्माणको काम पूरा गर्यौ, बाँकी काम भारत सरकारले गर्नेछ,’ उनले भने, ‘आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।’

 

बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोस्ट (आइसीपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनाका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काममा तीव्रता नदिएको बताए । ‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।’ अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुनसक्ने जनाउँदै त्यहाँ निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गरे ।

 

बन्दरगाह निर्माणका लागि सरकारले आर्थिक वर्ष २०६५/६६ मा ८९ बिघा जमीन अधिग्रहण गरे पनि १ दशक बित्दा पनि निर्माण कार्यले गति लिन नसकेको हो ।

 

अधिग्रहण गरिएको कूल जग्गामध्ये ६६ बिगाहामा कार्यालय, गोदाम लगायतका संरचना निर्माण हुने र २३ बिगाहा जग्गा बाटोका लागि छुट्याइएको छ ।

 

सुक्खा बन्दरगाह परिसरमा भन्सार कार्यालय, सुरक्षा पोष्ट, क्वारेन्टाइन कार्यालय, बैंक काउण्टर, खाद्य प्रविधिलगायत सरोकार राख्ने सरकारी कार्यालय रहनेछन्।

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

नेपाल एसबीआइ बैंकले घोषणा गर्‍यो १० वर्ष यताकै कम लाभांश Read Next

नेपाल एसबीआइ बैंकले घोषणा गर्‍यो १० वर्ष यताकै कम लाभांश