देशभरका आधा दर्जन सडक ४ र ६ लेनका बन्दै, कुन सडकको कति भयो काम ?

काठमाडौं । नेपालमा विकासको मेरुदण्ड मानिएको सडक पूर्वाधार ‘नाम मात्र’का छन् भन्दा फरक पर्दैन । देशका अधिकांश राष्ट्रिय राजमार्ग साँघुरा, गुणस्तरहीन, अन्तर्राष्ट्रिय मापदण्ड (केही अपवाद बाहे) नपुग्ने खालका छन् ।

 

साँघुरा र न्यूनतम मापदण्ड समेत नपुगेको सडका कारण वर्षेनी हजारौं दुर्घटना हुने गरेको छ । यसैगरी, बढ्दो सवारी चापका कारण हुने जामले ढुवानी लागत र फ्युल खर्च बढाएको छ ।

 

बजेट अभाव, दीर्घकालीन योजनाको अभाव, जग्गा अभाव, भौगोलिक कठिनाइन लगायत कारणले सडक बन्ने बेलामै साघुँरा बनाइने गरेको पाइन्छ । तर, पछिल्लो केही वर्ष यता भने सडकले आफ्नो रुप फेर्दै गरेको देखिन्छ ।

 

पछिल्लो दशक यता बनेका अधिकांश नयाँ सडक (फस्टट्रयाक, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग लगायत) फराकिला (कम्तीमा दुई लेनका) बन्न थालेका छन् भने पुराना सडकलाई पनि स्तरोन्नति गरी दुईदेखि ६ लेनसम्म बनाउन थालिएको छ ।

 

सरकारले अहिले देशभरका आधा दर्जन बढी रणनीतिक महत्वका र मुख्य सडकलाइ ४ र ६ लेनका सडक विस्तार गरिरहेको छ । सडक फराकिलो बनाउने अभियान अन्तर्गत केही सहरी क्षेत्रका सडक निर्माण सम्पन्न भइसकेका छन् भने केही राष्ट्रिय राजमार्गहरु विस्तारको क्रममा रहेका छन् ।

 

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपाल सरकारले राष्ट्रिय राजमार्गलाई फराकिलो बनाउने काम प्राथमिकतामा राखेर गरिरहेको बताउँछन् । विकास निर्माणको हरेक गतिविधि सडकसँगै जोडिने भएकाले यसलाई सबैभन्दा सुरक्षित, गुणस्तरीय र सहज बनाउनुपर्ने उनको भनाइ छ ।

 

उनका अनुसार अहिले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, मुग्लिन–पोखरा लगायत मुख्य सडकहरु ४ लेन बनाउने काम भइरहेको छ । यस्तै, नयाँ सडक अन्तर्गत काठमाडौं मधेश द्रुतमार्ग (फस्ट ट्रयाक ) सुरुमै ४ लेनमा निर्माण भइरहेको छ ।

 

कुन सडक कति लेनको बन्दै ?

 

पूर्व–पश्चिम राजमार्ग ४ र ६ लेनको बन्दै

 

पूर्वपश्चिम राजमार्गलाई समेत विभिन्न खण्डमा विभाजन गरेर ४ र छ लेनमा विस्तार थालिएको उनले बताए । २०७३ सालमा दश वर्ष भित्र पूर्वपश्चिम राजमार्गको निमार्ण सम्पन्र गर्ने गरी योजना बनाइए पनि स्रोत अभावका कारण ५ वर्ष बितिसक्दा समेत केही स्थानमा मात्रै निमार्ण सुुरु भएको प्रवक्ता नेपाल बताउँछन् ।

 

‘हाम्रो लक्ष्य ४ र छ लेन सडकमा विस्तार गर्ने हो,’ उनले भने, ‘जस अन्तरर्गत बुटवल–नारायणघाट ११३ किलोमिटर र कमला–कंञ्चनपुर खण्डमा ठेक्का भएर निमार्ण सुरू गरिएको छ ।’ बस्ती भएका ठाउँमा ४ लेन र नभएका ठाउँमा छ लेन सडक निमार्ण गरिने उनले बताए ।

 

पूरै पूर्वपश्चिम राजमार्गलाई ४ लेन र छ लेन सडक विस्तार योजना अन्तर्गत बुटवलभन्दा पूर्वको भागको सडक निमार्णका लागि स्रोत सुनिश्चित बनिसकेको उनको भनाइ छ । सो क्षेत्रको दुई खण्डमा ठेक्का लागेर निमार्ण सुरू भएको छ । त्यस्तै, काँकडभिट्टादेखि इटहरीसम्मको डीपीआर बन्दै गरेको नेपालले बताए । एशियालि विकास बैंकको ऋण सहयोगमा उक्त्त सडक खण्ड निमार्ण हुन लागेको हो ।

इँटहरीदेखि कंञ्चनपुरसम्म डीपिआर बन्न बाँकी रहेको छ । धनुुषाको कञ्चनपुर र सिराहाको कमलासम्म एडीबीको ऋण सहयोगमा ठेक्का लागेको सडक विभागले जनाएको छ । विभाागका अनुसार कमलादेखि ढल्केबर हुँदै पथलैेयासम्म विश्व बैंकको सहयोगमा डीपीआरआर गर्ने कामको लागि प्रामर्सि दातृ छनोटको चरणामा रहेकोे छ । पथलैयादेखि नारायणघाटसम्म एडीबीकै सहयोगमा विस्तार गर्ने कुरा भएको प्रवक्ता नेपालले बताए । उनका अनुसार बुटवलदेखि गोरुसिङे, चनौटासम्मको सडकको डीपीआर बनाउने काम भइरहेको छ ।

 

विभागले चनौटा भन्दा पश्चिमको सडक निमार्णका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । राजमार्गको बीचमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले वातावरणीय अध्ययन गराउन ढिलाइ भएको उनले बताए । ‘कुन खण्डलाई प्राथमिकता दिँदा सजिलो हुन्छ भन्ने कुरालाई अध्ययन गराएर विस्तार गरिने छ । बिच भागमा राष्ट्रिय निकुञ्ज छन् वातावरणीय अध्ययन गराएर काम सुरू गनुपर्ने भएकाले ढिलाइ भएको हो,’ उनले चाणक्य पोष्टसँग भने ।

 

राजमार्गको बीचमा विभिन्न भारतीय सीमादेखि पूर्वपश्चिम राजमार्गसम्म जोड्ने ६ ठाउँमा सडक विस्तार भइरहेको नेपालले बताए ।

 

नारायणगढ–बुटवल सडक ४ लेनमा विस्तार सुरू

 

देशकै प्रमुखमध्ये एक नारायणगढ–बुटवल खण्ड ४ लेनमा विस्तार सुरू गरिएको छ । यस खण्डलाई ६ लेनमा विस्तार गरिने बताइए पनि सहरी क्षेत्र तथा भौगोलिक कठिनाइका कारण वस्ती भएको ठाउँमा ४ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुने जनाइएको छ ।

 

यस्तै, राजमार्गको सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ । राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ ।

 

सो खण्डमा रुख काट्ने ८० काम प्रतिशत सकिएको आयोजनाले जनाएको छ । आयोजनाले अहिलेसम्म विस्तारका लागि सडक भत्काएको छैन । सुरूमा सडकको दायाँबायाँ थप्ने काम भइरहेको छ । निर्माणस्थलमा रहेका धेरै संरचना हटाइएको छ भने हट्न बाँकीमा पनि काम भइरहेको सडक विभागले जनाएको छ ।

बुटवल–नारायणगढ सडकमा दुई खण्डमा एकै पटक निर्माण अघि बढाइएकामा अहिले दुवैतर्फ काम भइरहेको छ । गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा सो सडक निर्माणमा ढिलाइ भएको थियो । विसं २०७५ चैतमा सो सडकको विस्तार सुरू भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको थियो ।

 

मुग्लिङ-पोखरा सडक पनि ४ लेन बनाइँदै

 

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा ४ लेन विस्तार अघि बढेको छ । मुग्लिङ–पोखरा सडकखण्ड ४ लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार ७५० रूख काट्नुपर्ने छ ।

 

६ अर्ब २१ करोड ३१ लाख रुपैयाँको लागतमा सो खण्डको ठेक्का सम्झौता भएको हो । सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण समेत ल्याइसकेको छ । यस सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको आयोजनाले जनाएको छ ।

 

वि.सं. २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो ।

 

सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको थियो ।
४ लेनको उक्त सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । सो सडकमा ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजनाले जनाएको छ ।

 

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा ४ लेन सडक योजनाका लागि ४ अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ९ करोड ५४ लाख ४ हजार विनियोजन भएको थियो ।

 

धनगढी-अत्तरिया ६ लेन सडक चालु आवमै सकिने

 

सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरिया–धनगढी ६ लेन सडक निर्माण चालु आवमै सम्पन्न हुने भएको छ । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको १४.२ किलोमिटर लामो निर्माणाधीन ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगको र चालु आवभित्र सम्पन्न हुने सडक विभागले जनाएको छ ।

 

सरकारको प्राथमिकता प्राप्त यो सडक आयोजना निर्माण कार्यको भौतिक प्रगति हालसम्म ९० प्रतिशत पूरा भइसकेको छ । हाल गेटा मेडिकल कलेज नजिकको सडक खण्डमा पर्ने सुन्नी खोला पुल निर्माणको काम भइरहको आयोजनाले जनाएको छ ।

यसैगरी मनहरा खोला पुल निर्माणाधिन अवस्थामा रहेको छ । यो सडक आयोजनाअन्तर्गत मोहना नदीमाथि रहेको हालको मोहना पुलको समानान्तर हुने गरी अर्को पुल निर्माण गर्न लागिएको छ । यसका लागि पुलको डिजाइनसमेत स्वीकृत भइसकेको जनाइएको छ ।

 

यो सडक तीन वटा प्याकेजमा राखेर निर्माणाधीन रहेको छ । मोहना पुलदेखि धनगढी ट्राफिक चोकसम्मको सडकलाई पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो तथा तेस्रो प्याकेजमा राखेर निर्माणको काम भइरहेको छ ।

 

यो सडक निर्माणका लागि निर्माण कम्पनीसँग विसं २०७४ मा ठेक्का सम्झौता गरिएको थियो । विसं २०७६सम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न अवरोधका कारण निर्माण अवधि पटकपटक थपिँदै गएको छ ।

 

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये सहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनको सडक निर्माणाधीन छ । यो सडकको लागत अुनमान १ अर्ब ६८ करोडको रहेको छ ।

 

नेपालगञ्ज-गुलरिया सडक ४ लेनमा विस्तार

 

नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी ४ लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी ४ लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा १ हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी ४ लेन सडक निमार्ण थालिएको सडक विभागले जनाएको छ ।

 

यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म ४ लेन सडक विस्तारका लागि डीपीआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर ४ लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर निमार्ण कार्य सुरू गरिएको छ ।

 

नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म बहुवर्षिय ४ लेन सडक निर्माण सुरू भएको हो । नेपाल सरकारको बजेटबाटै बहुवर्षीय योजना अनुसार क्रमागत रूपमा ४ लेन सडक निर्माण हुने भएको छ । नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा ४ लेनको लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरू गरिएको हो ।

 

नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा ४ लेन सडक निर्माण भइरहेको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरू भएको हो ।

 

बिर्तामोड-भद्रपुर ४ लेन सडक आगामी वर्ष सम्पन्न हुने

 

बिर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ४ लेन भएको ४ किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो ४ लेनको सडक हो । बिर्तामोड–भद्रपुर सडकको १७ किलोमिटरमध्ये पहिलो खण्डमा ४ किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई ४ लेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ । सो सडक आगामी वर्षभित्र निमार्ण सम्पन्न भइसक्ने सडक विभागको भनाइ छ ।

 

बिर्तामोडदेखि गरामनीसम्मको ४ लेन सडक ३१ करोड १३ लाख रुपैयाँको ठेक्कामा ललितपुरको श्री आशिष र प्रेरा जेभीले निर्माण गरेको थियो । विसं २०७५ असार २४ गते निर्माण व्यवसायी कम्पनीले ठेक्का सम्झौता गरे तापनि तोकिएको १४ महिनामा निर्माण कार्य सम्पन्न हुन सकेन । कोभिड–१९ को महामारीका कारण बेलैमा काम हुन नसक्दा निर्माणमा ढिलाइ भएको कम्पनीले कारण देखाएपछि डिभिजन सडक कार्यालयले तीनपटक म्याद थपेको थियो ।

 

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी Read Previous

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

सिटिजन्स बैंकले कमलादीमा खोल्यो ‘प्रिभिलेज काउन्टर’ Read Next

सिटिजन्स बैंकले कमलादीमा खोल्यो ‘प्रिभिलेज काउन्टर’