काठमाडौं । पछिल्लो समय बिजुली खेर जान थालेपछि खपत बढाउन नेपाल विद्युत् प्राधिकरणले दौडधुप गर्न थालेको छ । पछिल्लो सयम प्राधिरणले भारतमा बिजुली बेच्नेदेखि नेपालका ठूला उद्योगहरुलाई बिजुली दिन थालेको हो ।
माथिल्लो तामाकोशी निर्माण सम्पन्न भई राष्टिय प्रणालीमा जोडिएसँगै बिजुली खेर जान थालेको बताइन्छ । हाल औसतमा दैनिक करिब ४०० मेगावाट बिजुली खेर जाने गरेको प्राधिकरणको भनाइ ।
ठूलोे मात्रमा बिजुली खपत हुन नसकेपछि केहीसाता अघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफै विद्युत् विक्रीका लागि भारत पुगेका थिए । उनको प्रयास केही हदसम्म सार्थक भई हाल प्राधिरणले भारतलाई बिजुली बेच्न थालेको छ ।
त्यस्तै, घिसिङ अहिले विद्युत् खपत बढाउन नेपाल ठूला उद्योगहरुमा धाइरहेका छन् । यसैक्रममा गत शनिबार उनी आफै नवलपरासी (बर्दघाट सुस्तापूर्व) पुगेर होङ्शी शिवम् सिमेन्टमा ३० मेगावाट बिजुली जोडिदिएका थिए । साथै, पछिल्ला दिनमा अरु उद्योगहरुलार्ई विद्युत् उपलब्ध गराउने बारे छलफल भइरहेको जनाइएको छ ।
यसैक्रममा, बिजुलीको खपत बढाउने उद्देश्यका साथ प्राधिकरणले माग गरेको बढीमा तीन दिनभित्रै सबै प्रकारको सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नयाँ लोड स्वीकृतिमा ढिलाइ भएको भन्ने गुनासो आएपछि त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चासो राखेकी थिइन् ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ । कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ ।
प्राधिकरणका अनुसार थ्री फेज लाइनतर्फ ४०० भोल्टको लोड स्वीकृति तथा जडानका लागि पनि अधिकतम १० दिनभित्र अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ । हाल कायम रहेको संरचनाबाट दिन सकिने भए सात दिनभित्र र टीओडी वा स्मार्ट मिटर लिने ग्राहकका हकमा भए १० दिनभित्र लोड स्वीकृत गरी जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाल कायम रहेको संरचना विस्तार वा स्तरोन्नति गर्नुपर्ने भए आवश्यक प्रक्रिया अवलम्बन गरी तुरुन्त लाइन जोड्ने प्रबन्ध गर्नुपर्नेछ । मौजुदा वितरण संरचनामा ग्राहक स्वयंले विस्तार वा स्तरोन्नति गर्नुपर्ने भए आवश्यक प्रक्रिया मिलाएर तीन दिनभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
यस्तै ११ वा ३३ केभी क्षमताको लाइनमार्फत थप बिजुली दिनुपर्ने भए हाल कायम भएको संरचनाबाट बढीमा १० दिनभित्र आवश्यक काम गरिसक्न निर्देशन दिइएको छ । यस्तै जीआइएस गर्नु नपर्ने लोडका लागि प्रादेशिक प्रमुखले आवश्यक प्रक्रिया मिलाएर बढीमा तीनभित्र लोड स्वीकृति दिनुपर्ने व्यवस्था गरिएको छ ।
जीआइएस गर्नुपर्ने भए त्यसका लागि प्रक्रिया पूरा गरी दस्तुर बुझाएको मितिले तीन दिनभित्र सबै काम सम्पन्न गर्नुपर्ने निर्देशन दिइएको छ । प्राधिकरकणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले बिजुलीको खपत बढाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।
थ्री फेज लाइनको स्वीकृतिका लागि लामो समय लाग्ने, वितरण केन्द्रका कर्मचारीले अनेकन व्यवधान गर्नेलगायतका गुनासा ग्राहकबाट आएपछि प्राधिकरणले समय नै तोकेर आवश्यक निर्देशन दिएको छ । यसो गर्दासमेत काम हुन नसके ग्राहकले वितरण तथा ग्राहक सेवा निर्देशनालयमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् ।
पछिल्लो दिनमा झण्डै २०० मेगावाट र रातको समयमा ६०० मेगावाट बराबरको बिजुली खेर गए पनि खपत बढाउन हरसम्भव सबै उपाय अवलम्बन गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङले उद्योग प्रतिष्ठानलाई आवश्यक मात्रामा बिजुली उपलब्ध गराउने बताइसकेका छन् ।
मागअनुसारको बिजुली पाउन सकून् भनेर सबै वितरण केन्द्र र प्रादेशिक कार्यालयलाई स्पष्टरूपमा निर्देशन दिइएको र सोअनुसार काम भए/नभएको अनुमगनसमेत गरिने प्राधिकरणले जनाएको छ ।