६४ प्रतिशत कर्जा घर जग्गा धितोमा

 

काठमाडौं । बैंकबाट ऋण लिन जग्गा नै धितो राख्नुपर्ने परम्परागत मान्यतामा कुनै सुधार आएको छैन । गत असारसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामध्ये करिब दुई तिहाइ कर्जा घर जग्गा धितोमा प्रवाह गरेका छन् ।

 

नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीले संस्थाहरुले गत वर्ष ( २०७६को असार मसान्तसम्म) लगानी गरेको कूल कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह गरेका छन् ।

 

यस्तै, चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा १३.५ प्रतिशत कर्जा प्रवाह भएको तथ्यांकले देखाएको छ ।२०७५ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.७ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ४२.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २२.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३२.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २४.३ प्रतिशतले बढेको छ ।

 

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३५.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १७.९ प्रतिशतले बढेको छ ।

 

गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.९ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२ प्रतिशतले, मार्जिन प्रकृतिकोकर्जा १०.५ प्रतिशतले र हायर पर्चेज कर्जा ५.८ प्रतिशतले बढेको छ ।

बढ्दो कफी कल्चर र प्रदेश अनुसार उत्पादनको अवस्था Read Previous

बढ्दो कफी कल्चर र प्रदेश अनुसार उत्पादनको अवस्था

आइएमईको दशैं अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर Read Next

आइएमईको दशैं अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर