काठमाडौं । नेपालमा कफी कल्चरले प्रबेश पाएको धेरै लामो इतिहास नभएपनि अहिले बजारमा कफीको माग निकै उच्च भएको छ । सहरी क्षेत्रमा कफीको प्रयोग तिब्र गतिमा बढ्दै गएको छ भने यसको उत्पादन खासै बढाउन सकिएको छैन ।
नेपालमा वर्षेनी १ हजार ५ सय १३ मेट्रिक टन कफी उत्पादन हुन्छ । तर, नेपालमा कफीको माग ६ हजार मेट्रिक टन पुगिसकेको छ । हाल नेपालको कफि व्यवसाय आयातमुखी बनेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफिको माग ८ हजार मेट्रिक टन भएपनि हालसम्म नेपालले आन्तरिक माग समेत पुरा गर्न सकेको छैन ।
नेपालले आन्तरिक र अन्तर्राष्ट्रिय माग पुरागर्ने हो भने नेपालमा १४ हजार मेट्रिकटनको हाराहारीमा कफी उत्पादन गर्नुपर्ने हुन्छ । तर, हाल त्यसको १०.८० प्रतिशतमात्र कफी उत्पादन हुने गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ६८ लाख ५७ हजार रुपैयाँ बराबरको हरियो कफी आयात भएको थियो । साथै, ४ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको भुटेको कफी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ६५ हजार हेक्टर क्षेत्रफल व्यवसायीक कफी खेतीको लगि योग्य छ । तर, हाल कुल २ हजार हेक्टर क्षेत्रफलमा मात्र कफीको व्यवसायीक खेती हुँदै आएको छ ।
बोर्डका कार्यकारी निर्देशक दिपक खनालका अनुसार कफीको माग पुरागर्न अब ठूला लगानीकर्ताहरु कफी खेतीमा आउनुपर्ने छ । हाल साना किसान तथा अन्य केहीले मात्र व्यवसायीक कफी खेती गर्ने गरेको उनले बताए ।
‘कफी खेतीलाई बढाउन, सरकारले ठूला व्यवसायीहरु कफी खेतीमा आउने वातावरण मिलाउनु पर्छ,’ खनालले चाणक्य पोष्टसँग भने ।
कफी खेतीमा अनुसन्धानको कमि भएकाले त्यसमा पनि सरकारले ध्यान पुर्याउनु पर्ने उनले बताए । हाल नेपालमा एकै प्रकारको बीउबाट कफी उत्पादन हुन्छ । जसमा कहिले किरा लाग्ने तथा विभिन्न विरुवाका रोग आउनाले उत्पादनमा ह्रास आउने गरेको छ । यसलाई मध्यनजर गर्दै नयाँ विरुवाको अध्ययन गरि हाइब्रिड प्रकारका विउको उत्पादन गर्नु पर्ने उनले बताए ।
तर, हालसम्म पनि नेपालमा कफी खेतीलाई लिएर कुनै अनुसन्धान भएको छैन ।
‘अहिलेसम्म कफी खेतीमा कुनै अध्ययन तथा अनुसन्धान भएको छैन, त्यसका लागि सरकारबाट समेत कुनै सहयोग छैन, अलिबढी कफी उत्पादन गर्नका लागि नयाँ हाइब्रिड बिउ नल्याएसम्म उत्पादन बढाउन सकिदैन,’ खनालले भने ।
नेपालबाट ९ करोड रुपैयाँ बराबरको कफी निर्यात हुने गरेको छ भने साढे ६ करोड बराबरको कफी आयात हुने गरेको छ ।
झट्ट हेर्दा धेरै मूल्यमा निर्यात र कम मूल्यमा आयात भएको देख्दा ढुक्क हुन खोजे पनि यहाँ निर्धक्क भएर बस्ने ठाउँ भने छैन ।
नेपालबाट थोरै कफी धेरै मूल्यमा बाहिरिने गरेका छन् भने विदेशबाट थोरै मूल्यमा धेरै मात्रामा कफी आयातहुने गरेका छन् ।
नेपालबाट निर्यात हुने कफी प्रतिकेजी १० डलरको हाराहारी र विदेशबाट आयात हुने कफी प्रतिकेजी ५ डलरको हाराहारीमा पर्न आउने खनालले जानकारी दिए ।
नेपालमा उत्पादन हुने कफी गुणस्तरीय हुने भएकाले वर्षेनी अन्तर्राष्ट्रिय बजारमा नेपालको कफीको माग बढ्दो रहेको छ ।
कफी आयात र निर्यात बराबर
आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ६८ लाख ५७ हजार रुपैयाँ बराबरको हरियो कफी आयात भएको थियो । साथै, ४ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको भुटेको कफी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
भन्सारको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ लाख ६ हजार ४६ केजी हरियो कफी निर्यात भएको थियो भने १० लाख ५६ हजार ३ सय ६२ केजी भुटेको कफी आयात भएको हो ।
२०७५/७६ को सर्वेक्षण हेर्ने हो भने ७७ जिल्लामध्ये ३२ जिल्लामा मात्र व्यावसायीकरुपले कफी खेती गरेको पाईएको छ ।
३२ जिल्लामा ६ हजार ३ सय ४६ कृषक/व्यवसायीले ९ सय ७३ हेक्टर जमिनमा व्यावसायिक कफीखेती गरेको पाइन्छ ।
नेपालमा सबैभन्दा धेरै काभ्रेपलाञ्चोक जिल्लामा १०४.३ हेक्टर, दोस्रो ललितपुरमा ९६.३ हेक्टर, तेस्रो स्याङजामा ९४.१ हेक्टरमा कफी खेती भएको तथ्यांकले देखाएको छ । यस्तै, सबैभन्दा कम प्युठानमा ०.८ हेक्टर कफीखेती गरेको पाईएको छ ।
सबैभन्दा बढी प्रदेश नम्बर ३ मा २ हजार ७ सय ५८ कृषकले व्यवसायीक कफी खेती गरेको पाइन्छ । सर्वेक्षण अनुसार सो प्रदेशमा ४२३.४ हेक्टर क्षेत्रफलमा ७ सय ५७.८ मेट्रिकटन फ्रेस चेरी कफी उत्पादन हुने गरेको छ ।
सर्वेक्षणका अनुसार नेपालमा १ हजार ५ सय ७३ मेट्रिकटन हरियो कफी फ्रेस चेरी उत्पादन हुने गरेको देखाएको छ ।
सबैभन्दा बढी कफी काभ्रेपलान्चोकमा उत्पादन
काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी २ सय २१ मेट्रिकटन कफी उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । दोस्रो स्याङजामा १ सय ५८ मेट्रिकटन, तेस्रो सिन्धुपाल्चोकमा १ सय ४१ मेट्रिकटन कफी उत्पादन भएको देखिन्छ ।
सबैभन्दा बढी व्यवसायीक खेती प्रदेश ३ मा
सर्वेक्षणका अनुसार प्रदेश नम्बर १ ३, ५ र गण्डकी प्रदेशमा मात्र व्यावसायिक कफी खेती भएको देखिन्छ ।
सबैभन्दा बढी प्रदेश नम्बर ३ मा २ हजार ७ सय ५८ कृषकले व्यवसायीक कफी खेती गरेको पाइन्छ । सर्वेक्षण अनुसार सो प्रदेशमा ४२३.४ हेक्टर क्षेत्रफलमा ७ सय ५७.८ मेट्रिकटन फ्रेस चेरी कफी उत्पादन हुने गरेको छ ।
यस्तै, प्रदेश १ मा ५ सय ६९ कृषकले व्यावसायीक रुपमा कफी खेती गरेको पाइएको छ । सो प्रदेशमा १ सय २०.५ हेक्टर क्षेत्रफलमा १ सय ३.६ मेट्रिकटन . फ्रेस चेरी उत्पादन हुने गरेको पाइएको छ ।
गण्डकी प्रदेशमा १ हजार ८ सय ७२ कृषकले व्यवसायीक कफी खेती गरेका छन् । सो प्रदेशमा २८१.४ हेक्टर क्षेत्रफलमा ४२२.४ मेट्रिकटन कफीका फ्रेस चेरी उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ ।
प्रदेश नम्बर ५ मा १ हजार १ सय ४८ कृषकले व्यावसायीक खेती गरेको पाइएको छ । सो क्षेत्रमा १४७.२ हेक्टर क्षेत्रफलमा २८९.७ मेट्रिकटन कफीका फ्रेस चेरी उत्पादन हुने गरेको देखिन्छ ।