अर्थतन्त्र ओरालो दिशामा, अधिकांश सूचक नकारात्मक, यस्तो छ अवस्था

काठमाडौं । देशको समग्र अर्थतन्त्र ओरालो दिशामा लागेको छ । सरकारी तथ्यांकले नै अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक रहेको देखाएको हो ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ३ महिनाको (असोज मसान्तसम्म) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अर्थतन्त्रका मुख्य मुख्य सूचक खस्कँदो अवस्था रहेका हुन् ।

 

राष्ट्र बैंकका अनुसार व्यापार घाटा ह्वात्तै बढेको छ भने शोधान्तर बचत, विदेशी मुद्रा संचिति घट्दो क्रममा रहेको छ । त्यस्तै, रेमिट्यान्स आप्रवाह पनि घट्दो क्रममा रहेको छ भने मूल्य वृद्धि बढ्दो क्रममा रहेको छ ।

 

वैदेशिक अनुदान प्राप्त शून्य रहेको छ । यद्यपि, समीक्षा अवधिमा निर्यात व्यापारभने दोब्बरले बढेको छ ।

 

कस्तो छ अर्थतन्त्रको अवस्था ?

 

व्यापार घाटा ५८ प्रतिशतले बढ्यो

 

चालू वर्षको पहिलो तीन महिनामै व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४१३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । तीन महिनाको अवधिमा कुल ४७८ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६३.७ प्रतिशत बढी हो ।

 

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, हवाईजहाज तथा पाटपुर्जा, अन्य मेसिनरी तथा पाटपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

 

निर्यात १०९ प्रतिशतले बढ्यो

 

असोजसम्म वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ ।

 

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।

 

निर्याततर्फ सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

 

विप्रेषण आप्रवाहमा ८ प्रतिशत गिरावट

 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह झन्डै ८ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई २३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

 

चालु खाता डेढ खर्ब घाटामा

 

समीक्षा अवधिमा चालु खाता १५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।

 

शोधनान्तर स्थिति पनि घाटामा

 

समीक्षा अवधिमा शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा रहेको छ । जबकी गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको छ ।

 

विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले घट्यो

 

२०७८ असार मसान्तमा १३९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३१९ अर्ब ३२ करोड कायम भएको छ ।

 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको छ ।

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८ प्रतिशतले कमी आई ११४५ अर्ब २९ करोड कायम भएको छ ।

 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १७४ अर्ब ३ करोड पुगेको छ । २०७८ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको छ ।

 

वैदेशिक अनुदान शून्य

 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ । बजेट वक्तव्यमा सरकारले वैदेशिक अनुदानबाट ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा साउनदेखि असोज मसान्तसम्म ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको प्रतिवद्धतामात्र आएको छ । तर, अनुदान प्राप्ति भने शून्य छ ।

 

अनुदान दिने मुलुकको अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव परेका कारण अनुदान प्राप्ति शून्य भएको हुनसक्ने जानकारहरु बताउँछन् ।

 

उपभोक्ता मुद्रास्फीति बढ्यो

 

असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ४.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो ।

 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । गत वर्ष असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत रहेको छ ।

 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ असोजमा यी क्षेत्रहरुमा क्रमशः ३.३५ प्रतिशत, ४.४६ प्रतिशत, ३.०३ प्रतिशत र ४.३९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा, प्रतिसेयर आम्दानी कति ? Read Previous

फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा, प्रतिसेयर आम्दानी कति ?

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ४ वर्ष यताकै धेरै लाभांश Read Next

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ४ वर्ष यताकै धेरै लाभांश