काठमाडौं । नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ ।
टेलिकमले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४८.९० प्रतिशत बढी हो ।
टेलिकमले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । फोरजी सेवाको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुँदा टेलिकमको नाफा बढ्न पुगेको हो ।
यसैगरी टुजी र थ्रिजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ । कम्पनीको टिटिएच सेवा प्रतिग्राहकको आकर्षणमा वृद्धि भई एफटिटिएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहक वृद्धि हुन गई फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको हो ।
चालु आवको असोज मसान्तसम्म टेलिकमको संचालन आय १३.२ प्रतिशतले बढेर ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ । गत आवको प्रथम त्रैमासिमा कम्पनीके यस्तो आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार थियो ।
गत आवको प्रथम त्रैमासमा कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकामा चालु आवको सोही अवधि ८४ करोड ७८ लाख ७१ हजारले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको छ ।
१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको रिजर्भ कोषमा ८३ अर्ब ८१ करोड रुपैयाँ संचित छ । खुद नाफा बढेसँगै टेलिकमको प्रतिसेयर आम्दानी २०.४० रुपैयाँले बढेको छ । समीक्षा अवधिमा टेलिकमको प्रतिसेयर आम्दानी ४०.४७ रुपैयाँबाट बढेर ६०.७ रुपैयाँ पुगेको छ ।