काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पहिलो पटक नाफामा गएको छ । आयोजना सम्पन्न भइ संचालनमा विद्युत् विक्रीबाट नियमित आम्दानी भएपछि नाफामा गएको हो ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ८६ करोड १९ हजार ३७ रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्षको सोही अवधिमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । यस्तै, गत असार मसान्तसम्म कम्पनीको नोक्सानी ५ करोड २४ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीले विद्युत् विक्रीबाट १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ । अन्य आम्दानी बापत ६७ हजार ८८४ रुपैयाँ आम्दानी गरेको छ ।
हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २० करोड १८ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिसम्म कम्पनीको ४० अर्ब रुपैयाँ दीर्घकालीन र ४ अर्ब अल्पकालीन ऋण रहेको छ ।
असार मसान्तसम्म ४७ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी धनात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.१० रुपैयाँ, प्रतिसेयर मूल्य सम्पत्ति ८२७.८८ रुपैयाँ छ ।
कम्पनीले दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी संचालनमा ल्याइसकेको छ ।
तामाकोशीबाट उत्पादित बिजुली असार २१ गतेबाट राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको थियो भने भदौ ४ गतेदेखि व्यावसायिक उत्पादन थालेको थियो । आयोजनामा जडित ७६/७६ मेगावटका ६ यूनिटहरु रहेका छन् ।