काठमाडौं । निर्माण सम्पन्न नहुँदै तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको हुटहुटीमा उद्घाटन गरिएको धरहराको निर्माण तोकिएकै समयमा पूरा नहुने देखिएको छ ।
अन्तिमपटक थपिएको म्याद सकिन करिब डेढ महिना मात्र बाँकी रहँदा निर्माण पूरा नहुने देखिएको हो । धरहाराको अझै ३५ प्रतिशत काम बाँकी रहेकाले तोकिएको समयमै निर्माण सम्पन्न हुने सम्भावना देखिँदैन ।
करिब आधा मात्र काम पूरा भएको अवस्थामा तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ वैशाख ११ गते धरहराको उद्घाटन गरेका थिए ।
धरहरा निर्माणका लागि पछिल्लोपटक थपिएको म्याद पुस ९ गते सकिँदैछ । सो समयभित्रै काम सक्न अब दुईसिफ्ट काम गर्ने तयारी भइरहेको पुननिर्माण प्राधिकरणले जनाएको छ ।
धरहरा निर्माण योजना म्यानेजर भरतप्रसााद अर्यालले मंसिर पहिलो सातादेखि राति र दिउँसो गरी दुई सिफ्टमा काम गर्ने गरी निर्देशन पठाइसकेको बताए । उनले मंसिरदेखि दुई सिफ्टमा काम सुरु हुने जानकारी दिए ।
‘पुस ९ गतेसम्म म्याद बाँकी छ, अब फाइनल फिनिसिङका मात्र काम बाँकी हुन, दुई सिफ्टमा गरियो भने तोकिएको समयमा सकिन्छ कि भन्ने अनुमान गरेका छौं,’ अर्यालले चाणक्य पोष्टसँग भने । कोभिडका कारण बीचमा काम हुन नसकेको र लगत्तै चाडपर्वका कारण समेत काम रोकिएको उनले बताए ।
करिब आधा मात्र काम पूरा भएको अवस्थामा तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ वैशाख ११ गते धरहराको उद्घाटन गरेका थिए । सो बेला करिब ६० प्रतिशत मात्र काम पूरा भएको थियो ।
चालु आवको पहिलो चौमासिक सम्पन्न हुँदा ५ प्रतिशत मात्र भौतिक प्रगति भएको हो । आयोजना म्यानेजर अर्यालले अफ्ठेरा जमिन मुनिका कामहरु सम्पन्न भइसकेकाले अब सरासर काम हुने बताए । उनले विगतमा धरहरा निर्माणमा धेरै समस्या भएकाले निर्माणले सोचे जस्तो गति लिन नसकेको बताए ।
‘पहिला धरहरा बनाउदा सामाजिकदेखि भौतिक निर्माणमै समेत धेरै समस्या थिए, अब अफ्ठेरा काम सबै पूरा भइसकेका छन्, अब नियमीत काम हुन्छ, फाउन्डेसन, जेनेरल फिनिसिङ जस्ता काम मात्र बाँकी छन्,’ अर्यालले भने ।
धरहराको फिनिसिङसँगै सर्वसाधनका लागि धरहरा खुल्ला गरिने उनले बताए । म्याद थपपछि पुस ९ गतेसम्म धरहरा निर्माण गरिसक्नु पर्ने थियो । हालसम्म धरहरा पूरै ठडिसकेको भए पनि अझै गर्नु पर्ने धेरै काम बाँकी रहेका छन् । त्रिपल बेसमेन्ट, साइट पार्किङ, फिनिसिङ लगायतका धेरै काम अझै बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
यस्तै धरहरामा पार्किङ निर्माणको काम ६० प्रतिशत हाराहारीमा सम्पन्न भएको छ । ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । २२ तले धरहराको तीन तल्लासम्म पार्किङको व्यवस्था हुनेछ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् । पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७ सय मोटरसाइकल अट्नेछन् ।
आगन्तुकहरुका लागि आधुनिक शैलीमा धरहरा बनाउन जग्गा अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन खाली गराएको थियो ।धरहरा निर्माण भइसके पनि धरहरा वरिपरी निर्माण गर्न बाँकी रहेको सौन्दर्यकरण तथा मण्डला पोण्ड, वाटर फाउनटेन लगायतका सामग्री निर्माण गर्न बाँकी रहेको अर्यालले बताए ।
हालसम्म धरहरा निर्माणका क्रममा २ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ । धरहरा निर्माण आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।यस अघि धरहराको पुननिर्माण २०७७ साल कात्तिक मसान्तसम्ममा सक्ने लक्ष्य राखेको थियो । तर, कोभिड १९ का कारण र विभिन्न विवादका कारण धरहराल गति लिन सकेन । जस कारण धरहरा पुन निर्माण पूरा गर्नका लागि २०७८ पुस ९ गतेसम्मका लागि म्याद थपिएको थियो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माण शिलान्यास गरेका थिए ।पुनर्निर्माण प्राधिकरणले १२ वैशाखमा भत्किएको धरहराको ठुटोलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्नेगरी संचालनमा ल्याउने जनाएको छ । हाल बनेको धरहरा पहिलाको भन्दा १० मिटर पर रहेको छ ।