नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ८ कम्पनी

काठमाडौं । सेयर बजारले दोहोरो अंकको कमब्याक गरेको छ । पछिल्लो एक सातामा करिब २०० अंकको गिरावट पछि आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६४ करोडले बढेर पौने ५ अर्ब पुगेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा पुगेको छ । सोमबार २२८ कम्पनीको ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.६३ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स समूह पनि २.३० प्रतिशतले बढेको छ ।

 

कारोबारमा आएका २२८ कम्पनीमध्ये १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, एचआइडीसीएल साढे २८ करोड र लुम्बिनी विकास बैंक साढे २३ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल र मानुषी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, तेह्रथुम पावर र मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, आज शिवश्री हाइड्रोपावर ८.७०, घलेम्दी, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकको मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज महालक्ष्मी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.४६ प्रतिशत गुमाएका छन् ।

किन लगातार लाग्दैछ बोटलर्स नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट ? Read Previous

किन लगातार लाग्दैछ बोटलर्स नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट ?

भन्सार नाकामा सहजीकरण गर्न चेम्बरको १३ बुँदे माग Read Next

भन्सार नाकामा सहजीकरण गर्न चेम्बरको १३ बुँदे माग