काठमाडौं । सरकारले बजेटमार्फत स्टील उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पञ्ज आइरन’ आयात गरी स्वदेशमै डण्डी उत्पादन बढाउन प्रोत्साहन गर्ने नीति लिएसँगै यस क्षेत्रमा नयाँ लगानी थपिन थालेको छ ।
चालु आर्थिक वर्षको साढे तीन महिनामै डण्डी उद्योगमा करिब २ अर्ब लगानी थपिने प्रतिबद्धता आएको छ । यस अवधिमा उक्त लगानीका दुई डण्डी उद्योग दर्ता भएका हुन् । पर्सा र कैलालीमा सञ्चालनमा आउने गरी ती उद्योग दर्ता भएका हुन् ।
पर्सामा १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ लगानीमा डण्डी उद्योग खुल्ने भएको छ । पर्साको विन्दबासिनी नगरपालिका वडा नम्बर २ मा हुलास इन्फ्रा डण्डी उद्योग स्थापना हुन लागेको हो ।
९० हजार मेट्रिक टनभन्दा बढी डण्डी उत्पादन गर्ने गरी उद्योग विभागमा डण्डी उद्योग दर्ता भएको छ । उद्योगले १२३ जनालाई रोजगारी दिने उल्लेख छ । उक्त स्टिल उद्योग पूर्ण स्वदेशी लगानीमा बन्न लागेको हो ।
यसैगरी, मलिका स्टिलस् प्रालिले कैलालीको जानकी नगरपालिकामा ४१ करोड १० लाख ६७ हजार रुपैयाँ लगानीमा स्टिल उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो उद्योगले वार्षिक ३८ हजार मेट्रिकटन स्टिल उद्योग गर्ने छ । उक्तले सञ्चालनपछि २८५ जनालाई रोजगार दिने छ । पूर्ण स्वदेशी लगानीमा बन्न लागेको यस उद्योगले दैनिक २ हजार केभीए विद्युत् खपत गर्ने छ ।
सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत सरकारले बजेटमा स्टील उद्योगले आयात गर्ने स्पञ्ज आइरनमा लाग्ने भन्सार शुल्क ५ प्रतिशतबाट शून्यमा झारेको थियो भने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्याएको थियो ।
सरकारले नेपालमै स्टीलको कच्चा पदार्थ ‘बिलेट’ उत्पादन गरेर स्टील उत्पादन गर्ने कम्पनीहरूलाई नीतिगत प्रोत्साहन गरेपछि त्यसको सकारात्मक प्रभाव देखिन थालेको अनुमान गर्न सकिन्छ ।
हाल नेपालमा ३० वटा स्टील उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेका छन् । यसमध्ये ६ वटा उद्योगले स्पञ्जबाट बिलेट बनाएर स्टील उत्पादन गर्छन् भने बाँकी २४ वटा उद्योगले सिधै बिलेट आयात गरेर स्टील उत्पादन गर्दै आएका छन् ।
साढे ३ महिनामा ११० उद्योग दर्ता
नेपालमा पछिल्लो समय उद्योग क्षेत्रमा लगानी वृद्धि भएको छ । उद्योग विभागको तथ्यांक अनुसार अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योग विभागमा ११० वटा उद्योग दर्ता भएका छन् । गत वर्षको सोही अवधिमा उद्योग विभागमा ९४ उद्योग दर्ता भएका थिए ।
चालु आर्थिक वर्षको साउनदेखि कार्तिक तेस्रो साता (१७ गते) सम्ममा कुल १ खर्ब ३० अर्ब ५७ करोड रुपैयाँ बराबर लगानीका ११० उद्योगहरु दर्ता भएको विभागले जनाएको छ ।
सो अवधिमा कृषि तथा वन्यजन्तु क्षेत्रमा ४, ऊर्जामूलक क्षेत्रमा १, सूचना तथा प्रविधि क्षेत्रमा ४, निर्माण क्षेत्रमा १८, सेवामूलक क्षेत्रमा ३१ र पर्यटन क्षेत्रमा ५२ उद्योग दर्ता भएका हुन् । यी उद्योगहरु संचालनमा आएपछि ७ हजार २८१ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागले जनाएको छ ।