सेयर बजारमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । तिहारपछि कारोबार भएको तीनै दिन लगातार दोहोरो अंकले घटेको हो । पछिल्ला तीन दिनमा मात्रै नेप्से १५७ अंकले घटेको छ ।

 

बैंकिङ प्रणालीमा भएको तरलता अभावका कारण अझै ब्याजदर बढ्ने हल्लाले नेप्सेमा लगातार गिरावट आएको आकलन गरिएको छ ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम झन्डै डेढ अर्बले घटेर ५ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा आइपुगेको छ । बिहीबार २२५ कम्पनीको ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँ बढीको ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.२२ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक समूह र लगानी समूह पनि ३ प्रतिशभन्दा धेरैले घटेका छन् ।

 

कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नबिल बैंक ३१ करोड र आइसीएफसी फाइनान्स २९ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ ३० सर्किट लागेको छ । मानुषी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आइसीएफसी फाइनानन्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

 

यसैगरी, शिवश्री हाइड्रोपावर ७.३९ प्रतिशत, वरुण हाइड्रोपावर, युनियन हाइड्रोपावर र सिनर्जी पावरको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, राधी विद्युत्, नेपाल हाइड्रो, सानिमा माइ हाइड्रोपावर र मल्टिप्रपोज फाइनान्सको मूल्य साढे ५ प्रतिशभन्दा धेरैले घटेको छ ।

 

प्रभु बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण Read Previous

प्रभु बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण

डण्डी उद्योगमा २ अर्ब लगानी थपिँदै, दुई नयाँ उद्योग खुल्ने Read Next

डण्डी उद्योगमा २ अर्ब लगानी थपिँदै, दुई नयाँ उद्योग खुल्ने