काठमाडौं । चिनियाँ ह्याकरले नेपाली बैंकका एटीएमबाट ह्याक गरेर चोरी भएको रकमको घाटा बैंकहरुले व्यहोर्ने बताएका छन् ।
नेपाल बैंकर्स संघले बैंकबाट आइतबार महानगरीय प्रहरी परिसर आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले चोरी भएको रकमको घाटा बैंकहरुले व्यहोर्ने भन्दै सर्वसाधारण निक्षेपकर्तालाई घाटा नहुने बताएका हुन् ।
उनले बैंकबाट विदेशी व्यक्तिले चोरी गरेको रकमबाट सर्वसाधारण निक्षपेकर्ताको रकम क्षति नहुने बताएका हुन् । आइतबार नेपालका विभिन्न ११ वटा बैंकबाट ह्याक गरी रकम चोरी समाचार आएसँगै सर्वसाधरण आत्तिएका थिए ।
यस्तै, राष्ट्र बैंकले पनि सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ। राष्ट्र बैंकले कुनै पनि व्यक्तिको खाताबाट पैसा नझिकिएकोले नआत्तिन आग्रह गरेको छ।
शनिबार नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको थियो ।
पक्राउ परेकासँग प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।