काठमाडौं । २०७६ मा गरिमा नामक धानले किसानको मेहनत बालुवामा पानी बनायो । कैलाली, कञ्चनपुर, कपिलवस्तु, चितवन लगायतका विभिन्न १३ जिल्लाका किसानलाई रुवायो । सो वर्ष १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा धानले फल दिएन् । धानको सट्टा भुस मात्र फल्यो । जसकारण किसानहरूले झण्डै १७ करोड रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको थियो ।
उक्त धानका कारण १५ सयभन्दा बढी किसान मर्कामा परेका थिए । उक्त समयमा चितवनका किसानले १० करोड १९ लाख ४८ हजार ८८५ रुपैयाँ नोक्सानी बेहोरेका थिए । सरकारले झिनो क्षतिपूर्तिसहित किसानको घाउमा मलम लगाउने काम गरेको थियो ।
गरिमा धानलाई सरकारले विसं २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र दिएको थियो । सनराइज कम्पनीले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इण्डिया प्रालीबाट गरिमा जातका वर्णशङ्कर धानको बीउ आयात गरेको थियो । यसरी भारतबाट आउने हाइब्रीड धानमा सधैंजसो केहीन केही समस्या आउने गरेको छ ।
![]()
यस्तै यो वर्ष काष्ठमण्डप बीउ कम्पनीले ल्याएको डीवाई–२८ नामक धानमा भुस मात्र फल्यो । भक्तपुरको चाङगुनारायण नगरपालिकामा २०० बढी रोपनीमा लगाइएको धानमा दाना लागेन । २०० रोपनीमा रोपिएको उक्त हाइब्रिड धानको बालामा दाना नलाग्दा ४० लाख क्षति हुनुका साथै २ हजार मुरी धान खेर गएको बताइन्छ ।
तराईका लागि सिफारिस गरिएको हाइब्रीड जातको डीवाइ–२८ धानको बीउ व्यवसायीले झुक्काएर किसानलाई विक्री गरेका हुन् । १ वर्ष राम्रो फलेको धानको बीउले अर्को वर्ष पनि राम्रो उत्पादन दिन्छ भन्ने सोचमा किसानहरूले सधैं क्षति बेहोर्नु परेको छ ।
भक्तपुर, ललितपुर, काठमाडौं उपत्यका आसपासका क्षेत्रका किसानले लगाएको डिवाई धानको बीउमा बाला लागे पनि भुस मात्र फलेको छैन । भक्तपुरमा १ हजार, ललितपुर एकसय रोपनी र अन्यमा १ हजार दुई सय रोपनी क्षेत्रफलमा लगाएको धानमा दाना नलागेको हो ।
![]()
यी केही प्रतिनिधि घटना मात्र हुन्। पछिल्ला वर्षहरूमा हाइब्रीड धानको नाममा किसान ठगिने प्रवृत्ति बढ्दो क्रममा छ । आवश्यक अध्ययन अनुसन्धान बिनै जथाभावी धानको बीउ ल्याएर विक्री गर्दा किसानको वर्षभरीको मेहनत खेर जाने गरेको छ ।
हाइब्रीड धानको नाममा नेपाल भित्रिने गरेका बीउले सधैंं जसो किसानलाई दुःख दिने गरेको छ । धेरै धान उत्पादन गर्ने लोभका किसानहरू लोकल धानको सट्टा हाइब्रीड धानका बीउ लगाउने गर्छन् । जस कारण किसानहरू सधैं मारमा पर्ने गरेका छन् ।
हाइब्रीड बिउले एक/दुई वर्ष राम्रै उत्पादन गर्ने भए पनि धेरै पटक हाइब्रीड नै प्रयोग गर्दा यसले माटो बिगार्ने र त्यहाँ पछि कुनै धान उत्पादन हुन नदिने गरी असर पार्ने विज्ञहरू बताउँछन् ।
हाइब्रीड धानकै कारण नेपालमा धानका बीउ राख्ने चलन समेत हराउँदै गएको छ । हाइब्रीड धान प्रत्येक वर्ष किनेर लगाउनु पर्ने भएकाले किसानहरूले बीउ राख्न छोडेका हुन् । परम्परागत खेती गर्दै आएका केही संख्यात्मक किसानहरूले मात्र लोकल धानका बीउ राख्ने गरेको पाइन्छ ।
हाइब्रीड बीउलाई बीउविजन तथा गुणस्तर नियन्त्रण केन्द्रले सूचीकृत गर्ने गरेको छ । हालसम्म झण्डै ११ वटा हाइब्रीड बीउ सूचीकृत अवस्थामा रहेका छन् । तराई र पहाडी क्षेत्रमा विषेश गरी हाइब्रीड धानको प्रयोग हुने गर्छ । उक्त सूचीकृत बीउ समेत सिफारिस भूगोलभन्दा फरक स्थानमा लगाउँदा पनि हाइब्रीड धानमा दाना नलाग्ने जस्ता समस्या आउन थालेको बताइन्छ ।
व्यवसायीहरूले अवैध रुपमा बीउ ल्याउने गरेका छन् । हाल धानका बीउ आयात बढेको छ । चालु आर्थिक वर्षमा मात्र २ करोड ८५ लाख ४४ हजार रुपैयाँ बराबरको धानका बीउ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्यमा १० लाख ९१ हजार केजी बढी धानका बीउ आयात भएको पाइन्छ ।
एग्रोभेटका कुरा सुन्दा मेहनत खेर
अरु देशको हावापानी अनुकूलका बीउ यहाँको हावापानी र माटोमा अनुकूल नहुँदा कुनै वर्षमा उत्पादन नदिँदा किसान हैरान छन् । किसानहरूले एग्रोभेटहरूका कुराको पछि लागेर जबुझी जस्तो पायो त्यस्तै बीउ किनेर लगाउने गरेका छन् ।बीउ आयात गरी बेच्नेले मनग्ये नाफा कमाउने भए पनि सो बीउ किनेर रोप्ने किसान भने सधैं घाटामा हुने गरेका छन् ।
हाइब्रीड बीउले एक वर्ष राम्रो भएको बाली समेत अर्को वर्षमा नराम्रो हुन सक्ने हुँदा पहिलै बुझेर धानका बीउ किन्नु पर्ने हुन्छ । कृषकहरूले नार्कले आयात गरेका बीउमात्रै नभएर स्थानीय जातबाट नै उन्नत जातको विकास गर्न सक्छन् । धेरै जातका धानलाई निरन्तरता दिँदै गए उक्त बीउ बाटै धान उत्पादन बढ्न सक्छ ।
देशमै भइरहेका जातबाट पहाडी क्षेत्रको मौसमलाई सुहाउँदो र उत्पादन बढी दिने बीउ अनुसन्धान भइरहेको नार्कले जनाएको छ । नार्कका अनुसार अनुसन्धानमा सफल नतिजा दिएका बीउ नै नार्कले पहिले किसानको खेतमा पनि परीक्षण गरेर सिफारिस गर्ने गरेको छ ।
सरकारले बीउ आयतमा कडाइ गर्न आवश्यक
वर्षेनी हाइब्रीड धानको नाममा किसान ठगिने क्रम बढेको छ । यसको नियन्त्रणका लागि सरकारले विदेशबाट धानाको बीउ आयातमा कडाइ गर्न आवश्यक छ ।
व्यापारीहरूले आफूले नाफा कमाउने ध्यानमा जस्तो सुकै धानको बीउ ल्याएर बेच्ने गरेका छन् । नार्कले सिफारिस गरेकै धानको बीउमा समेत राम्रो उत्पादन हुन नसकिरहेको अवस्थामा सिफारिस नै नभएका बीउले किसानलाई दुःख र पीडा बाहेक अरु दिने गरेको छैन ।
हाइब्रीडका नाममा जथाभावी बीउ विक्री गर्नेलाई कारबाहीको साथै क्षतिपूर्ति भराउने व्यवस्था नगरेसम्म किसान ठगिने क्रम नरोकिने देखिन्छ ।
हराउँदै लोकल धानका बीउ
दुई दशक अघि देशभर ५ सय लोकल धानका बीउहरू थिए । ती मध्ये चितवनमा मात्र ३ सय बढी जातका धानका बीउ रोपिन्थ्यो । हाल देशभर १ सय जातका धान पाउन समेत मुस्किल छ ।
हाल आएर चैते धन, बर्खे धान, अनदी धान, ताइचिन, हर्दिनाथ, विन्देश्वरी, मंसुली लगायतका १ सय हाराहारीमा धानका जातहरू प्रयोग हुन्छन् । बाँकी हराउँदै गइसकेका छन् । लोकल धानको बीउ राख्ने भन्दा मानिसहरू हाइब्रीड धान किनेर रोप्नमा सजिलो मान्ने भएका छन् ।
हालसम्म झण्डै ११ वटा हाइब्रीड बीउ सूचीकृत अवस्थामा रहेका छन् । तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र हाइब्रिड धानको बीउको प्रयोग बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
स्थानीय जात हराएरै जानु राम्रो हैन । स्थानीय जातका बीउ हराउँदै गए नेपाल भविष्यमा धानका बीउका लागि आयातमा निर्भर हुनुपर्ने अवस्था सृजना हुन सक्नेछ ।पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । जलवायु परिवर्तन हुँदै जाँदा हाइब्रीडको तुलनामा स्थानीय जातका बीउ नै बढी उपयोगी हुनेगर्छ ।
उन्नत वा हाइब्रीडमा अरुखालका गुणभन्दा पनि किसानले कुनले बढी उत्पादन दिन्छ त्यही छनोट गर्दै आएका छन् । हाइब्रीडले उत्पादन बढी दिने भन्दै किसान महँगो तिरेर पनि हाइब्रीड जातका बीउ रोप्छन् ।