हुम्ला उड्न लागेको सीता एयरको जहाज बँदेलसँग ठोक्किएपछि…

काठमाडौं । हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ ।

 

बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए ।

 

उनका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । सबै यात्रु र चालकदलका सदस्य सकुशल छन् । जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए ।

 

जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ । बँदेलको मासु धावनमार्गभरि छरिएका कारण नेपालगञ्ज विमानस्थलको उडान केहीबेर बन्द गरिएको विमानस्थलका प्रमुख झाले बताए। विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायतका जङ्गली जनावार जहाजसँग ठोक्किने गरेका छन् ।

हालै आइपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्‍यो लाभांश Read Previous

हालै आइपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्‍यो लाभांश

बेनी-जोमसोम-कोरला सडकको ६ खण्डको स्तरोन्नति सम्पन्न Read Next

बेनी-जोमसोम-कोरला सडकको ६ खण्डको स्तरोन्नति सम्पन्न