सेयर बजारमा लगातार उछाल, यी १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार निरन्तर उकालो लागेको छ । गत आइतबारदेखि उकालो लागेको बजारमा लगातार छैटौं दिन बढेको हो ।

 

पछिल्लो ६ कारोबार दिनमै नेप्से २८० अंकले बढेको छ । ब्याजदरमा नेपाल राष्ट्र बैंकको हस्तक्षेप गर्नु, सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्नु र चालू आवको पहिलो त्रैमासको आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहेकाले लगानीकर्ता उत्साहित हुँदा बजारले लय पकडेको हो ।

 

सूचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकममा पनि बढोत्तरी आउन थालेको छ । गत साता दैनिक औसतमा ५ अर्बको कारोबार हुँदै आएकोमा आज पौने ८ अर्ब बढीको कारोबार भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज ५५.५० अंकले बढेर २८३७.८२ विन्दुमा पुगेको छ । यसदिन २३२ कम्पनीको ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ६.५४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, व्यापार र उत्पादनमूलक समूह पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

कारोबारमा आएका २३२ कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ३५ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज आँखुखोला हाइड्रापावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंक २८ करोड र एभरेष्ट बैंकको साढे २७ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज १० कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरि हिल्स, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, पाँचथर पावर, हिमालयन ऊर्जा र सामुदायिक लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, साहस ऊर्जा, रैराङ हाइड्रोपावर, कामना सेवा विकास बैंक र सानिमा माइ हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । अन्य १ दर्जन कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज एभरेष्ट बैंकका सेयरधनीले भने सबैभन्दा धेरै ६.५० प्रतिशत गुमाएका छन् ।

सहरको मुहार फेर्न भन्दै राखिए ‘डिजिटल बोर्ड’,  तर चालक भन्छन् -'गाडी चलाउन असहज हुन्छ' Read Previous

सहरको मुहार फेर्न भन्दै राखिए ‘डिजिटल बोर्ड’, तर चालक भन्छन् -'गाडी चलाउन असहज हुन्छ'

दुई साता बित्दा पनि खुल्न सकेनन् ५ सडक Read Next

दुई साता बित्दा पनि खुल्न सकेनन् ५ सडक