काठमाडौं । ठूला होर्डिङबोर्ड, रंगीविरंगी विज्ञापन, पसलले झुन्ड्याएका साइन बोर्डले सहरको सुन्दरता बिगारेको भन्दै काठमाडौं महानगरपालिकाले सडक छेउछाउमा राखिएका सबै विज्ञापनबोर्ड हटाउने कार्य तीव्र गतिमा अघि बढाएको छ ।
महानगरले धेरै ठाउँका राखिएका होर्किङबोर्ड हटाइसकेको छ भने कतिपय बाँकी रहेको ठाउँमा हटाउने क्रम जारी छ । महानगरले फ्लेक्सका होर्डिङबोर्ड हटाएर डिजिटल होर्डिङ बोर्ड राख्न प्रोत्साहन गर्ने नीति अघि सारेको छ । सोही क्रममा काठमाडौंका एक दर्जन बढी ठाउँमा डिजिटल होर्डिङ बोर्ड राखिसकिएको छ ।
तर, कामपाले सुन्दर र सफा सहरको परिकल्पना गरेर सुरू गरेको डिजिटल विज्ञापन बोर्डले यातायात संचालनमा असहजता पुर्याउने चालकहरू बताउँछन् । दिनमा सवारी चलाउँदा खासै असर नगरे पनि रात्रीकालीन समयमा यस्ता विज्ञापन बोर्डले अफ्ठ्यारो पार्ने गरेको उनीहरूको भनाइ छ ।
नुवाकोट घर भई विगत ५ वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका ध्रुव अधिकारी सडकका छेउछाउमा राखिएका डिजिटल विज्ञापन बोर्डले यात्रामा असहजता हुने बताए ।
‘सडकका छेउछाउमा राखिएका डिजिटल बोर्डले यातायातमा असहजता हुन्छ नि, दिनमा त खासै फरक पर्दैन । तर, रातिको समयमा भने यस्ता बोर्डबाट लामो दूरीसम्म फ्याक्ने फ्याल्क्स लाइटले धेरै असहज हुन्छ, आँखा नै तिरिमीरी पार्छ, यो मैले मात्र होइन् सबै चालहरूले भोग्ने समस्या हो,’ उनले चाणक्य पोष्टसँग भने ।
यता अर्का चालक ज्ञानबहादुर तामाङ्को भनाइ पनि उस्तै छ । ‘म साँखुदेखि रत्नपार्क हुँदै कलंकीसम्म चल्ने गाडी चलाउँछु, यस्ता सडक छेउछाउमा राखिएका विज्ञापनबोर्डले असहज महसुस हुन्छ, सेकेण्ड सेकेण्डमा फेरिने विज्ञापन र लाइटले अफ्ठ्यारो पार्छ,’ उनले भने ।
डिजिटल होर्डिङ बोर्डले दुर्घटना हुँदैन : ट्राफिक प्रहरी
गाडी र ट्याक्सी चाकललाई मात्र नभएर सडकमा यात्रा गर्ने हेरकलाई यस्ता विज्ञापन बोर्डले असर पारेको देख्न सकिन्छ । के विज्ञापन आएको रहेछ हेरौं न भनेर विज्ञापनतिर ध्यान जाने भएकाले पनि दुर्घटना हुने सम्भावना देखिन्छ ।

तर ट्राफिक प्रहरीले भने यस्ता विज्ञापन बोर्डकै कारण दुर्घटना नभएको बताएको छ । त्रिपुरेश्वर, दरबार मार्ग लगायतका धेरै ठाउँमा पछिल्लो समय डिजिटल विज्ञापन बोर्ड राखिएको छ, यी नै विज्ञापन बोर्डको कारण दुर्घटना भएको रेकर्ड नभएको ट्राफिकको भनाइ छ ।
‘सडक छेउछाउमा राखिएका डिजिटल विज्ञापन बोर्डकै कारण दुर्घटना भयो भन्ने छैन, यात्रा गर्दा चालकको ध्यान आफ्नो बाटोमा हुन्छ, विज्ञापन के आउँदै छ भन्नेमा ध्यान हुँदैन, त्यसकारण डिजिटल विज्ञापन बोर्डकै कारण दुर्घटना हुन्छ भन्ने हुँदैन, तर मापसे गरेर ड्राइभिङ गरिएको अवस्थामा जुन ठाउँमा पनि दुर्घटना हुन सक्छ,’ ट्राफिक प्रहरी महाशाखा प्रवक्ता संजीव शर्मा दासले चाणक्य पोष्टसँंग भने ।
के भन्छ कामपा ?
यता काठमाडौं महानगरपालिकाले सहरको सुन्दरता कायम राख्न र आम जनतालाई सूचना प्रवाह गर्नको लागि डिजिटन विज्ञापन बोर्डलाई प्राथमिकता दिएको बताएको छ । जथाभावी राखिएका होर्डिङ बोर्डले सहरको सौन्दर्य नै बिगारेको भन्दै २०७० सालमै काठमाडौं महानगपालिकाले साइनबोर्ड र होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो ।
कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दिएको जानकारी अनुसार कामपाले हालसम्म १३ हजारभन्दा बढी होर्डिङ बोर्ड हटाएको छ । काठमाडौं महानगरका ३२ वटाका मुख्य मुख्य स्थानका होर्डिङ बोर्ड हटाइ सकिएको र केही स्थानका हटाउने क्रम जारी रहेको सापकोटाले जनाकारी दिए । ‘हामी काठमाडौं महानगरपालिकालाई होर्डिङ बोर्ड रहित बनाउने अभियानमा अघि बढेका छौं, यो अभियान पूरा गरेरै छाड्छौं,’ सापकोटाले भने, ‘हामी जुन ठाउँमा विज्ञापन बोर्ड देख्छौं, तत्कालै एक्सनमा जान्छौं, हामीले यसबारे व्यवसायीहरूलाई पहिल्यै जाकारी दिएका छौं ।’
जथाभावी राखिएका होर्डिङ बोर्ड हटाएर डिजिटल बोर्ड राख्दा जनतालाई सहजता भएको उनले बताए । ‘हामीले जथाभावी राखिएका होर्डिङ्बोर्ड हटाएर व्यवस्थित रूपमा डिजिटल विज्ञापनबोर्ड राख्दा जनतालाई दुःख नभएर सहजता नै भएको महसुस गरेका छौं, उनले भने, ‘विगतमा भएको साग गेमकै कुरा गरौं न, इच्छा र चाहना भएका सबै दर्शक दशरथ रंगशालामा अटाउन सम्भव थिएन, हजारौं दर्शकले एसटीआर एड्भरटाइजिङ्गले त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा राखेको डिजिटल बोर्डबाट खेल हेरे । त्यसले कति सहज बनायो ।’
सर्वसाधरणबाट डिजिटल होर्डिङ बोर्ड राखिएकोमा विरोध नभएको उनले बताए । ‘हामीले राम्रो र सुविधाकै लागि सुरू गरेको डिजिटलबोर्डबाट साँच्चै असुविधा भएको छ र, कुरा उठ्यो भने, हटाउँला केही भएन् तर विरोध हुन्छ भन्ने लाग्दैन,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।
कस्ता बोर्ड राख्न पाइन्छ ?
नीतिअनुसार महानगरपालिकामा दर्ता भएका व्यवसायीले मात्र साइनबोर्ड राख्न पाउँछन् । त्यस्तै, एक व्यवसायीले एउटामात्र साइनबोर्ड राख्न पाउने व्यवस्था छ । तर, व्यवसायीले महानगरको नीति कुल्चेर एकभन्दा बढी साइनबोर्ड राख्ने गरेका छन् ।

नीतिमा साइनबोर्डको अधिकतम साइज ३ फिट उचाइ र ३० वर्गफिट तोकिएको छ । बोर्ड राख्दा भिन्न–भिन्न ठाउँमा नराखी एकीकृत रूपमा ठाडो गरी राख्नुपर्ने समेत नीतिले निर्देशन गरेको छ । साथै सपिङ कम्प्लेक्स तथा व्यावसायिक भवनमा छुट्टाछुट्टै साइनबोर्ड नराखी एकै स्थानमा भर्टिकल रूपमा राख्नुपर्ने उल्लेख छ ।
त्यसैगरी, घरको भित्ता, पसलमाथि, झ्याल छोपेर तथा सौजन्य गरी बोर्ड राख्न पाइँदैन । व्यावसायिक विज्ञापनको सन्दर्भमा डिजिटल विज्ञापन राख्नुपर्ने महानगरको भनाइ छ । जसका लागि उचित ठाउँ पहिचान गरेर राख्नुपर्नेछ ।
कुन-कुन ठाउँमा छन डिजिटल बोर्ड ?
काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार हालसम्म विभिन्न १४ स्थानमा डिजिटल बोर्ड राख्न महानगरले स्वीकृति दिएको छ । जस मध्ये एसटीआर एड्भरटाइजिङ्गले त्रिपुरेश्वर वल्र्ड ट्रेड सेन्टर, गो डिजिटल एड्भरटाईजरले कलंकी चोक, थामसेर्कु डेभलपरले दरबार मार्ग दरबार महलमा राखेको छ ।
त्यसैगरी, एपेक्स नेपालले काठमाडौं मल अगाडी, युनीभर्सल एडभरटाइजीङ्गले क्रमशः माइतीघर, चावहिल, कमलपोखरी, दरबारमार्ग, कालिमाटी, माया इन्टरप्राइजेज एण्ड मल्टीपर्पोजले कोटेश्वर, द ब्रिटिस कलेजले थापाथली ,ब्राण्ड एण्ड एडभरटाइजीङ्गले नयाँ बानेश्वर,अक्टेज प्रालिले दरबारमार्ग र गुढ एड्भरटाइजमेन्टले कोटेश्वरमा डिजिटल बोर्ड राखेका छन् ।
कामपा राजश्व विभागले दिएको जानकारी अनुसार गतवर्ष (२०७७/७८)मा विज्ञापनबाट ८ करोड राजस्व संकलन भएको छ ।