काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौ नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ ।
नक्सालस्थित भाटभटेनीको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड पेमेन्ट सिस्टमको समुद्घाटन गरेका हुन् ।
गभर्नर अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्नु हुँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताए ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।
अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्फत डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी नक्साल भाटभटेनीमा आर्थिक कारोबार गर्ने सम्पूर्ण उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिने बैंकले विश्वास लिएको छ ।