सिद्धार्थ बैंकको नाफा झन्डै दोब्बरले वृद्धि, ३ महिनामै कमायो १ अर्ब, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८९.५० प्रतिशतले वृद्धि भएको छ ।

 

बैंकले पहिलो त्रैमासमा ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ करोड रुपैयाँ बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी, संचालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ८७.२७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

 

१० अर्ब ९६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २९ करोड ७८ लाख रुपैयाँ छ।

 

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १.४४ प्रतिशत र कर्जा लगानी विस्तार ९.२३ प्रतिशतले सुधार भएको हो।

 

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.२७ रुपैयाँबाट बढेर ३४.६२ रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८८.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.२६ गुणा, सीडी अनुपात ८७.७५ प्रतिशत, आधारदर ७.५७ प्रतिशत र स्प्रेडदर ३.४७ प्रतिशत र खराब कर्जा ०.५४ प्रतिशत रहेको छ ।

जडिबुटीे निर्यात बढ्दै, प्रक्रिया भने झन्झटिलो Read Previous

जडिबुटीे निर्यात बढ्दै, प्रक्रिया भने झन्झटिलो

२४ घण्टा पनि टिकेन राष्ट्र बैंकको निर्णय, निर्देशन खारेज Read Next

२४ घण्टा पनि टिकेन राष्ट्र बैंकको निर्णय, निर्देशन खारेज