काठमाडौं । शरद ऋतुलाई फूलैफूलको मौसम भनिन्छ । यतिबेला सहरका घरका कौसीदेखि गाउँका बारीसम्म जताततै फूलले ढकमक्क ढाकेको देखिन्छ ।
जताततै फुलेका फूलले सुगन्ध छरिरहेका छन् । पछिल्लो समय सजावटका लागि मात्र नभई व्यवसायिक प्रयोजनका लागि समेत फूलखेती हुँदै आएको छ ।

यसैबीच, फूलखेतीको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले १४ औं गोदावरी पुष्प प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा लतितपुरको जाउलाखेल खेल मैदानमा शुक्रबारदेखि पुष्प मेला सुरू भएको हो ।
उक्त मेला चार दिनसम्म चल्ने फ्यानले जनाएको छ । मेलाको पहिलो दिन नै अवलोकनकर्ताहरुको उपस्थिति बाक्लो रहेको छ ।

मेलामा ४० रुपैयाँदेखि ३५ हजार रुपैयाँ मूल्यसम्मका फूल विक्रीमा राखिएको छ । सिजनल फूलको मूल्य तुलनात्मक रूपमा सस्तो भए पनि सजावटी फूलको मूल्य भने महँगो रहेको फ्यानका महासचिव विश्वमणी पोख्रेलले जानकारी दिए ।
मेलामा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामूकल गरी ४८ वटा प्रदर्शनी कक्षहरू रहेका छन् । मेलामा प्रति स्टल २० हजार भाडा रहेको बताइएको छ । मेलामा गोदावरी फूलको २ सय प्रजाति राखिएको भएता पनि २५० प्रजाति गोदावरी फूल नेपालमा उत्पादन हुने गरेको छ । मेलामा कुल ४५० प्रजातिको फूल राखिएको छ ।

मेला अवलोकनको लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।मेलामा ३५ हजार बढीले मेलाको अवलोकन गर्ने र ५० लाख मूल्य बराबरको फूलको कारोबार हुन अपेक्षा फ्यानले गरेको छ ।
नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा करिब १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले पुष्प खेती गर्दै आएका छन् ।













-तस्वीर : गीता भुजेल/कविता घिमिरे