भक्तपुर । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।
नेपालमा भारतीय फूलले बजार ओगटिरहेका बेला यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूलखेती गर्दै आएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्याउने गरेको बताउँछिन् ।
३ रोपनी जग्गामा फूलखेती गरेकी उनले एक सिजनमा ४ लाखसम्म आम्दानी हुने गरेको सुनाइन्। बस्नेत भन्छिन् ‘मैले सयपत्री साढे दुई र मखमली फूल आधा रोपनीमा मात्रै लगाएको छु, यसवर्ष नै रु तीन लाखको सयपत्री र एक लाखको मखमली फूल उत्पादन भएको छ ।’ एक रोपनी जग्गामा मखमलीका चार हजारवटा माला उन्न सकिने जनाउँदै उनले एउटा मालाको यस वर्ष कम्तीमा २५ मा विक्री हुँदा पनि १ लाखको माला उत्पादन हुने बताइन् ।
उनले विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आएकी छिन् । ‘यस वर्ष तिहारका लागि दसैँ अगाडि नै अमेरिकामा पाँच हजार र अष्ट्रेलियामा १० हजार माला पठाइसकेको छु, केही दिनमै अमेरिकामा थप पाँच हजार माला पठाउँदैछु, यहाँबाट विभिन्न मुलुकमा फूल र माला निर्यात हुँदै आएको छ,’ उनले भनिन् । विदेशमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला २५ मा खरिद गरी रु २७ मा पठाउने गरेको उनको भनाइ छ ।
मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । कतिपयले भने आफैँ बजार पुर्याउने गर्छन् । सयपत्री फूल एक मुठाको रु १० देखि १२ मा विक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु ६०० मा विक्री गरेको छ । स्थानीय मीना नगरकोटीले एक रोपनी जग्गामा फूलखेती गरेको जनाउँदै १ लाखको फूल विक्री हुने बताइन्। उनले मखमली फूलको माला गाँस्ने चटारो परेकाले चार आना जग्गामा लगाएको मखमली फूलबाट एक हजार १०० माला उनेको बताइन् । अहिले माला उन्ने र सयपत्री फूलको व्यवस्थापनको चटारो चलेको छ ।

गुण्डुमा व्यावसायिक फूलखेती हुने भएपछि नगरपालिकाले समेत अनुदानमा फूलको बेर्ना वितरण गर्दै आएको छ । सूनपा-७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले यस वर्ष यहाँका किसानलाई सयपत्री फूलको ४५ हजार बेर्ना वितरण गरेको बताए। उनले भने, ‘फूलखेतीमा लागेको किसानलाई प्रोत्साहन दिन नगरपालिकाले यस वर्ष ४ लाख लगानी गरेर ८० प्रतिशत नगरपालिकाको अनुदानमा फूलको बेर्ना वितरण गर्यौँ, स्थानीय जनप्रतिनिधि भएपछि आवश्यकतानुसार किसानलाई बेर्ना वितरण गर्यौँ ।’
गुण्डुबाट वार्षिक ३ करोडको फूल विक्री
गुण्डुमा स्थानीयवासीसँगै विभिन्न जिल्लाबाट आएर घर भाडामा बस्नेले पनि जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका छन् । वडाध्यक्ष सापकोटाले गुण्डुमा मात्रै करिब ४०० रोपनी क्षेत्रफलमा फूलखेती गरेको र यहाँबाट मात्रै वर्षमा करिब ३ करोडको फूल विक्री हुने गरेको बताए ।
उनले फूलखेतीको बजार व्यवस्थापनका लागि एकद्धार प्रणाली लागू गर्नेबारे किसानसँग छलफल भएकाले किसानले अस्वस्थ्य प्रतिस्पर्धा नगरी एकद्धार प्रणालीमा जान चाहेमा वडाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिए । स्थानीय रुपा बस्नेतले फार्म नै बनाएर फूलखेती गर्नुभएको छ । मखमली फूल करिब एक रोपनी र सयपत्री फूल चार रोपनी जग्गामा लगाउनुभएकी उहाँलाई तिहार नजिकिएपछि मखमली फूलको माला उन्न र सयपत्री फूल बजार पुर्यार्उन भ्याइनभ्याई भएको छ ।
गुण्डु निवासी सांसद एवं पूर्वमन्त्री महेश बस्नेतकै पहलमा आएको करोडौँको बजेटले यहाँको विकासले मुहार फेरेपछि अहिले व्यापारी घरघरमै पुग्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख एवं स्थानीयवासी सरिता कुँवरले जानकारी दिइन् ।
पहिला जीणर् सडक र पिछडिएको गुण्डुमा फूलखेती गरे पनि बजार पुर्या्उन कठिन हुनेमा अहिले चार वर्षकै अन्तरालमा गुण्डु जाने चारवटा ठूला र पक्की सडक बनेपछि व्यापारीलाई गाउँसम्म आउन र व्यवसायीलाई बजारसम्म जान निकै सहज भएको उनले बताइन् ।
भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, वागेश्वरीलगायतका ठाउँमा अहिले व्यावसायिक फूलखेती हुन थालेको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूलखेतीबाट मात्रै एक सिजनमा करिब ५ करोडको फूल विक्री हुने गरेको नगरपालिकाले जानकारी दिएको छ ।
मकै बारीमै फूलखेती लगाउन सकिने भएपछि दोहोरो बालीका रूपमा किसानले फूल र मकै खेती गर्दै आएका छन् । धानमा भन्दा फूलबाट आम्दानी बढी हुने भएपछि कतिपयले धान खेतमा समेत फूल लगाउँदै आएका छन् । सत्रपत्री फूलभन्दा मखमली फूलमा औषधि धेरै हाल्नुपर्ने र धेरै स्याहार्नु पर्ने भएपछि पछिल्लो समय सयपत्री फूलतर्फ किसान आकर्षित भएका छन् ।रासस