काठमाडौं । कुमारी बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले एपमा आधारित बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथीसँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ।
आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउनका लागि सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली लागू हुने बैंकले जनाएको छ।
सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउने बैंकको दावी छ। ट्याक्सी व्यवसायीको आम्दानी बैंक खातामै जम्मा हुनेछ भने उक्त जम्मा भएको रकमबाट ब्याजको समेत लाभ हुनेछ।
यसैगरी, ग्राहकले बायोमेट्रिक लगईन मार्फत सुरक्षित, नगदरहित भुक्तानी गर्न सक्नेछन्। ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट सिधै भुक्तानी गर्न सक्नेछन्।
बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ।
उक्त योजना अनुरूप हरेक क्यूआर पेमेन्टको कारोबारमा चालकले १५ रुपैयाँसम्मको बोनस तथा ग्राहकले २० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्नेछन्।
कुमारी बैंकका देशभर १०३ शाखा संजाल, ९३ एटिएम, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग इकाई संचालनमा छन्।