नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजार निरन्तर उकालो लागेको छ । आइतबारदेखि उकालो लागेको बजारमा लगातार पाँचौं दिन बढेको हो ।

 

यस साताका ५ दिनमै नेप्से करिब २२५ अंकले बढेको छ । गत साता नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसयता बजार निरन्तर उकालो लागेको हो ।

 

सूचकमा निरन्तर वृद्धि भए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब २० करोडले घटेर सवा ५ अर्बमा सीमित भएको हो ।

 

सेयर बजार मापक सूचक नेप्से आज १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा पुगेको छ । यसदिन २२२ कम्पनीको ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटामध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै २.५३ प्रतिशतले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स र हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ । होटल समूह सबैभन्दा धेरै १.१५ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २२२ कम्पनीमध्ये १२८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेशनल हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंक साढे २२ करोड र जीवन विकास लघुवित्त १८ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज रिडी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसैगरी, जीवन विकास, ग्रामीण विकास लघुवित्त, कामना सेवा र सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

यस्तै, नेपाल हाइड्रो, गणपति लघुवित्त, युनाइटेड मोदी र अरुण भ्यालीका सेयरधनीले ७ प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सका प्रमोटर सेयरधनीले भने सबैभन्दा धेरै ७.७९ प्रतिशत गुमाएका छन् ।

व्यापारीले झुक्याएर बीउ बेच्दा ठगिए किसान, धानको सट्टा भुस मात्र फल्यो Read Previous

व्यापारीले झुक्याएर बीउ बेच्दा ठगिए किसान, धानको सट्टा भुस मात्र फल्यो

विदेश जाने बढे पनि किन घट्यो रेमिट्यान्स ? Read Next

विदेश जाने बढे पनि किन घट्यो रेमिट्यान्स ?