काठमाडौँ । कोरोना कहरका बीच गत आर्थिक वर्षमा कीर्तिमानी रेमिट्यान्स भित्रिएको भए पनि चालू आवमा भने घट्न थालेको छ । गत वर्षको तुलनामा विदेशिने बढे पनि रेमिट्यान्स भने घटेको सरकारी तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशतले घटेको छ । गत वर्ष भदौसम्म १ अर्ब ६६ अर्ब रेमिट्यान्स भित्रिएकोमा चालू आवको सोही अवधिमा १० अर्बले घटेर १ खर्ब ५५ अर्बमा सीमित भएको छ ।
तर, यही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको दुई महिनामा ३८ हजार ४९२ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिइ वैदेशिक रोजगारीमा गएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा करिब ४ गुणाले बढी हो । त्यसैगरी, चालू आवमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २२ हजार ९७६ रहेका छन् ।
यसरी विदेश जाने बढे पनि रेमिट्यान्स भने घट्न थालेपछि अर्थतन्त्रमै असर पर्ने त होइन भन्ने प्रश्न खडा भएको छ । मुलुुकको कुल गार्हस्थ उत्पादनमा झन्डै एक तिहाई योगदान रहेको विप्रेषण आप्रवाहमा कमी आएपछि अर्थन्तत्रमा असर पर्ने विज्ञहरू बताउँछन् ।
किन घट्यो त रेमिट्यान्स ?
पछिल्लो समय हुन्डी कारोबार बढ्दा रेमिट्यान्स घटेको जानकारहरु बताउँछन् । अर्थविद् डिल्लीराज खनाल राजनीतिक अस्थिरताको कारण हुन्डी कारोबार बढ्दा रेमिट्यान्स घटेको बताउँछन् ।
‘गत वर्ष औपचारिक माध्यमबाट रेमिट्यान्स बढी आएको थियो, अहिले अवैध माध्यमबाट बढी आयो भन्ने छ,’ उनले चाणक्प पोष्टसँग भने, ‘सबै क्षेत्रमा जुन किसिमको अस्थिरता छ, त्यसले मानिसलाई औपचारिक माध्यबाट पैसा पठाउन प्रोत्साहन नगरेर अवैध कारोबार बढाएको हो, यसको मुख्यकारण अहिलेको राजनीतिक अस्थिरता नै हो ।’
राष्ट्र बैैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भने गत आवमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु र डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु रेमिट्यान्स घट्नुको कारण भएको बताउँछन् ।
‘गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या नै घटेकोे छ, डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको छ,’ उनले भने, ‘त्यसकारण यो अवधिमा ६.३ प्रतिशतले रेमिट्यान्स घटेको हो ।’
अर्थतन्त्रमा कस्तो पर्छ असर ?
चालु आवको पहिलो दुई महिनामै रेमिट्यान्स घट्नुले देशको समग्र अर्थतन्त्रमा असर पर्ने विज्ञहरू बताउँछन् । आर्थिक वृद्धि थला परेकोे अवस्थामा रेमिट्यान्स घट्नुले अर्थतन्त्रमा व्यापक प्रतिकूल असर पार्ने खनालको भनाइ छ ।
‘अहिले दुई महिनाको तथ्यांकले देखाइसकेको छ । आर्थिक वृद्धि थला परेकोे अवस्थामा रेमिट्यान्स घट्नुले आर्थिक वृद्धिमा व्यापक प्रतिकूल असर पर्छ,’ उनले चाणक्य पोष्टसँग भने ।
साथै, आयात बढ्ने र निर्यात घट्ने, विदेशी मुद्रा संञ्चिति संकुचन हुने, बैैंकिङ प्रणलीमा संकट आउने र ब्याजदरमा समेत असर पर्ने खनालले बताए ।
कुन आर्थिक वर्षमा कति रेमिट्यान्स भित्रियो ?
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ५ वर्षमा ४१ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०७७÷७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियोे ।
आव २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस्तै, आाव २०७४/७५ मा ७ खर्ब ७६ अर्ब, २०७५/७६ मा ८ खर्ब ७९ अर्ब र २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।
