व्यापारीले झुक्याएर बीउ बेच्दा ठगिए किसान, धानको सट्टा भुस मात्र फल्यो

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ (नगरकोट) का सन्तवीर घिसिङ यो पटक धान भित्र्याउन नपाएर नियाउरो मुख लगाउँदै दैनिक खेतमा डुल्छन् । असारमा रोपेको धानमा बाला लाग्यो तर दाना लागेन । हाइब्रिड भनेर किनेको बीउले यो पटक उनको खेतमा धान भित्र बाला लाग्न दिएन । कृषिमै निर्भर उनको परिवार यो पटक बजारबाट धान किनेर खान बाध्य भएको छ ।

 

२ रोपनीमा जग्गा धान रोपेका उनी असोज महिनाको अन्तिममा धान भित्र्याउन भनि खेतमा जाँदा धानका बाला ननुघेको देखे । धानको बाला ठाडै देखेपछि उनले बाला छामेर हेरे । त्यहाँ धान होइन भुस मात्र थियो ।

 

वर्षभरीको मेहनत खेर गएपछि उनले आफ्ना छिमेकीलाई व्यथा सुनाए । छिमेकीहरूले पनि आफूहरूको व्यथा पनि उस्तै रहेको बताए । घिसिङले ६ रोपनी जमिनमा २ केजी बीउ रोपेका थिए । उक्त मध्ये कुनै पनि धानमा दाना लागेको छैन । ३ वर्षदेखि हाइब्रिज बीउ प्रयोग गर्दै आएका उनले २ वर्ष केही नभए पनि यो वर्ष भने धानका बालामा चामलका दाना नै नलागेको गुनासो सुनाए ।

 

राम्रो बीउको रातो जरा हुने भए पनि नराम्रो बीउ भएकाले सेतो जरा आएको उनले बताए । ‘डीवाइ २८’ जातको सोही बीउमा रातो जरा भएकामा केही दाना लागे पनि सेतो जरा भएको सबै सखाप पारेको उनले बताए ।

लोकल बीउ रोप्दा ६ रोपनीमा ७ पाथी चाहिने तर, हाइब्रिड रोप्दा २ पाथी बीउ मात्र भए पुग्ने भएकाले किसानहरू हाइब्रिड बीउतर्फ आकर्षीत भएको पाइन्छ । बीउमा मात्र उनले १५ देखि २० हजार लगानी गर्नुपरेको बताए । घिसिङका ६ जना परिवार कृषिमा आश्रित छन् । लोकल बीउ रोप्न समय पनि धेरै लाग्ने र मान्छे पनि धेरै चाहिने भएकाले हाइब्रिड बीउ रोपेका उनले यो पटक आफ्नो परिवार पाल्न चामल किन्ने पर्ने अवस्था आएको छ ।

 

६ रोपनी जमिनमा लोकल धान १५ मुरीका हाराहारीमा फल्ने गर्छ । तर, सोही खेतमा हाइब्रिड धान रोप्दा ३/४ गुणा बढी फल्ने गरेको किसान बताउँछन् । ६ रोपनी जमिनमा २५/३० मुरी धान हाइब्रिड बीउबाट उत्पादन हुने गरेको उनले बताए ।

 

विश्वासमा बीउ किनियो, तर भुस मात्र फल्यो

 

सोही, ठाउँका अर्का किसान सुमन तामाङ एग्रोभेटबाट राम्रो हाइब्रिड बीउ भएको भन्दै विश्वासको आधारमा किनेको बताउँछन् । ३ वर्षदेखि हाइब्रिड बीउ लगाउँदै आएका उनले गएको वर्ष राम्रो भएको भन्दै यो पटक पनि हाइब्रिड बीउ नै लगाएको बताए ।

 

४ रोपनी ४ आनामा हाइब्रिड लगाउदा २२ मुरी धान फल्ने गरेको उनले बताए । लोकल रोप्दा १७ मुरी मात्र फल्ने भएकाले धेरै फल्ने आसमा हाइब्रिड लगाउँदै आएको उनको भनाइ छ । उनले भक्तपुरको महालक्ष्मी थानस्थित एग्रोभेटबाट धानको हाइब्रिड बीउ खरिद गरेका थिए । बीउ खरिद गर्दा बिल भने विक्रेताले नदिएको उनले बताए । उनले बीउ प्रतिकेजी ९०० रुपैयाँदेखि ९५० रुपैयाँमा किनेको बताए ।

 

अब छाक कसरी टार्ने ?

 

नगरकोट ६ कै फुलमाया तामाङ धानखेती गरेरै हुने उब्जनीबाट घरको छाक टार्ने गरेका बताउँछिन् । ३ रोपनीमा ८ मुरी धान फलाउने गरेकी उनको खेतमा पनि यो पटक दाना लागेको छैन । वर्षभरीलाई पुग्ने धान फल्ने भएपछि हाइब्रिड रोप्न पल्केकी उनले यो पटक धानमा बाला नलागेपछि आफ्नो परिश्रम मात्र खेर गएको बताइन् ।

 

‘धान भित्र्याउने बेलामा खेतमा जाँदा दाना होइन भुस मात्र भेटियो । वर्षदिनको मेहनत र लगानी खेर गयो । विगतमा सधैं धानले वर्षदिन छाक टारिन्थ्यो । तर, यस वर्ष भुस मात्र फल्यो अब कसी छाक टार्ने ?,’  उनले चाणक्य पोष्टसँग भनिन्  । उनले भक्तपुर सूर्यविनाय एग्रोभेटबाट उक्त बीउ खरिद गरेकी थिइन ।

 

२०० रोपनीमा लगाइएको धानमा लागेन दाना

 

धानबाट ठगिने यी प्रतिनिधि किसान हुन् । उनीहरु जस्तै अहिले नगरकोट नगरपालिका ६ का ७० बढी किसान परिवारको हालत उस्तै छ । यहाँका किसानले २०० बढी रोपनीमा लगाएको धानामा दाना लागेको छैन । भुस मात्र फलेको छ ।

वाग्मती प्रदेशका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष विजय लामाले नगरकोट क्षेत्रमा तल्लो भेगदेखि माथिल्लो भेगसम्म सबै किसानले डीवाइ २८ हाइब्रिड (चाइनिज) बीउ लगाएको बताए । उनले उक्त बीउ लगाएका सबैको धानमा यो पटक बालामा दाना नलागेको बताए ।

 

२ सय रोपनी बढीमा लगाइएको धानको अवस्था यस्तो पाइएको हो । उनले नगरपालिकामा कुरा राख्दा नल्याउन् भनेको बीउ जबरजस्ती ल्याएको आफैं लगाउने अनि दाना लागेन भन्ने भनी किसानलाई उल्टै दोष लगाइएको उनले बताए ।

 

६ नं. वडाका अध्यक्ष सन्तबहादुर तामाङलाई मौखिक जानकारी दिए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए । ‘यताका एग्रो भेटले बीउ दिँदा बिल दिनै मान्दैनन्, कृषकहरूले पनि सधैं ल्याउने ठाउँ भनेर खासै बिल माग्ने गरेका छैनन, तर यो पटक बीउबाट उत्पादन भएको धानमा दाना लागेन, वडा अध्यक्षलाई मौखिक जानकारी त गराएका थियौँ तर, उहाँकै साथ पाएनौँ,’ लामाले चाणक्य पोष्टसँग भने । उनले नगरकोटको खुमलमा १३ रोपनीमा कृषि सहकारीले दिएको बीउ समेत बिग्रेको बताए ।

 

‘क्षतिपूर्ति दिलाउन पहल गर्दैछौं’

 

वडा अध्यक्ष तामाङले यस विषयमा किसानसँग छलफल भइरहेको बताए । उनले कृषि ज्ञान केन्द्र र नगरपालिकाले यस विषयमा सुनुवाई गर्नुपर्ने भन्दै मेयरसँग कुरा राखिसकेको बताए । अब औपचारिक रुपमा पत्र हस्तान्तरण गर्न बाँकी रहेको उनले बताए ।

‘क्षतिपूर्तिको विषयमा पनि हामीले नगरपालिकासँग कुरा गर्ने भनेका छौँ, किसानहरुको कुरा मेयससम्म पुर्याउने छौँ, मैले फोनमा अग्रिम जानकारी उहाँलाई दिइसके,’ तामाङले चाणक्य पोष्टसँग भने ।

 

नगरकोटका ६०/७० घरपरिवार धानबारीमा निर्भर रहेका छन् । २ सय रोपनीमा लगाइएको उक्त धानहरू खेर जाने भएपछि उक्त घरपरिवार मारमा परेका छन् । उक्त धान आफूलाई पुग्ने बाहेक बाँकी बजारमा बेच्ने गरिन्थ्यो । उक्त धानको चामल प्रतिकेजी ४३ रुपैयाँसम्म विक्री हुने गरेको कृषक बताउँछन् ।

 

२०० रोपनीमा हाइब्रिड धानका बालामा दाना नलाग्दा ४० लाख क्षती भएको तामाङले बताए । उक्त स्थामा २ हजार मुरी धान खेर गएको स्थानीयको भनाइ छ ।

 

काष्ठमण्डप बीउ कम्पनीले ल्याएको बीउ विभिन्न एग्रोभेटले जथाभावि रुपमा विक्री गरेको पाइएको छ । तराईका लागि स्वीकृत भएको बीउ भक्तपुरमा विक्री गरेका कारण बीउमा दाना नलागेको अनुमान गरिएको छ । तराई तथा भित्री मधेसमा विक्रीका लागि सिफारिस भएको उक्त बीउलाई भक्तपुरका एग्रोभेटले किसानलाई झुक्याएर विक्री गरेको पाइएको हो ।

हप्तादिन कुर्दा पनि जहाजको टिकट पाउन मुस्किल, भाडामा मनोमानी, ५ हजारबाट ८ हजार पुर्‍याए Read Previous

हप्तादिन कुर्दा पनि जहाजको टिकट पाउन मुस्किल, भाडामा मनोमानी, ५ हजारबाट ८ हजार पुर्‍याए

नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी