काठमाडौं । वेमौसमी वर्षाले धानखेतीमा जस्तै पुष्प व्यवसायमा पनि ठूलो क्षति पुर्याएको छ । फूल टिप्ने बेला हुनै लाग्दा वर्षा भएपछि व्यवसायीले बेहोर्नु परेको हो ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार यो वर्ष ३५ प्रतिशत पुष्पखेतीमा बेमौसमी वर्षाले क्षति पुर्याएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोख्रेलका अनुसार ३५ प्रतिशत पुष्प खेतीमा क्षति पुग्दा तिहारकै लागि आउने २ करोड मूल्य बराबरको ४ लाख फूलको माला नष्ट भएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पुष्पखेतीमा क्षति पुगेको छ । उक्त प्रदेशमा उत्पादित ७० प्रतिशत फूलमा क्षति पुगेको छ । लुम्बिनी प्रदेशबाट मात्रै तिहारका लागि २२ प्रतिशत माला बजारमा आउँथ्यो । त्यस्तै, वाग्मती प्रदेशका चितवन, मकवानपुर र धादिङमा २० प्रतिशत क्षति भएको छ , भने अन्य जिल्लामा भने न्यून क्षति भएको फ्यानले जानकारी दिएको छ ।
‘लुम्बिनी प्रदेशमा सबैभन्दा ७० प्रतिशत पुष्पखेतीमा क्षति पुगेको छ , त्यसैगरी, वाग्मती प्रदेशका चितवन, मकवानपुर र धादिङमा २० प्रतिशत क्षति भएको छ, अन्य जिल्लामा न्यून क्षति छ , समग्रमा हेर्दा बेमौसमी वर्षाले ३० देखी ३५ प्रतिशत पुष्प खेतीमा क्षति भएको छ,’ चाणक्य पोष्टसँग महासचिव पोख्रेलले भने ।
नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा करिब १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले पुष्प खेती गरिँदै आएको छ ।
स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि छिमेकी मुलुक भारतबाट ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । तिहारको पाँच दिन मात्र १८ लाख ६५ हजार कमर्सिएल माला विक्री हुने गरेको छ । ‘कतिपयले आफ्नो आवश्यकता पूरा गर्न आफैं माला उत्पादन गर्छन्, तिहारको ५ दिनमा मात्रै करिब साढे १८ लाख माला बिक्छन्,’ पोख्रेलले भने । अन्य सामान्य दिनमा भने देशभरी दैनिक १७ हजार माला खपत हुने गरेको छ ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाको कारणले उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ ।
‘यस वर्ष बजार माग बढेको छ, माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याउन लागिएको हो,’ पोख्रेलले भने ।
यस वर्षको तिहारको लागि १८ लाख ५० हजार मालाको माग रहेको बताइएको छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् ।
फूलको मूल्य बढ्ने
माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष फूल तथा मालाको मूल्य वृद्धि हुने बताइएको छ । मालाको मूल्य १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने व्यापारीहरुको अनुमान छ ।
यस वर्षको तिहारमा सयपत्रीको प्रतिमाला ८० देखि ९० रुपैयाँ सम्म पर्ने फ्यानले जानकारी दिएको छ । गत वर्ष तिहारको बेला एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँ थियो ।

लामो समयदेखि कोरोना भाइरस सङ्क्रमणका कारण दैनिक १ करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब ७० लाख रुपैयाँको कारोबार गर्न थालेको छ ।
मखमली भने निर्यात
पछिल्लो वर्षमा मखमली फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको भएता पनि गोदावारी फूलको आन्तरिक उत्पादनले धान्ने र मखमली फूलको माला भने अष्ट्रेलिया, युरोप र खाडी मुलुकमा गरेर तिहारको लागि १ लाख माला निर्यात हुँदै आएको पोख्रेलले जानकारी दिए ।
वार्षिक रुपमा अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष वेमौसमी वर्षाकै कारण उत्पादनमा कमी हुने भएको छ ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइरहेको छ । त्यस्तै, काठमाडौंको इचंगुनारायण ,भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बडिखेल क्षेत्र र कैलाली, पाल्पा, धादिङ्ग र इलाममा पनि मखमली फूलको व्यवसायीक खेती सुरु भएको बताइएको छ ।