३ जलविद्युत् आयोजनाले किनेर दिए सरकारलाई १३० रोपनी जग्गा

म्याग्दी । म्यागदीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन तीन जलविद्युत् आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना (उपलब्ध) गराएका छन् । आयोजनाले उपभोग गरेको वन क्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन् ।

 

३५ मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाटको प्रवद्र्धक तुँदी पावर कम्पनीले ९० रोपनी र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोपावरले ३० रोपनी जग्गा सट्टाभर्ना गरेका डिभिजन वन कार्यालयले जनाएको छ ।

 

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले तुँदीले धवलागिरि गाउँपालिका–६ मराङमा, रघुगङ्गा हाइड्रोपावरले रघुगङ्गा गाउँपालिका–३ र ५ मा जग्गा उपलब्ध गरेर वनलाई उपलब्ध गराएको जानकारी दिए। जलविद्युत् आयोजनाहरुले प्रयोग गर्ने सरकारी जग्गाको विकल्पमा सोही क्षेत्रफल बराबरको जग्गा उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था छ ।

 

यसैगरी कटान गरिएको एक रूख बराबर दस बिरुवा वृक्षरोपण गर्नुपर्ने र पाँच वर्षसम्म स्याहारसम्भार गरी हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । बिरुवा उत्पादन, वृक्षरोपण र हेरालुका लागि तुँदीले रु १४ लाख र दुई वन समूहका लागि रघुगङ्गा हाइड्रोपावरले वन डिभिजनलाई रु सात लाख ९६ हजार ६१३ उपलब्ध गराएको छ । राहुघाट जलविद्युत् आयोजनाले ५३८, अपर र मङ्गले राहुघाटले १५३ रूख कटान गरेका थिए ।रासस

निर्जीवन बीमाको प्रिमियम वृद्धिप्रति वाणिज्य महासंघको आपत्ति Read Previous

निर्जीवन बीमाको प्रिमियम वृद्धिप्रति वाणिज्य महासंघको आपत्ति

३ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

३ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?