काठमाडौं । सेयर बजार निरन्तर उकालो लागेको छ । आइतबारदेखि उकालो लागेको बजारमा लगातार चौथो दिन बढेको हो ।
पछिल्ला चार दिनमै नेप्से २१० अंकले बढेको छ । गत साता नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेपछि बजारमा सकरात्मक प्रभाव देखिएको लगानीकर्ताहरु बताउँछन् ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० अर्बले बढेर साढे ६ अर्ब नाघेको छ ।
सेयर बजार मापक सूचक नेप्से आज १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको छ । यसदिन २२८ कम्पनीको ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटामध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह ०.६८ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका २२८ कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, आइसीएफसी फाइनान्स झन्डै २१ करोड र एनआइसी एशिया बैंक साढे १९ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज बेस्ट फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ । यस्तै, एनआइसी एशिया लघुवित्त ७.२१ प्रतिशत, गुह्येश्वरी मर्चेन्ट, मानुषी लघुवित्त र गरुाँस लाइफ इन्स्योरेन्सको मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।
यस्तै, लुम्बिनी जनरल, नारायणी विकास बैंक, राधी विद्युत्, मितेरी डेभलपमेन्ट बैंक, साधना लघुवित्त र नेपाल हाइड्रोका सेयरधनीले ५ प्रतिशतभन्दा धेरै कमाएका छन् । बढ्दो बजारमा आज एभरेष्ट बैंकका प्रिफरेन्स सेयरधनीले भने सबैभन्दा धेरै ५.२४ प्रतिशत गुमाएका छन् ।