काठमाडौं । विद्युतीय तार भूमिगत गर्ने काम सुस्त भएको छ । ठेक्का अवधि सकिनै लाग्दासम्म एकतिहाई भन्दा केही बढी मात्र काम पूरा भएको हो ।
यही मंसिरसम्म विद्युतीय तार भूमिगत गरिसक्नु पर्ने भए पनि हालसम्म करिब ४० प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सरकारले ३० महिना भित्र सम्पन्न हुने २०७६ फागुनदेखि काठमाडौंको महाराजगञ्ज र रत्नपार्क खण्डका विद्युतीय तार भूमिगत गर्ने गरी आयोजनाको सुरूआत गरेको थियो ।
प्राधिकरणका प्रवक्ता सुरेन्द्रबहादुर भट्टराईले कोरोनाका कारण काममा ढिलाइ भएको बताए । ‘कोभिड तथा वर्षाका कारण विद्युतीय तार भूमिगतले गति लिन नसकेको, उनले चाणक्य पोष्टसँग भने ।
अब आगामी वर्ष २०७९ पुष महिना भित्र सम्पन्न गर्ने गरी आयोजनाले फेरि गति लिन थालेको उनको भनाइ छ । ‘केही अघि कोभिडले असर पार्यो फेरी लगातार वर्षाले ३ महिना जति असर पार्यो यतिकैमा म्याद पनि सकियो, हामीले १५ महिनाका लागि म्याद थप गरेका छौं, अब तीव्र गतिमा काम हुन्छ, समयमै आयोजना सम्पन्न गर्ने छौं ,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।
उनले रत्नपार्क र महाराजगञ्ज क्षेत्रका निर्माणको काम धमाधम भइरहेको र तोकिएको समयमै सम्पन्न गरिने दाबी गरे । तार भूमिगत गर्ने काम २ चरणमा भइरहेको छ । पहिलो चरणको आयोजना अन्तर्गत रत्नपार्क–बानेश्वर खण्डमा काम भइरहेको छ । दोस्रो चरणमा महाराजगञ्ज आयोजनामा काम भइरहेको छ ।

महाराजगञ्ज खण्डमा कुल ६५० किलोमिटर केवल लेन्थीङ कार्य गर्नुपर्नेमा कुल ३५ प्रतिशत मात्र सम्पन्न भइसकेको महाराजगञ्ज योजना प्रमुख अविशेक अधिकारीले जानकारी दिए । उनले ६३४ किलोमिटरमा पाइप हाल्नलाई स्वीकृत भइसकेको बताए । हाल सो मध्ये ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
उनले सांग्रीला होटल, महाराजगञ्ज, लैनचौर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम सम्पन्न भइसकेको बताए । बाँसबारीदेखि बुढानिलकण्ठ क्षेत्रमा समेत तार भूमिगतको काम सम्पन्न भइसकेको छ । हाल महाराजगञ्ज–बुढानिलकण्ठ क्षेत्रमा साढे १ किलोमिटर हाराहारीमा विद्युतीय तार भूमिगत गर्ने काम बाँकी रहेको उनले बताए ।
महाराजगञ्जदेखि नारायण गोपाल चोकमा रोड परमिट नपाएका कारण विद्युतीय तार भूमिगतको काम अघि बढ्न नसकेको उनले जानकारी दिए । परमिट पाएको केही समयमै उक्त स्थानमा समेत भूमिगतको काम सुरू गरिने बताए ।
विद्युतीय तार भूमिगत गत गर्ने क्रममा कालोपत्रसम्मको भौतिक निर्माण समेत गर्नुपर्ने भएकाले काममा ढिलाइ भइरहेको उनले खुलाए । उनले वर्षाका कारण भूमिगत गरिसकेका स्थानमा कालोपत्रको तयारी भइरहेको बताए ।
‘हामीले तार मात्र राख्ने हैन, तार राखेपछि खनेको ठाउँमा बाटो जस्ताको तस्तै कालोपत्रसम्म बनाउनु पर्छ, त्यसले अहिले अलि ढिला भएको हो, तार भूमिगत गरेका स्थानमा पिचको काम हुन बाँकी छ, बेस बनाउने काम सबै सकिसकेका छौं,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।
यस्तै ललितपुर, भक्तपुर, पोखरा, भरतपुर लगायतका क्षेत्रमा विद्युतीय तार भूमिगत गराउन ठेक्का प्रक्रिया सुरू भइसकेको उनले जानकारी दिए ।

उपत्यकाको ४ सय किलोमिटर क्षेत्रका १ लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरिएको थियो ।
उपत्यका भरी विद्युतीय तार भूमिगत गर्ने तयारी
विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका भरी विद्युतीय तार भूमिगत गर्ने तयारी गरेको छ । ११ वटा वितरण केन्द्रमध्ये २ वटा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका विद्युतीय तार भूमिगतको काम भइरहेको छ ।
भक्तपुर र ललितपुरका २/२ वटा वितरण केन्द्रका विद्युतीय तार भूमिकगतका लागि ठेक्का मूल्यांकनको चरणमा रहेको छ । अन्य ५ वटा वितरण केन्द्रहरूका लागि विद्युतीय तार भूमिगत गर्न ठेक्का हस्तान्तरण भइसकेको छ ।
कुलेश्वर, बालाजु, जोरपाटी, कोटेश्वर लगायतका विभिन्न ५ स्थामा विद्युतीय तार भूमिगत गर्न भारतीय कम्पनी लासान एण्ड टर्भो लिमिटेड कम्पनीलाई ठेक्का दिइएको हो ।
महाराजगञ्ज र रत्नपार्कमा तार भूमिगत गर्न छुट्टा छुट्टै ठेक्का गरिएको छ । दुबै ठेक्काका लागि कूल पौने ७ अर्ब रुपैयाँ लगानी रहेको छ । महाराजगञ्जमा सबा ३ अर्ब र रत्नपार्कमा साढे ३ अर्ब खर्च लाग्ने भएको छ ।
अब उपत्यका भित्र पूरै तार भूमिगत गर्न ११ अर्ब रुपैयाँको हाराहारीमा लगानी लाग्ने अनुमान गरिएको छ । हालसम्म विद्युतीय तार भूमिगतका क्रममा ३० प्रतिशतका हाराहारीमा खर्च भइसकेको जनाइएको छ ।
विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।