जसले रुखको जरा देख्नै हुन्न, अद्भूत कलामा उतारिहाल्छन्, बनाए घरमै संग्राहलय (फोटोफिचर)

सिन्धुली । दशैंमा अन्य समयभन्दा लामो विदा मिल्ने भएकाले जो कोहीको लागि घुम्ने उचित समय पनि हो । मेरो पनि सधैं घर ( दूधौली, सिन्धुली) जाँदा बाटोमा पर्ने सिन्धुलीगढी युद्ध संग्राहलय र जर्बुटा कला केन्द्र घुम्न रहर बाँकी नै थियो ।

 

जहिले पनि घर जाँदा आउँदा ती ठाउँलाई भने मनमै सम्झेर हिँड्थें । तर, यस पटकको दशैंमा भने अरू कामलाई थाँति राख्दै आफ्नो रहर पूरा गर्न तिर लागेँ ।

 

दशैंको टीकापछि केही साथीसहित म सिन्धुलीगढी युद्ध संग्राहलय र जर्बुटा कला केन्द्र घुम्न निस्कें । बेमौसमी वर्षाले मेरो यात्रामा धक्का दिइरहेको थियो । तर, त्यसको पर्वाह नगरी हामी अघि बढ्यौं ।

पहिला हामी सिन्धुली गढी युद्ध संग्राहलय पुग्यौं । सिमसिम पानी, कुहिरोले ढपक्क ढाकेको वातवरण, अनि हामी तीन जना साथी मौसम चिसो भएपनि एकदमै रमाइलो साथ गढी घुम्यौं, हामी मात्र नभएर त्यहाँ उपस्थित कसैले पनि झरी र चिसोको पर्वाह नगरी रमाउँदै फोटो, भिडियो खिच्यौँ । लगभव ४ घण्टाको गढी बसाइपछि हामी जर्बुटा कला केन्द्र (कमलामाई नगरपालीका ४, ढकालगाँउ, सिन्धुली) तिर लाग्यौं ।

 

एउटै कोठामा विश्व

 

सामाजिक सञ्जालमा कहिलेकाहि देखे, सुनेको सिन्धुली जर्बुटा कला केन्द्र कस्तो होला सोच्दै हामी गाडीबाट झरेर पुनःअटो चढेर अघि बढ्यौं । अटोबाट झरेर पनि २० मिनेट हिँडेपछि बल्ल हामी जर्बुटा कला केन्द्र पुग्यौं । कला केन्द्र भनेपछि टिकट काटेर जाने ठाउँ होला सोचेको म जम्मा एउटा कोठामा विश्व नै अटाएको देख्दा छक्क परे । मैले सोचे भन्दा धेरै फरक थियो कला केन्द्र ।

 

बेमौसमी वर्षाले निथ्रुक्क भिजेको सफा, सुन्दर र निलो गगनको मुनि आँगन र पेटीबाटै यो घरमा केही विशेष छ भन्ने महशुस त्यहाँ पुग्नै सबैले गर्न सक्छन् ।

हामी घरमा पुग्यौं, तपाईंंहरूले कसलाई खोज्नु भएको हो ? एक डोरीवाला चस्मा लगाएका , झुस्स धारी भएका व्यक्तिले घरको बरन्डाबाटै सोधे । हामी जर्बुटा केन्द्र हेर्न आएका हाम्रो जवाफ थियो । आँगनमै सुन्दर आकृति भएकाले हेर्न लाएक थियो, केही समय मान्छे नआउँदा पनि रमाउन सकिने गरी ।

 

यसो भित्तामा हेरे ‘संग्राहलय शनिबार बाहेक हरेक बिहान १० बजेसम्म र बेलुका ४ बजेपछि मात्र खुल्ला रहनेछ ।’ सूचना हेरेपछि मन अलि खिन्न भयो, यत्रोबाटो आइयो, संग्राहलय हेर्न नपाइने रहेछ भन्ने भयो ।

 

एकैछिनमा तिनै झुस्सदारीवाला (विश्वम्भर लामिछाने) हामी पनि घरमा थिएनौं, केही समय अघि मात्र आएका हौं, तपाईंहरू कहाँबाट आउनु भयोभन्दै हाम्रो अगाडी आइपुगे । सामान्य परिचयपछि उनले ढोका खोले । एउटा कोठा भित्र के संग्राहलय होला र खासै केही रहिनरैछ क्यारे भन्ने सोचेकी थिएं । तर ढोका भित्र पसेपछि पो एउटा कोठा भित्र के होला सोचेकी मैले विश्व नै एउटा कोठामा देख्दा छक्क परे ।

 

शब्दचित्रमा वयान गर्न नसकिने कला

 

‘यहाँ फोटो /भिडियो खिच्न पाइन्छ, तर छुन पाइँदैन,’ ती झुस्सदारीवालले फेरि भने । त्यस्तो अद्भूत कला न त्यसलाई फोटोमा खिच्न सकिन्छ न भिडियोमा नै । ३५० भन्दा बढी विभिन्न रुखका जराबाट बनाइएका फरक फरक आकृति साँच्चै मन लोभ्याउने छन् ।

 

जसरी एउटा मान्छेको अनुहार अरू मान्छेसँग ठ्याक्कै मिल्दैन् नि हो त्यस्तै, ती सबै आकृति फरक फरक छन् । ‘एउटा कला तयार भइसकेको पछि त्यही भाव र प्रकृतिको अर्को कला सृजना गर्न सकिँदैन यी सबै फरक छन्’ उनले भने ।

सिन्धुली, कमलामाई नगरपालीका ४, ढकालगाँउ जहाँ जर्बुटा कला संग्राहलय मात्र रहेनछ । त्यहाँ त स्वर्गको सानो टुक्रा नै रहेछ । विश्वम्भर लामिछानेको घर, घर मात्र नभएर एउटा कोठामै अटाएको विश्व हो । रुखको जरामा छिनो हान्दै कला भर्दै÷खोज्दै अगाडि बढिरहेका छन्, कुशल साधक लामिछाने ।

 

को हुन लामिछाने ?

 

वि.सं. २०१८ सालमा आमा हरिप्रिया र बुबा तारानाथ लामिछानेका कान्छा छोराका रूपमा जन्मिएका विश्वम्भर लामिछानेले कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

 

त्यस्तै, जीवनको उर्वर समयमा देश र जनताको लागि भन्दै प्रगतिशिल आन्दोलनमा बिताए । विद्यार्थी कालदेखि सक्रिय राजनीति गरेका लामिछाने २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको तर्फबाट आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य समेत उठे ।

राजनीतिसँगसँगै सामाजिक संघ संस्थामा पनि काम गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको सभापति समेत बने । राजनीति र समाजसेवा सँगसँगै उनी वकालती पेशा पनि गरिरहेका छन् ।

 

उनको कुनै पनि कला कुनै मूल्य लिएर वा उपहारको रूपमा दिन वा लिन नसकिने छन्, त्यसैले त उनी भन्छन्, ‘यी कला मूल्य लिएर बेच्न वा उपहारमा दिन सकिँदैन, धित मरुञ्जेल हेर्न पाइन्छ, फोटो खिच्न पाइन्छ ।’

 

यसरी मोडियो जीन्दगी

 

भनिन्छ ,जिन्दगीमा सफल हुन सानै कुराले पनि बाटो देखाउँछ । अनि सानै ठक्करले पनि मान्छे परिश्रमी र परिपक्क बनाउँछ । हो, यही कुरा लागू हुन्छ लामिछानेको जीनवमा पनि ।

उनी रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको सभापति भएकै बेला घरमा आमा बिरामी भइन् । बिरामी लिन एम्बुलेन्स गयो, तर घर पुग्ने बाटो थिएन् । बिरामी मान्छेले बोकेर बाटोसम्म ल्याए । केही दिनपछि अफिसका कर्मचारीले गाईँगुँई गफ गर्दै गरेको उनले सुने सभापतिको घर जाने बाटो नै रहेनछ । यो वाक्यले उनलाई निक्कै ठूलो ठक्कर दियो ।

 

भोली पल्टबाट उनले बाटो खन्न सुरू गरे । राम्रो र अति आवश्यक काम भएकाले सबैले साथ सहयोग गरे । बाटो खन्दै जाँदा एउटा बुढो रुखको जरा भेटियोे, तर त्यसको जरा अलि अनौठो प्रकारको थियो रे । उनले त्यसलाई घर लगे । टक्टकाए, आफू नुहाउँदा त्यसलाई पनि नुहाए, जरा सफा भएपछि उनले त्यो जरामा मान्छेको छायाँ देखे । त्यसपछिको अनुसन्धानपछि त्यसलाई मिलाउँदै जाँदा फलस्वरूप त्यसले केही चिजको आकृति लियो । उनी दङ्ग परे । ‘त्यो जरालाई निकै समय नियालेर हेरे, कता कता त्यो जरा जरा नभएर मान्छेको छायाँ जस्तो लाग्यो त्यो जरा नै मेरो पहिलो कला हो,’ उनले भने

घरका अरू सदस्यलाई पनि देखाए । सबैले राम्रो माने त्यसले उनमा हौसल्ला थप्यो । त्यसपछि नै उनले जरा जर्बुटामा आकृति हुँदो रहेछ भन्ने ज्ञान पाए । त्यो जरा नै उनको जीवनको सबैभन्दा ठूलो सम्पति बन्न पुग्यो । उक्त कला अहिले पनि उनको संग्राहलयमा जेठो कलाको रूपमा जीवन्त छ ।

 

त्यसपछि भने अरूलाई सामान्य लाग्ने जरालाई उनले नियाल्न थाले । जर्बुटा खोज्न थाले । हेर्न थाले । वर्षा मासमा भेल बाढीले बगाएर ल्याएका जरर्बुटा जम्मा गर्न थाले । यसरी सुरू भएको उनको जर्बुटा कला संग्राहलयमा सुरज्जित छन् । आम मान्छे एउटा सुकेको जरालाई जरादेख्छ र आगो बाल्न प्रयोग गर्छन् तर उनी त्यही जराबाट विश्व दर्साउन सक्छन् ।

 

तर उनी जर्बुटा खोज्नकै लागि समय भने छुटाउँदैन्न् रे । भन्छन् जुन अवस्थामा भेट्छन् टिपेर हिँड्छन् रे । ‘कुन जराले कस्तो रूप दिन सक्छ पाँच सेकेन्डमा पत्ता लगाएर टिप्छु, मेलै धेरै पटक यात्रामा पिसाब फेर्न गाडी रोकेको समयमा पनि जरा टिपेको छु , अरूको घरमा पाहुँना जाँदा पनि ध्यान चाहिँ दाउराको हारमै जान्छ कतै जरा छन् कि’ उनले प्रष्ट पारे ।

 

आफ्नो कलामा श्रीमतीको कविता

 

हरेक व्यक्तिको सफलताको पछाडि कसै न कसैको हात हुन्छ, तर लामिछानेको सफलताको पछाडि उनको सबै परिवारको देन ठूलो छ । ‘मेरो सफलतामा परिवारकै ठूलो हात छ । मैले आकृति दिएका हरेक कलामा श्रीमतीले कविता लेख्ने गर्छिन्, यहाँभन्दा सहयोग के हुनु, मेरा कलामै अधारित भएर श्रीमतीले ‘बुढो रुखको प्रतिबिम्व’ नामक कविता सँग्रह नै प्रकाशित गरेकी छन्,’ उनले भने । आवश्यकता अनुसार घरपरिवारबाट सबैको साथ सहयोग रहेकाले कला उतार्न सम्भव भएको लामिछानेको भनाइ छ ।

 

पैसा खर्च नै हुँदैन

 

विगत ३० वर्षदेखि जर्बुटामा आकृति बनाउन सक्रिय रहेका लामिछाने न कसैले आर्थिक सहयोग गर्न चाहँदा लिन्छन् न सहयोगको लागि आग्रह नै गर्छन् । ‘उल्टै भन्छन् जंगलमा जर्बुटा पाइन्छ, ल्याएर यसो खुर्किन्छु, अलिअलि रंग त लगाउने हो खर्च के नै हुन्छ र,’ उनले सहज जवाफ दिए ।

मान्छे जन्मेपछि समाजको लागि केही दिउँ भन्ने हुन्छ, मैले जर्बुटाबाट पनि केही बनाउन सकिन्छ भन्ने देखाउन सके, तर यो कला कसैलाई सिकाउँ भनेर सिकाउन भने नसकिने रहेछ, उनले भने । उनी घन्टौंसम्म ती नै जर्बुटासँग कुरा गरेर पनि बस्छन् रे । ‘ यी जर्बुटासँग पनि म मान्छेसँग जस्तै घण्टौं कुरा गर्न सक्छु । ’ हाल उनी आमाको श्राद्ध गर्न जादाँ भेटिएको एउटा जरालाई जीवन्त रूप दिन लागि परेका छन् । भन्छन् भर्रखरै ल्याएको छु, केही समय सोच्छु, कुरा गर्छु अनि के बनाउने भन्ने निश्चित गर्छु,’ उनले भने । उनका संग्राहलयमा भएका आकृति बनाउन एक हप्तादेखि ६ महिनासम्मको समय लागेको समेत उनले बताए ।

 

उनको संग्राहलयमा भएका कलाहरू फरक फरक विषयवस्तु, विम्व, भाव र प्रकृति बोक्न सफल र सक्षम देखिन्छन् । आजभन्दा ३० वर्ष अघि सुरू भएको लामिछानेको जर्बुटा कला केन्द्रमा जर्बुटा कला धर्म ग्रन्थहरूमा वर्णित कथाहरू, आर्थिक, सामाजिक, सांस्कृतिक, बाइसे, चौबिसे राज्यहरूको एकीकरण, राणा शासन, देशले भोगेको विषम परिस्थिति, बदलिंदो राज्य व्यवस्था, विशिष्ठ व्यक्तिहरू, देश प्रेम, मातृत्व प्रेम, युवा युवतीमा सृजना हुने कामुक यौनावेग (प्रेम), मानव मस्तिष्क, शिव लिङ्ग, विभिन्न देविदेवताका बाहानहरू र विम्बात्मक सृजनाहरूले संग्राहलय हेर्न र अध्ययन गर्न लायक छ ।

त्यसैले त उनी भन्छन्, ‘मानव जातिको सृष्टि भएदेखि आजसम्म आइपुग्दा भएका हरेक घटनालाई प्रस्तुत गरेको छु यी सबै आकृतिले  के बोल्न सक्छन् ।’ हाल उनको संग्राहलयमा ३५० बढी कला संग्रहित छन् ।

 

प्रदेश सरकारको ५० लाख सहयोग

 

जर्मन र चीनले हजार वर्ष पहिले सुरू गरेको जर्बुटा कला तेस्रो देशको नाममा नेपालले बनायो भन्ने बनाउन सकेको उनले प्रष्ट पारे । त्यसैले त वाग्मती प्रदेशको सरकारको सहयोगमा छिट्टै उनको कोठे संग्राहलयलाई पूर्णता दिने घोषणा गरेको छ । जसको लागि वाग्मती प्रदेशको ५० लाख सहयोगमा उनको आफ्नै जग्गामा छिटै संग्राहलय बन्दै छ ।

 

उनको कलाले विभिन्न समय र घटना क्रमको उजागर गरेका छन् । जसका कारण इतिहास पढ्न र बुझ्न चाहनेहरूका लागि यो एउटा विशाल पाठशाला पनि हो । उनका सबै जसो कलामा शीर्षक राखिएको छ । जसका कारण हामी आफैंले पनि कलाको सामान्य आशय बुझ्न सक्छौं ।

यसरी उनका कलाले फरक फरक विषयवस्तु, भाव र विम्वको उजागर गरेका छन् । नारी संवेदना, प्रसव वेदना, मानव चित्कार, युद्धको त्रास, प्राकृतिक सौंन्दर्यको बर्णन, वातावरण विनास, इतिहास र इतिहासकारहरू, समसामयिक राजनीतिक परिवेश उनका कलामा पाइने प्रमुख विशेषता हुन् ।

 

उमेरका हिसाबले छ दशक काटेका लामिछानेको दैनिकी, ऊर्जावान बोलि वचन र व्यवहार हेर्दा लाग्छ उनी नवजवान नै छन् । संग्राहलय अवलोकन पश्चात् आफूलाई मनमा लागेको कुरा तत्कालै व्यक्त गर्न पाइन्छ । जसका लागि संग्राहलयको ढोकै नजिकै रजिष्टर र पेन राखिएको छ । यसमा आफूलाई लागेका अभिव्यक्तिहरू सजिलै व्यक्त गर्न सकिन्छ ।

 

संग्राहलयमा पुगेपछि तपाईंलाई निस्किन मन लाग्दैन, यदि सिन्धुली जर्बुटा संग्राहलय जाँदै हुनुहुन्छ भने लामो समय लिएर जानुस् है, ता कि तपाईंलाई बसौंबसौं लाग्दा लाग्दै हिँड्न नपरोस् । यस्तो, अद्भूत कला मनमा यस्तो शान्ति छाउँछ कि शब्दमा व्यक्त नै गर्न सकिँदैन ।

एनआइसी एशिया लघुवित्तको नाफा साढे दुई गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ? Read Previous

एनआइसी एशिया लघुवित्तको नाफा साढे दुई गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

नेपालमा लगानी आकर्षण गर्न लगानी बोर्ड र महासंघबीच सहकार्य हुने Read Next

नेपालमा लगानी आकर्षण गर्न लगानी बोर्ड र महासंघबीच सहकार्य हुने