मध्यपहाडी लोकमार्ग : १३ वर्षमा आधा मात्रै काम पूरा, अझै कम्तीमा ३ वर्ष म्याद थप्नुपर्ने

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्ग तोकिएकै समयमा निर्माण पूरा नहुने भएको छ । निर्माण अवधि डेढ वर्ष मात्र बाँकी रहँदा करिब आधा मात्र पूरा भएकाले समयमै सम्पन्न नहुने भएको हो ।

 

पछिल्लो पटक थपिएको म्याद अनुसार लोकमार्ग आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, अझै ४२ प्रतिशत काम बाँकी रहेकाले निर्धारित मितिमा नसकिने देखिएको हो ।

 

आयोजनका अनुसार हालसम्म करिब ५८ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको डेढ दशक बित्न लाग्दा करिब आधा मात्र काम सकिएपछि फेरि म्याद थप्नु पर्ने देखिएको हो ।

 

सडक आयोजना २०६४/६५ देखि सुरु भएको हो । सुरुमा २०७४/७५ सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको थियो । सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०७९/८० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको थियो । सो अनुसार अब निर्माण सम्पन्न म्याद सकिन डेढ वर्ष बाँकी रहेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले विभिन्न समस्याका कारण पुष्पलाल लोकमार्ग तोकिएको समयमा नसकिने बताए । उनले बजेट अभाव, कोरोना, बाढीपहिरो, लगायत कारण निर्माण सम्पन्न नहुने देखिएको उनले बताए ।

 

‘लोकमार्गको तोकिएको समयमा काम पूरा हुने देखिँदैन्, उनले भने, ‘अब करिब डेढ वर्षमा झन्डै आधा काम पूरा हुन सक्दैन । फेरि निर्माण अवधि थप्नुपर्ने देखिन्छ ।’

 

अझै २३६ किलोमिटर ठेक्का लाग्न बाँकी

 

राजमार्ग अन्तर्गत २३६ किलोमिटर सडकको ठेक्का व्यवस्थापन अहिलेसम्म भएको छैन । कुल १ हजार ८७९ किलोमिटर मध्ये हालसम्म १ हजार १०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।

 

यस्तै, हालसम्म धादिङ, कास्की, काभ्रे लगायत जिल्लाका विभिन्न खण्डमा राजमार्ग कताबाट लैजाने भन्ने अझै टुंगिएको छैन । साथै, प्रस्तावित सुनकोसी र बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने सडकको रेखांकन समेत भएको छैन ।

 

सांसद गणेशकुमार पहाडीले लोकमार्ग केही बन्ने क्रममा भए पनि २३६ किमी सडक ठेक्का नलाग्दा तोकिएको समयमा सकिने अनिश्चित रहेको बताए । उनले समय थपेको थपै भए पनि अहिले सम्म निर्धारित समयमा निर्माणको काम सकिन नसकेको आरोप लगाए । उनले म्याद थप गरेपछि बाँकी काम कति समयमा सकिने यकिन बताउन समेत माग गरेका थिए ।

 

‘निर्माणका लागि म्याद मात्र थप्ने भने जस्तो काम नगर्ने चलन हाम्रो ठेकेदारहरुमा छ, कि सकिँदैन भने पहिल्यै यति अवधिमा सकिँदैन भन्नु पर्यो, हैन भने म्याद थपेर ढुकुटि रित्याउने काम गर्नुभएन,’ पहाडीले भने ।

 

चालू वर्ष भित्र ठेक्का लगाइने

 

विभागका महानिर्देशक थापाले उक्त ठेक्का व्यवस्थापनको काम चालु आर्थिक वर्षभित्र सम्पन्न हुने बताए । उनले निर्माण सम्पन्न गर्नका लागि अझै २ वर्ष अवधि थप्नु पर्ने अनुमान गरिएको बताए ।

 

‘ठेक्का पट्टा चालु आवमै सक्छौं, त्यसपछि एक वर्ष बाँकी हुन्छ, त्यसमा निर्माण सम्पन्न गर्न सम्भव छैन, सरासर काम गर्ने हो भने कम्तीमा ३ वर्ष म्याद थप गर्नुपर्छ,’ थापाले भने ।

 

हालसम्म कति काम भयो ?

 

हालसम्म आयोजनाको करिब ५८ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीयतर्फ ६३ प्रतिशत प्रगति भएको छ ।

 

आयोजना अन्तर्गत कुल १ हजार ८७९ किलोमिटर लम्बारई रहेको छ । सो मध्ये ११ सय किलोमिटर सडक निर्माणको काम भइसकेको छ । १२९ पुल  निर्माण गर्नुपर्ने  हालसम्म ९० वटा बढी पुल निर्माण सम्पन्न भएको छ ।

 

गत आर्थिक वर्षका लागि पुष्पलाल लोकमार्ग निर्माणमा ८ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत आवमा ७ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खर्च भएको हो । आयोजनाको कुल लागत बजेट १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।

मंसिरदेखि २० युनिटसम्म बिजुली छुट, यस्तो छ घटेको महसुल (सूचीसहित) Read Previous

मंसिरदेखि २० युनिटसम्म बिजुली छुट, यस्तो छ घटेको महसुल (सूचीसहित)

नेप्सेमा निरन्तर उछाल, यी १८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा निरन्तर उछाल, यी १८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट