ड्राइभिङ लाइसेन्स आवेदन खुल्यो, अनलाइनबाटै यसरी भर्नुहोस् फारम

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन आजबाट खुलेको छ । कोभिड १९ को दोस्रो लहरका कारण वैशाखदेखि बन्द रहेको लाइसेन्स आवेदन आजबाट खुल्ला गरिएको हो ।

 

यातायात व्यवस्था विभागले झण्डै ७ महिनापछि ड्राइभिङ लाइसेन्सको आवेदन खुलाएको छ । विभागले आजबाट नियमित रुपमा अनलाइन फारम भर्न सकिने जनाएको छ । लाइसेन्स फारम रोकिएकै कारण धेरै नयाँ सवारी चालकहरुले लाइसेन्स पाउन सकेका थिएनन् ।

 

यातायात व्यवस्थापन विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएको उनले बताए ।

 

उनले सुरुमा परीक्षा दिन नपाएका पुराना आवेदकलाई प्राथमिकता दिइने र पछि नयाँ आवेदकलाई प्राथमिकता दिइने बताए । ‘दैनिक कोटा बनाएर आवेदन लिने छौं , परीक्षा मिति भने पुराना आवेदकलाई पहिला प्राथमिकता दिइने छ, त्यसपछि नयाँको पालो आउनेछ,’ उनले भने ।

 

नयाँ फारम भर्नेलाई नयाँ प्रणाली अनुसार नै परीक्षा लिइने विभागले जनाएको छ ।  लिखित परीक्षामा ४/४ नम्बरका २५ प्रश्न सोधिने छ । नयाँ व्यवस्था अनुसार १०० नम्बरको लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । विभागले परीक्षाका लागि ५ सय वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ । प्रयोगात्मक परीक्षामा पास हुन ७० अंक ल्याउनु पर्नेछ ।

 

यसरी भर्नुहोस् अनलाइबाटै फाराम

 

१. सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेबसाइट  https://www.dotm.gov.np/ खोल्नुहोस् ।

 

२. पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

 

३. त्यसपछि नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

 

४. त्यसपछि एउटा फाराम खुल्छ । मागिएको सबै विवरण भरी सबमिट गर्नुहोस् । त्यो सफल भएपछि तपाईंले अफिस भिजिट गर्ने मिति तोकिएको हुन्छ । र, सो मितिमा सम्बन्धित कार्यालयमा जानुपर्नेहुन्छ ।

 

सुकेटारमा निगमको तीन उडान कटौती, कति छ भाडादर ? Read Previous

सुकेटारमा निगमको तीन उडान कटौती, कति छ भाडादर ?

मंसिरदेखि २० युनिटसम्म बिजुली छुट, यस्तो छ घटेको महसुल (सूचीसहित) Read Next

मंसिरदेखि २० युनिटसम्म बिजुली छुट, यस्तो छ घटेको महसुल (सूचीसहित)