काठमाडौं । नेपाली नेताहरूको ठस्सा (रवाफ) उल्कै छ भनेर पत्रकार किशोर नेपालले हालै सामाजिक सञ्जालमा लेखेका थिए । यी नेताहरूको पैसाको लोभ ५-७ करोड रुपैयाँको भन्दा धेरैको छैन । त्योभन्दा माथिको सपना देख्ने उनीहरूको पृष्ठभूमिले दिँदैन भन्छन् पत्रकार नेपाल ।
तर, ठस्सा भने सानो छैन । अमेरिकाका राष्ट्रपतिको पछाडि जुनसुकै बेला सेना देखिँदैन । तर नेपालका नेताहरू पुलिस वा आर्मीलाई आफ्ना पछिल्तिर उभ्याइराख्छन् । यसलाई अति नसुहाउँदो ठस्साको रूपमा पत्रकार नेपालले लेखेका छन् ।
म हिँडेर मन्त्रालय पुग्नै लाग्दा मन्त्रीको गाडी पनि त्यहीँ आएर घ्याच्च रोकियो । मन्त्री यादव एउटा मोड गाडी चढेर आएकी रहिछन् । १२–१५ सेकेण्ड जति गाडी चढिन् होला । चढ्नु र ओर्लनुको लेठो मात्र के गरेको होला । मेरो मनमा कुरा खेल्यो ।
नेताहरूको ठस्सा यसका अलावा अन्य स्वरूपमा पनि अभिव्यक्त भइरहन्छन् । मूलतः उनीहरूको ठूस्सा गाडीमा पनि देखिन्छ । उनीहरू गाडीको साह्रै लोभी देखिन्छन् । बेलाबखत राम्रा गाडी उपलब्ध नगराएको भन्दै कर्मचारीलाई नेताले कुटेको समाचारहरू हामीले नपढेको होइन । सार्वजनिक पदमा भएका नेताहरू उक्त पदबाट बाहिरिएपछि पनि गाडी फिर्ता नगर्ने परिपाटी पनि नेपालमा नयाँ होइन ।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको ठस्सा मैले हिजो (आइतबार) आँखै अगाडि देखें । उनी वल्लो भवनबाट पल्लो भवनसम्म जान पनि गाडी चढिन् । सुरक्षाकर्मीले गाडीको ढोका खोलेर उनलाई चढाए । केही सेकेण्ड गाडी गुड्यो अनि फेरि सुरक्षाकर्मीले उनलाई गाडीबाट ओराले ।
यी मन्त्रीको गजबको ठस्सा देखियो त्यहाँ । नेपाली राजनीतिमा नयाँ अनुहार पनि होइन रेणुकुमारी यादव । तर पनि !
अहिले सरकारले सार्वजनिक सवारीको भाडा दर बढाएर २० रुपैयाँ पुर्याएको छ । चढ्यो कि २० रुपैयाँ तिर्न पर्ने हुनाले म ४–५ किलोमिटरको दूरी त हिँड्नै रुचाउँछु ।
रिर्पोटिङको लागि सिंहदरबार जानु थियो । केही मिनेट टेम्पो कुरें । लोभी मन, फेरि त्यही २० रुपैयाँ सम्झें । अनि हिँडे लखर लखर । मेरो लागि वानेश्वर बाट सिंहदरबारसम्म हिँडेर जानु खासै ठूलो कुरा होइन ।
हिजो विकास तथा प्रविधि समितिको छलफल रहेको थियो सिहंदरबारमा । त्यसै छलफलमा भाग लिन भौतिक विकास तथा यातायात मन्त्री रेणुकुमारी यादव पनि आएकी थिइन । १२ बजेदेखि शुरु भएको उक्त छलफल कार्यक्रममा मन्त्री यादव भने अन्य मिटिङका कारण डेढ घण्टा ढिला नै आएकी थिइन् । समयमै आयो भने त मन्त्री भएको के अर्थ भयो र ? नेपालका ‘ठूला मान्छे’हरूले देखाउने सदावहार ठस्सा देखाउन मन्त्री यादव पनि किन चुक्थिन र ?
छलफल पौने ३ बजेसम्म चलेको थियो । मन्त्री यादवको एउटा अन्तर्वार्ता लिनुपर्ने काम मैले पाएको हुँदा म उनको सम्पर्क नम्बर लिन भनेर उनी बाहिर निस्किनु अघि नै म बाहिर उनको प्रतिक्षा गरिरहें ।
उनी बाहिर निस्के लगत्तै म उनको छेउमा गएँ र आफ्नो परिचय दिँदै आफ्नो काम बताए । यो हप्ता अन्तर्वार्ता गर्न समय नभएको भन्दै अर्को हप्तासम्म सम्पर्क गरी अन्तर्वार्ता लिनका लागि मैले सम्पर्क नम्बर उनका पिए अशोक यादवबाट लिएँ । नेपालका मन्त्रीहरू धेरै व्यस्त रहन्छन् । यो मैले बुझेकै कुरा हो । तर के काममा व्यस्त रहन्छन् त्यो चाहिँ मैले अझै बुझ्न सकेको छैन । ‘व्यस्त’ रहनु ‘ठूलो मान्छे’ हुनुको परिचायक पनि हुनसक्छ । ‘साना मान्छे’हरूलाई त सधैं फुर्सद नै फुर्सद हुन्छ । अहिले धान बालीमा खोलो पसेपछि धान काट्न नपरेर किसानहरू र्फुसदमा छन् नि !
हामी बाहिरसम्म सँगै निस्कियौं । म भौतिक विकास तथा यातायात मन्त्रालय पनि जानु थियो । त्यसैले विदा मागेर म अघि बढें । भौतिक पूर्वाधार मन्त्रालय विकास तथा प्रविधि समितिबाट एउटा मोड लिनासाथ पुगिन्छ । म निस्किँदै गर्दा मन्त्री यादवको गाडी निस्किसकेको थियो ।
म हिँडेर मन्त्रालय पुग्नै लाग्दा मन्त्रीको गाडी पनि त्यहीँ आएर घ्याच्च रोकियो । मन्त्री यादव एउटा मोड गाडी चढेर आएकी रहिछन् । १२–१५ सेकेण्ड जति गाडी चढिन् होला । चढ्नु र ओर्लनुको लेठो मात्र के गरेको होला । मेरो मनमा कुरा खेल्यो ।
सायद लुखुर लुखुर हिँड्यो भने त मन्त्री भएको के अर्थ भयो र ? भन्ने सोचिन कि मन्त्रीले । अथवा सुरक्षा ‘थ्रेट’ भएर पो ४ कदम पनि गाडी चढेकी हुन् कि ? अथवा पत्रकार किशोर नेपालले भने झैं मन्त्रीहरूको ठस्सा पो हो कि ?