घाटामा चुर्लुम्म डुब्दै आयाल निगम, तेल किन्न ऋण खोज्नुपर्ने अवस्था

काठमाडौँ । पछिल्लो समय घाटा चुलिँदै गएपछि नेपाल आयात निगम संकटमा पर्न थालेको छ । पेट्रोलियम पदार्थ आपूर्तिमा निरन्तर नोक्सानी बेहोर्नु परेपछि निगम टाट पल्टिने अवस्थामा पुग्ने सम्भावना देखिएको हो ।

 

एक वर्ष यता अन्तर्राष्ट्रिय बजारमा निरन्तर तेलको भाउ आकाशिँदा निगमको घाटा पनि चुलिँदै गएको छ । पछिल्लो ६ वर्ष निरन्तर नाफामा रहेको नियम यस वर्षको सुरुदेखि नै घाटामा जान थालेको हो ।

 

लागतभन्दा कम मूल्यमा तेल बेच्नु परेपछि निगम घाटामा जान थालेको हो । चालू आवको ३ महिनामै निगमको घाटा करिब ९ अर्ब पुगेको छ ।

 

निरन्तर घाटामा गएपछि हाल निगमले संञ्चित नाफाबाट भइरहेको घाटा पूर्ति गरिरहेको छ । तर, संचित नाफा पनि सकिन लागेकाले निगमले आगामी दिनमा झनै ठूलो घाटामा व्यहोर्नु पर्ने देखिन्छ । अब केही महिना अहिलेको जस्तै घाटा बेहोर्नु परे निगमले तेल किन्न्र ऋण खोज्नुपर्ने अस्था आउनसक्ने अधिकारीहरु बताउँछन् ।

 

नेपाल आयाल निगमका सह–प्रवक्ता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्च रुपमा बढेका कारण सोही अनुसार मूल्य नबढाउँदा निगम घाटामा गएको बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर प्रतिव्यारेल ८६ डलर नाघेको छ,’ उनले भने, ‘सोही कारण भारतबाट मूल्य बढेर आएकोे छ, हामीले मूल्य बढाएका छैनौँ । त्यसैले निगमले १५ दिनमा २ अर्ब २२ करोड घाटा बेहोरिरहेको छ ।’

 

अन्तर्राष्ट्रिय रुपमै तेलको मूल्य समायोजन नभए निगमको संञ्चित नाफाले नपुग्ने र ऋण निकालेर तेल किन्नुपर्ने अवस्था आउने उनले बताए । ‘हाल विगतको संञ्चित नाफाबाट घाटा पूर्ति गरिरहेका छौँ, अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्य समायोजन नभएर यही क्रममा बढिरहने हो भने निगमले ऋण निकालेर तेल किन्नुपर्ने स्थिति आउँछ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

साढे ३ महिनामै ९ अर्ब घाटा

 

पछिल्लो साढे तीन महिनामै निगमले झन्डै ९ अर्ब घाटा बेहोरिसकेको छ । प्रत्येक महिना औसतमा करिब पौने ३ अर्ब घाटा बेहोर्नु परेको निगमले जनाएको छ ।

 

निगमका अनुसार पछिल्लो साढे तीन महिना (असार १५ यता) मात्रै ८ अर्ब ८९ करोड २३ लाख रुपैँया नोक्सानी भएको छ । निगमको तथ्यांक अनुसार साउनमा २ अर्ब १७ करोड, भदौमा १ अर्ब ८६ करोड र असोजमा २ अर्ब ७३ करोड घाटा भएको छ ।

 

तेलको मूल्य वृद्धि यस्तै रहने हो भने आगामी महिना ४ अर्ब ४४ करोड रुपैैँया नोक्सान हुने निगमको आँकलन छ ।

 

केमा कति घाटा ?

 

निगममा अनुसार सबैभन्दा धेरै घाटा खाना पकाउने एलपी ग्यासमा रहेको छ । पछिल्लो मूल्य सूची अनुसार ग्यासमा प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । ग्यासमा निगमलाई झन्डै १ अर्ब बढी नोक्सानी हुने गरेको छ । यस्तै, निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलमा १४.१६ रुपैयाँ घाटा रहेको छ ।

 

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै निगमले हरेक महिनाको दुई पटक मूल्य समायोजन गदै आएको थियो ।

 

भदौ महिना यता निगमले एक पटक मात्र मूल्य समायोजन गरेको छ । आइओसीबाट नयाँ मूल्यसूची प्राप्त अनुसार भदौ यता ६ पटक मूल्य समायोज गर्नुपर्ने भएपनि महंगी बढ्ने भएकाले मूल्य नबढाइएको सह–प्रवक्ता कार्कीले बताए ।

 

‘कर घटाए मात्र घाटा कम हुन्छ’

 

सरकारले पेट्रोलको मूल्यमा लगाएको कर घटाए मात्र निगमले घाटा कम बेहोर्नुपर्ने कार्की बताउँछन् । मूल्य स्थिरीकरण कोष र करको दायरा घटाएर मात्रै नोक्सान कम हुने उनको भनाइ छ ।

 

निगमले रक्सौल/बरौनीमा ७६.७ रुपैयाँमा प्रतिलिटर पेट्रोल खरिद गर्दै आएको छ । त्यसमा सरकारले ५६.९८ रुपैयाँ राजस्व एवंम मूल्य अभिवृद्धि कर लगाएको छ ।

 

सरकारले पूर्वाधार कर प्रतिलिटर पेट्रोल/डिजेलमा १०/१० रुपैयाँ उठाउँछ । निगमका अनुसार भारतभन्दा नेपालमा पेट्रोल÷डिजेलको मूल्य सस्तो रहेको छ । भारतको रक्सौलमा प्रतिलिटर पेट्रोलको मूल्य १७७.३२ रुपैयाँ रहेकोमा विरगञ्जमा ४८.८२ रुपैयाँ सस्तो १२८.५० रुपैयाँ रहेको निगमले जनाएको छ ।

 

निगमका अनुसार डिजजेलको मूल्य पनि भारतको भन्दा नेपालमा ५२.७३ रुपैयाँ सस्तो रहेको छ । रक्सौलमा डिजेलको मूल्य १६४.२३ रुपैयाँ वीरगञ्जमा १११.५० रुपैयाँ रहेको छ ।

 

५ वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको रणनीतिक योजना Read Previous

५ वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको रणनीतिक योजना

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?