काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ ।
धनगढीलाई बेस बनाएर जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ ।
धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए। धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी २ हजार ५१५ भाडादर कायम भएको छ ।
धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी ३ हजार ८९५ रुपैयाँ हवाई भाडादर कायम भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ ।
हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।
असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैं मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन् ।