काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्था सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरे । शुक्रबारदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।
स्वामित्व हस्तान्तरण भएसँगै रेल गुडाउने बाटो भने खुलेको छ । यद्यपि, नेपाल सरकारले अझै आवश्यक कानुन निर्माण नगरेकाले कहिलेदेखि संचालन हुन्छ भन्ने अझै टुंगो छैन ।
सरकारले २०७७ असोज २ गते भारतीय कम्पनी कोंकण रेलवेसँग ८४ करोड ६५ लाखमा किनेर उक्त रेल नेपाल ल्याएको थियो ।आवश्यक तयारी बिनै भित्र्याइएको उक्त रेल हाल सशस्त्र प्रहरीको निगरानीमा त्रिपालले छोपेर राखिएको छ ।
रेल संचालन गर्न पटक–पटक मिति तोकिएको, ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन समेत गरिसकिएको भए पनि कोरोनाको बाहनामा रेल संचालनमा आएको थिएन ।
भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोडमा निर्माण भएको उक्त रेलमार्ग ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो ।
उक्त रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।