चीनले बनायो भूपरिवेष्ठित मुलुक लाओस जोड्ने रेलमार्ग, सुरुङ मात्रै १६७ वटा

काठमाडौं । भूपरिवेष्ठित मुलुक लाओस र चीन जोड्ने अन्तरदेशीय रेलमार्ग निर्माण सम्पन्न भएको छ ।

 

दक्षिणी छिमेकी लाओस र चीन जोड्ने ६२१ माइल (१०२४ किलोमिटर) लामो अन्तरदेशीय रेलमार्ग ६ वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो ।

 

सन् २०१६ देखि निर्माण सुरु गरिएको उक्त रेलमार्गले चीनको युनान प्रान्तको राजधानी कुनमिङ सहर र लाओसको राजधानी भेन्टियानलाई जोड्ने छ ।

रेलमार्ग निर्माण पूरा भएसँगै गत साता परीक्षणका रूपमा रेल चलाइएको थियो । यस रेलमार्गमा प्रतिघण्टा १६० किलोमिटर गतिमा रेल गुड्ने जनाइएको छ । सन् २०२१ को अन्त्यसम्म मालवाहक र मानव यात्रीसहितको रेल संचालन हुने बताइएको छ ।

 

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत बनेको उक्त रेलमार्गमा ५.९ अर्ब अमेरिकी डलर (करिब ७ खर्ब नेपाली रुपैयाँ) खर्च भएको छ ।

 

दुई देश जोड्ने यस रेलमार्गका कुल ४५ वटा स्टेशन रहेका छन् । जसमा २० वटा यात्रुका लागि बनाइएका छन् ।

उक्त रेलमार्गमा १६७ वटा सुरुङ निर्माण गरिएको छ । दुई देशको सीमा क्षेत्रमा पनि सुरूङ बनाइएको छ । सुरूङभित्र दुई देशको सीमा छुट्याउन भित्तामा सम्बन्धित देशको झन्डा राखिएको छ ।

 

चीनले पछिल्लो डेढ दशकमा रेलवे निर्माणमा ठूलो रकम लगानी गरेको छ । सन् २००८ यता मात्रै चीनले करिब ३८ हजार किलोमिटर रेलमार्ग निर्माण गरेको छ । चीनले बीआरआइ अन्तर्गत विश्वका विभिन्न देशमा रेलमार्ग निर्माण गरिरहेको छ ।

 

चीन जोड्ने रेलमार्ग बनेसँगै लाओसको पर्यटन र व्यापार प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार सन् २०१९ मा मात्रै साढे १५ करोड चिनियाँले विदेश भ्रमण गरेका छन् । सोमध्ये ७ लाख ६० हजारले लाओस भ्रमण गरेको तथ्यांक छ ।

पर्यटकलाई तान्दै युद्ध संग्राहलय (फोटोफिचर) Read Previous

पर्यटकलाई तान्दै युद्ध संग्राहलय (फोटोफिचर)

कात्तिक ८ देखि भाटभटेनी हस्तकला कोसेली मेला हुने Read Next

कात्तिक ८ देखि भाटभटेनी हस्तकला कोसेली मेला हुने