सिन्धुलीगढी । नेपालीहरुको वीरताकोे गाथा बोकेको सिन्धुलीगढी युद्ध संग्रहालय जानेको घुइँचो लागेको छ । नेपालको पहिलो युद्ध संग्रहालय मानिने सिन्धुलीगढी युद्ध संग्रहालयमा दशैंको अवसरमा घुम्न जानेहरुको भीड लागेको हो ।
चाडपर्वको अवरमा सबैको छुट्टी हुने भएकाले यतिबेला गढी घुम्न आउनेको उपस्थिति बाक्लो देखिन्छ । दशैंका बेलामा दैनिक १ हजार बढी पर्यटक आएको संग्राहलयले जनाएको छ ।

संग्राहलय घुम्न आउने पर्यटकबाट दैनिक ५५ हजार मूल्य बराबरको टिकट विक्री भएको सिन्धुलीगढी राजस्व काउन्टरकी शान्ता थापा कार्कीले जानकारी दिइन् ।
‘चाडपर्वको कारण गढी घुम्न आउनेको उपस्थिति बाक्लो छ , दैनिक ५५ हजार मूल्य बराबरको टिकट विक्री भएको छ,’ सिन्धुलीगढी राजस्व काउन्टरकी शान्ता थापा कार्कीले चाणक्य पोष्टसँग भनिन् ।

नेपाल र अंग्रेज बीचको युद्धका दस्तावेज र प्रमाणसहितको सिन्धुलीगढी संग्रहालयको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन १३ गते गरेकी थिइन् । त्यसयता, सर्वसाधारणको लागि संग्रहालय खुल्ला गरिएको थियो । नेपाली सेनाले सो संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सिन्धुलीगढी युद्ध संग्राहलयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए ।

कति लाग्छ शुल्क ?
सिन्धुलीगढी युद्ध संग्रहालय अवलोकनको लागि निश्चित शुल्क तोकिएको छ । प्राप्त जानकारी अनुसार विद्यार्थीहरु, अनुसन्धानदाताहरु, निलो र रातो अपाङ्ग परिचय.पत्र धारकहरु र भूपु नेपाली सेनाले परिचयपत्र देखाएर प्रतिव्यक्ति २५ रुपैयाँमा संग्रहालय अवलोकन गर्न सक्छन् ।
त्यसैगरी, स्वदेशी अवलोकन कर्ताहरुले प्रतिब्यक्ति ५० रुपैयाँ र विदेशी अवलोकन कर्ताहरुले प्रतिव्यक्ति २०० रुपैयाँ तिर्नुपर्ने छ । चलचित्र लगायत अन्य व्यवसायिक रूपमा मनोरञ्जन दिन गरिने छायाँङ्कन गर्न चाहानेले कमलामाई नगरपालिकाबाट स्वीकृत लिई प्रतिदिन ५ हजार रुपैयाँ तिनुैपर्ने छ ।

तर ७० वर्ष माथिका जेष्ठ नागरिक,कमलामाई नगरपालिकाका पदाधिकारीहरु, बहालवाला नेपाली सेना, कमलामाई नगरकार्यपालिका मातहतका कर्मचारी र संग्राहलयलाई पुरातात्विक एवम् ऐतिहासिक वस्तु उपलब्ध गराउने व्यक्तिको हकमा भने परिचय .पत्र देखाएर निःशुल्क टिकटको व्यवस्था गरिएको छ ।
त्यसैगरी, पार्किङ्को लागि पनि निश्चित पैसा तिर्नुपर्ने हुन्छ । गढी अवलोकनको लागि बाइक पार्किङ्को लागि १० रुपैयाँ, बोलेरो पार्किङ्को लागि ३० रुपैयाँ, अटो पार्किङ्को लागि २५ रुपैयाँ र ठूला बस/गाडी पार्किङ्को लागि ५० रुपैयाँ तिर्नुपर्ने छ ।

साउन यता गढी संग्रहालय घुम्न आउनेबाट कुल १३ लाख ५९० रुपैयाँ संकलन भएको छ । अन्य दिनभन्दा सार्वजनिक विदाको दिन संग्रहालय घुम्न आउने भीड लाग्ने गरेको छ ।
यस्तो छ इतिहास
वि.सं. १८२४ मा गोर्खा फौज र अंग्रेज सेनाबिच भएको युद्धको स्मरण गराउने सामग्रीहरु संग्रहालयमा राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजलाई हराएको थियो । संग्रहालयसँगै त्यहाँको अन्य परिवेषले पनि गौरवपूर्ण इतिहास बोकेको समयको झल्को दिन्छ ।

सिन्धुलीगढी क्षेत्रमा पुग्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीति कस्तो थियो भन्ने सहज अनुमान लगाउन सकिन्छ । सिन्धुलगिढी संग्रहालय निर्माण सम्पन्न र अवलोकनको लागि खुल्ला गरिएको भएता पनि पुरानो दरबार पुनर्निर्माणको काम भने जारी रहेको छ ।
विंसं. १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका, ५६ झयालसहितको टिनको छानो भएको सिमेन्ट–इँट्टा प्रयोग गरि दुई तले दरबार बनाइएको थियो । भग्नावशेष बनेको सो दरबार हाल पुरानै स्वरूपमा पुनर्निर्माण भइरहेको छ ।

नेपालको इतिहासमा महत्वपूर्ण दुई गढी मध्येको सिन्धुलीगढीका बारेमा विस्तृत जानकारी लिन चाहनेहरुका लागि हालै बनेको संग्रहालयसँगै पुरानो दरबार पनि महत्वपूर्ण गन्तव्य बन्न सक्छ । बुटवलको जितगढी जस्तै सिन्धुलीगढीको महत्व रहेको छ । नेपाल–अंग्रेज युद्धमा यी दुई गढीलाई जीवित दस्तावेजका रूपमा लिइन्छ ।
सिन्धुलीका ठूलो र सानो गढी छन, यी दुवैको महत्व नेपाल–अंग्रेज युद्धसँग जोडिएको छ । नेपाली योद्धाले सिन्धुलीगढीको युद्धमा अंग्रेजलाई परास्त गरेका थिए । सो वीरताको इतिहासका दस्तावेजहरुसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरुका लागि महत्वपूर्ण आकर्ष केन्द्र बन्न सक्ने छ । यो संग्रहालय सात करोड ५० लाखको लागतमा झण्डै डेढ वर्षको अवधिमा निर्माण गरिएको हो ।

संग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।



