काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै देशभर पर्यटन क्षेत्र चलायमान हुन थालेको छ । गत वर्ष कोरोनाका कारण ठप्पप्रायः रहेको पर्यटन क्षेत्र यस वर्ष भने सिजनमा जुर्मुराउन थालेको हो ।
कोरोना संक्रमण कम हुँदै गएसँगै विदेशी पर्यटक पनि क्रमशः आउन थालेका छन् भने आन्तरिक पर्यटक पनि बढ्न थालेका छन् । देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको देखिन्छ ।
पर्यटकीय सिजन सुरु हुनु र पर्यटकको चहलपहल पनि बढ्न थालेपछि ट्राभल एजेन्सीहरूले धमाधम टुर प्याकेज ल्याउन थालेका छन् । विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गर्दै ट्राभल एजेन्सीहरूले मनाङ, मुस्ताङ, मुक्तिनाथ, चितवन, पोखरा, रारा, हलेसी महादेव, लुम्बिनी, सौराह, अन्नपूर्ण बेसक्याम्प लगायत पर्यटकीय गन्तव्यका टूर प्याकेज ल्याएका छन् ।
पछिल्ला वर्षहरूमा नेपालीहरूमा चार्डवाड र बिदाको बेला घुमफिर गर्ने संस्कृति विकास हुँदै गएको छ । यसरी आन्तरिक पर्यटकको बढ्दो घुमफिर संस्कृतिलाई मध्येनजर गर्दै ट्राभल एजेन्सीहरूले घुमफिर गर्नेहरूका लागि टूर प्याकेज ल्याएका हुन् ।
कुन ठाउँका लागि कस्ता छन् प्याकेज ?
अपर मुस्ताङ : नेपालका विभिन्न पर्यटकीय गन्तव्य मध्ये अपर मुस्ताङ पनि एक हो । आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइका पर्न सफल यस गन्तव्यमा घुम्न चाहानेहरूका लागि ट्राभल एजेन्सीहरूले विभिन्न प्याकेजहरू ल्याएका छन् ।

एड्भन्टो नेपाल ट्राभल एजेन्सीले अपर मुस्ताङ र मुक्तिनाथको लागि ६ दिनको प्याकेज ल्याएको छ । कम्पनीले काठमाडौँबाट बेनी, बेनी देखि मुक्तिनाथ हुँदै अपर मुस्ताङसम्म घुम्न जान चाहानेहरूका लागि यस्तो प्याकेज ल्याएको हो ।
काठमाडौँबाट मुक्तिनाथ र मुस्ताङ जान चाहानेहरूका लागिे प्रति व्यक्ति १८ हजार रुपैयाँ खर्च लाग्ने छ । सो रकम भित्रै ५ रात ६ दिन खान र बस्नको व्यवस्था गरिएको एजेन्सीले जनाएको छ ।
स्नो ड्रिम वल्र्ड होलीडेइज टूर एजेन्सीले अपर मुस्ताङ टूरको प्रतिव्यक्ति ५ रात ६ दिनको १७ हजार ५०० खर्च तोकेको छ ।
लुुम्बिनी : गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरूको आकर्षक गन्तव्यको रुपमा चिनिन्छ । उक्त ठाउँ घुम्न चाहाने पर्यटकहरूका लागि विभिन्न ट्राभल एजेन्सीहरूले टूर प्याकेज ल्याएका छन् ।
मस्कर्ट जर्नि ट्राभलले काठमाडौँबाट जीपमा लुम्बिनी ४ दिन घुम्न जानेहरूका लागि १४ हजार र बसमा जानेहरूका लागि १२ हजार रुपैयाँ खर्च लाग्ने जनाएको छ ।
पोखरा : सुन्दर सहरको रुपमा परिचित पोखरा नेपालको एक मुख्य सहर हो । कास्की जिल्लामा अवस्थित यस ठाउँको सौन्दर्यता र फेवाताल हेर्न,प्याराग्लाइडिङ गर्न आउने पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

आन्न्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरेर विभिन्न टूर कम्पनीहरूले घुम्ने अफर ल्याएका छन् । नेचर ट्राभल्सले यस ठाउँ घुम्न चाहाने पर्यटकहरूका लागि प्रतिव्यक्ति प्रतिदिन ६ हजार ५०० खर्च लाग्ने जनाएको छ । जसमा खाना र खाजाको व्यवस्था एजेन्सीले नै गर्ने जनाएको छ ।
सौराह : सौराह आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । पछिल्लो समय दशैँकामा सौराह घुम्ने पर्यटकहरू समेत उल्लेख्य रुपमा बढेको व्यवसायीहरू बताउँछन् । सोही अवसरमा उक्त ठाउँ घुम्न चाहानेहरूका लागि नेचर भिजिट ट्राभल्सले टूर प्याकेज ल्याएको छ ।
सौराहको एकदिनको प्रति व्यक्ति ६ हजार ५०० रुपैयाँ खर्च लाग्ने एजेन्सीले जनाएकोे छ । कम्पनीका अनुसार उक्त रकममा पर्यटकलाइ खाजा र खानाको व्यवस्था गरिनेछ ।

सगरमाथा बेसक्याम्प : विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न पर्यटकहरू निकै आउने गरेका छन् । उक्त शिखर चढ्ने आधार शिविर नै सगरमाथा बेसक्याम्प हो । पर्यटकहरूले सो ठाउँबाट सर्वोच्च शिखर अवलोकन गर्न पाउने छन् ।
विभिन्न ट्राभल एजेन्सीहरूले उक्त ठाउँ घुम्न चाहाने मानिसहरूका लागि टूर प्प्याकेज ल्याएका छन् । स्वीस फेम्ली ट्रयाकले सगरमाथा बेसक्याम्प घुम्न चाहानहरूका लागिे यस्तो प्याकेज ल्याएको छ । एजेन्सीका अनुसार उक्त ठाउँ घुम्न १२ दिनको प्रतिव्यक्ति ४८ हजार ५०० खर्च लाग्छ ।
अन्नपूर्ण बेसक्याम्प : नेपालको आकर्षक पर्यटकीय गन्तव्य मानिएको अन्नपूर्ण बेस क्याम्प आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

सो ठाउँमा घुम्न चाहाने माानिसहरूका लागि विभिन्न ट्राभल कम्पनीहरूले टूर प्याकेज ल्याएका छन् । स्नो ड्रिम वल्र्ड होलीडेइजले प्रतिव्यक्ति २१ हजार रुपैयाँँमा अन्नपूर्ण बेस क्याम्प घुमाउने जनाएको छ । यस्तै, स्वीस फेम्ली ट्रयाकले ७ दिनको २१ हजार ७०० रुपैयाँ खर्च लाग्ने जनाएको छ ।
रारा : मुगु जिल्लामा अवस्थित रारा ताल र राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकहरू निकै हुन्छन् । यसरी विभिन्न विदा तथा तिहारको अवसर पारेर घुम्न जाने व्यक्तिलाइ लक्षित गरेर स्नो ड्रिम वर्ल्ड होलीडेइजले टूर प्याकेज ल्याएको छ । रारा टूरको प्रतिव्यक्ति ७ दिनको १६ हजार रुपैयाँ खर्च लाग्ने एजेन्सीले जनाएको छ ।

मुक्तिनाथ : स्नो ड्रिम वल्र्ड होलीडेइजले मुक्निाथ घुम्न चाहाने पर्यटकहरूका लागि टुर प्याकेज ल्याएको छ । एजेन्सीले चार दिनको प्रतिव्यक्ति ६ हजार रुपैयाँ खर्च लाग्ने जनाएको छ । यस्तै, नेचर भिजिट ट्राभल्सले प्रतिव्यक्ति ८ हजार ५००मा घुमाउने जनाएको छ ।