दशैंमा ४० प्रतिशतले घट्यो खसीबोकाको खपत, करिब १० हजार खसीबोका फिर्ता लगिए

काठमाडौं । यो पटक दशैंमा उपत्यका भित्र खसीबोका खपत विगतको तुलनमा ४० प्रतिशतले घटेको छ । विगतमा दशैंका बेला ४५ हजार खसीबोका खपत हुने गरेको थियो । यो पटक २५ हजार हाराहारीमा खपत भएको चौपाया खरिद विक्री संघका अध्यक्ष दिपक थापा बताउँछन् ।

 

उनले यो वर्ष २५ हजार जिउँदो खसीबोका उपत्यकामा भित्राइएकोमा १६ हजार बढि खसीबोका खपत भएको उनले बताए । उनले हाल ८ देखि १० हजार खसीबोका फिर्ता गरिएको बताए ।

 

उनका अनुसार यो वर्ष खसीबोका खपत कम हुनुमा कोरोनाका कारण मानिसहरुको आय श्रोत नहुनु रहेको छ । साथै कोरोनाका कारण धेरै बेरोजगार हुनु र बर्खे दशैंका कारण समेत खसीबोकाको खपत कम भएको उनले बताए ।

 

‘यो दशैंअघि लगातार २ वर्ष कोरोनाले असर गर्यो । कोरोनाले गर्दा धेरैले रोजगार गुमाए । घरघरमा खसीबोका काट्ने चलन पनि हराउँदै गएका छन्,’ थापाले चाणक्यपोष्टसँग भने ।

 

उनले यो वर्ष सस्तो मूल्यमा समेत खसीबोका उपभोग हुन नसकेको बताए । उनले यो पटक दशैंमा फुलपातीको दिनदेखि भारतीय खसीबोका बजारमा ल्याउन नदिइएको बताए ।

 

यो पटक दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको अधिकतम मूल्य ६४० रुपैयाँ तोकेको थियो । उक्त निर्धारित मूल्य भन्दा बढिमा विक्री गर्न नपाउने भएपछि निजी क्षेत्रहरुले सो खाद्य कम्पनीसँग प्रतिस्पर्धा गर्दै ५८० रुपैयाँदेखि ६२० रुपैयाँ प्रतिकेजी जिउँदो खसीबोका विक्री गरेको थापाले बताए ।

 

उनले सरकारले व्यवसायीहरुसँग छलफल नगरी खसीबोकाको मूल्य तोकेको बताए । ‘सरकारले व्यवसायीहरुसँग समन्यव नगरी मूल्य तोक्यो । यो पटक सरकारले बढि मूल्यमा खसीबोका विक्री गरेको छ, हामीले सरकारको भन्दा २० देखि ४० रुपैयाँ कममा विक्री गरेका थियौं,’ थापाले भने ।

 

फुलपाती अघिसम्म जिउँदो खसीको मूल्य प्रतिकेजी ७५० रुपैयाँ हाराहारीमा रहेको थियो । ‘सरकारले कहाँबाट कतिमा किनेर ल्याएर ६४० रुपैयाँमा जिउँदो खसीको मूल्य समायोजन गर्यो त्यो हामीलाई थाहा भएन । तर, यो निर्णयले यसपाली किसान र व्यवसायी घाटामा परेका छन्,’ उनले भने ।

 

उनले सरकारले एउटा खसी विक्री गर्नेलाई समेत कर लगाएको तर, बजारसम्म ल्याउने राम्रो व्यवस्था नगरेको आरोप लगाए ।

 

दशैंमा यो पटक ९ लाख बढि मानिसहरु उपत्यकाबाट बाहिरिएकाले समेत खपतमा असर पारेको उनले बताए । सरकारले चौपाया व्यवस्थापनलाई एक रुपैयाँ पनि अनुदान नदिने तर, बजारमा खसीबोका ल्याएर चौपाया विक्रीमा प्रतिस्पर्धा गरेको उनले बताए ।

 

उनले यो वर्ष दशैंमा खसीबोका किन्ने मान्छेहरु धेरै नभएको बताए । घरघरमा खसी काट्ने चलन समेत पलायन हुँदै गएकोले यो पटक खपत कम भएको उनको बुझाई छ ।

 

उनले कोभिडका कारण मानिसहरुको मृत्यु दर बढेका कारण समेत धेरैको घरमा मासुको खपत घटेको बताए ।

 

नेपालमा हालसम्म ८ लाख ५ हजार ५६० जना कोरोना संक्रमित भएका छन् । सो मध्ये ७ लाख ८२ हजार ३९३ जना कोरोनाबाट निको भएका छन् । संक्रमित मध्ये ११ हजार २९३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वाथ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

२५ सय हाराहारीमा खसी बोका अझै बजारमा विक्रीका लागि राखिएका छन् । यो वर्ष दशैंमा ४५ सय च्याङग्रा विक्री भएको उनले बताए ।

सेयर बजारमा लगातार दोस्रो दिन भिषण पहिरो, ७७.३३ अंकले घट्यो नेप्से Read Previous

सेयर बजारमा लगातार दोस्रो दिन भिषण पहिरो, ७७.३३ अंकले घट्यो नेप्से

राष्ट्र बैंकले रोक्यो ब्याजदर वृद्धि,रोकियो व्याज बढाउने होडबाजी Read Next

राष्ट्र बैंकले रोक्यो ब्याजदर वृद्धि,रोकियो व्याज बढाउने होडबाजी