काठमाडौं । नेपालमा पछिल्लो समय सूचना प्रविधिको विकासले मानिसको जीवनशैली सहज बन्दै गएको छ । विभिन्न प्रकारका अनलाइन डेलिभरी कम्पनीहरुको सेवा विस्तारले सहरी क्षेत्रका मानिसको जीवन सहज बन्दै गएको छ ।
पछिल्लो समय लकडाउन पछि खाना डेलिभरीकोे अर्डर गर्नेहरुको संख्या बढ्दै गएको छ । मानिसहरुले उक्त सुविधा बुझदै गएका कारण ग्राहकको संख्या समेत दोब्बरले बढ्दै गएको भोज डिलका मार्केटिङ म्यानेजर सन्तोष सिंह बताउँछन् ।
‘लकडाउन अघि मानिसहरुले खाना डेलिभरी सुविधाको बारेमा राम्रोसँग बुझेका थिएनन्,’ उनले भने, ‘पछिल्लो समय डेलिभरीको माग बढिरहेको छ । लकडाउन अघिको तुलनामा अहिले ५० प्रतिशतले यो सेवाको माग बढेको छ ।’
भोजमान्डुका अध्यक्ष सुनिल यादव लोकसेवाको तयारी गरिरहेका र जागिर गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर खाना डेलिभरी प्ल्याटर्फमको कन्सेप्ट ल्याएको बताउँछन् ।
केही समययता अनलाइन डेलिभरी अर्डर गर्नेहरुको संख्या बढ्दै गएको उनले बताए । अनलाइन प्रणालीको विकाससँगैै यस्ता डेलिभरी गर्ने प्ल्याटर्फमहरु मार्फत खाना तथा खाजा अर्डर गर्नेहरुको संख्या बढ्दै गएको उनको भनाइ छ ।
बजार बिस्तार हुँदै गएको र ग्राहकको संख्या पनि थपिदैं गएपछि आगामी मंसिर महिनादेखि हेटौंडामा समेत यो सेवा विस्तार गर्ने तयारी रहेको उनले बताए ।
समयको बचत
अनलाइन बाटै खाना अर्डर गर्ने सुविधाले समयको समेत बचत हुने गरेको प्रदायकहरुको भनाइ छ । यी कम्पनीहरुले ग्राहकले अर्डर गरेको छोटो समयमै भनेकैै स्थानमा खानाको डेलिभरी दिन्छन् । जसको कारण सेवाग्राहीको समय बचत हुने भएको हो ।
सेवाग्राहीले आफ्नो स्मार्ट फोनबाटै सूचिकृत जुनसुकै होटेल वा रेष्टुरेन्टको खाना अर्डर गरेर तुरुन्तै घरमै वा आफुले चाहेको स्थानमा प्राप्त गर्न सक्नेछन् ।
‘शुरुमा हामीले विद्यार्थी र लोकसेवा आयोगको तयारी गरी रहेकाहरुलाई लक्षित गरेर यो सेवा शुरु गरेका हौं,’ भोजमान्डुका अध्यक्ष यादवले भने, ‘यसले कोठामा खाना पकाउन समय नहुनेहरुका लागि निकै सहज बनाएको छ, समयको बचत पनि भयो ।’
यी हुन् अनलाइनबाटै अर्डर लिएर घरमै खाना डेलिभरी गर्ने केही प्ल्याटर्फम
भोजमाण्डु : अनलाइन फूड डेलिभरी सेवा दिइरहेको भोजमाण्डुले उपत्यकाका साथै विरगञ्जमा समेत सेवा विस्तार गरेको छ ।
कम्पनीले बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी गर्ने जनाएको छ । तातो र छिटो खाना, खाजा पु¥याउन कटिबद्ध रहेको कम्पनीको भनाइ छ ।
सेवाग्राहीले भोजमाण्डु एप डाउनलोड गरेर अनालाइनबाटै खानाको अर्डर गर्नसक्ने छन् । भोजमाण्डु सन् २०१९ अप्रिलदेखि सञ्चालनमा आएको हो । कम्पनीले आगामी मंसिर सम्ममा हेटौंडामा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
फुडमाण्डु : नेपालमा सञ्चालनमा रहेको खाना डेलिभरी गर्ने अर्को प्ल्याटर्फम हो फुडमाण्डु । फुडमाण्डु नेपालमा लोकप्रिय रेस्टुरेन्टहरुबाट खाना डेलिभरी गर्नेे कम्पनी हो ।
कम्पनीले काठमाडौं उपत्यकामा खाना डेलिभरी सेवा दिइरहेको छ । यो कम्पनी सन् २०१० देखि सञ्चालनमा आएको हो । फुडमाण्डुको डेलिभरी सेवा बिहान ११ बजेदेखि बेलुका ८ः३० सम्म रहने कम्पनीले जनाएको छ ।
भोज डिल्स : भोज डिल्स नेपालमा सन् २०१५ देखि सञ्चालनमा आएको अनलाइन प्ल्याटर्फम हो । कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल र भैरहवामा सेवा दिदैं आएको छ । हाल १ हजार बढि रेष्टुरेन्ट र २ हजार बढि राइडरहरु कम्पनीसँग आबद्ध रहेको भोज डिल्सको भनाइ छ । कम्पनीले देशका विभिन्न सहरहरुमा ग्राहकको संख्या बढ्दै गएपछि आफ्नो सेवा बिस्तार गर्ने योजना रहेको बताएको छ ।
भोक लाग्यो : यो कम्पनीले पनि खाना डेलिभरी सेवा दिँदै आएको छ । कम्पनीले बिहान ११ बजेबाट ४ बजे सम्म आफ्नो सेवा समय तोकेको छ । सेवाग्राहीले अर्डर गरेको ४५ मिनेट देखि एक घण्टा भित्रमा खाना प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।