हरियो तरकारीको मूल्य छोइनसक्नु, उपभोक्ता चर्को मारमा

काठमाडौं । बजारमा हरियो तरकारी र सागपातको मूल्य अस्वभाविक रुपमा आकाशिएको छ । भदौ यता तरकारीको मूल्य क्रमशः उकालो लागे पनि दशैंको मुखमा भने ह्वातै बढेको हो ।

 

दुई साताअघिको तुलनामा हरियो तरकारीको मूल्य २० प्रतिशतदेखि दोब्बरसम्म वृद्धि भएको छ । दशैंका लागि १० लाखभन्दा बढी मानिस काठमाडौंबाट बाहिरिए पनि बजारमा हरियो तरकारीको माग उच्च हुँदा मूल्य बढेको व्यापारीहरु बताउँछन् ।

 

फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तरकारीको उत्पादन नै कम भएकाले मूल्य बढेको बताए । ‘यसअघि मनसुन सक्रिय हुँदा हरियो सागपात तथा तरकारीको उत्पादन नै कम छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘हाल बजारमा तरकारीको माग पनि उच्च छ । त्यसैले मूल्य वृद्धि भएको हो ।’

 

अब केही दिन न्यून मात्रमा तरकारी आयात हुने हुँदा ठूला होटलका साथै आम मानिसले पनि स्टक राख्ने भएकाले तरकारीको माग बढेको बताइएको छ । साथै, नवरात्रीभरीमा पूजाआजा गर्नेले माछामासु बार्ने भएकाले पनि बजारमा हरियो सागपातको माग वृद्धि भएको श्रेष्ठको ठम्याइ छ ।

 

अबको केही सातापछि तरकारीको मूल्य क्रमशः घट्दै जाने श्रेष्ठ बताउँछन् । ‘ मनुसुन बाहिरिन थालेको छ । अब क्रमशः उत्पादनमा पनि वृद्धि हुन्छ । उत्पादन बढेपछि माग बढे पनि मूल्य घट्छ,’ उनले भने ।

 

कुन तरकारीको कति छ मूल्य ?

 

कालिमाटी तरकारी बजारमा आज (सोमबार) हरियो सागपातमा चमसुरको सागको औसत मूल्य प्रतिकिलो १३५ रुपैयाँ रहेको छ । त्यसैगरी जिरीको साग प्रतिकिलो ५०० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १००, मेथिको साग प्रतिकिलो २५५, रायोको साग प्रतिकिलो ५५ रुपैयाँ रहेको छ ।

 

त्यसैगरी, लोकल काउलीको औसत मूल्य प्रतिकिलो ८५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ११० रुपैयाँ, लोकल काक्रो प्रतिकिलो ४५ रुपैयाँ, गाँजर प्रतिकिलो १३५, लोकल घिउसिमी (राजमा) १३५ रुपैयाँ, घिरौला प्रतिकिलो ६५ रुपैयाँ रहेको छ ।

 

यसैगरी, कुरिलो प्रतिकिलो ६०० रुपैयाँ, डल्ले च्याउ प्रतिकिलो ३२०, हरियो छ्यापी प्रतिकिलो १८०, टाटेसिमी प्रतिकिलो १४० रुपैयाँ, तने बोडी १३५, ब्रोकाउली १९५, मटरकोशा १९० रुपैयाँ प्रतिकिलो रहेको छ ।

 

उपभोक्त चर्को मारमा

 

दशैंको मुखमै तरकारीको भाउ अचाक्ली महँगिएपछि उपोक्ता भने चर्को मारमा परेका छन् । सामान्य अवस्थामा भन्दा धेरै खर्च हुने बेलामा दैनिक भान्सामा प्रयोग हुने तरकारीको भाउ बढेपछि झनै मारमा परेका हुन् ।

 

ठूला तरकारी बजारमै तरकारीको मूल्य अत्यधिक महँगो रहेको छ । झन् खुद्रा बजारमा व्यापारीहरुले होलसेल मूल्यको दोब्बरसम्म बेच्ने गरेका छन् । जसले उपभोक्ता चर्को महँगि बेहोर्न बाध्य छन् ।

 

व्यापारीले दशैंको मौका छोपी चर्को मूल्यमा बेचे पनि प्रभावकारी अनुगमन नहुँदा मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । चाडवाडको बेलामा आम उपभोक्ता ठगिनबाट जोगाउनु पर्ने राज्यले प्रभावकारी अनुगमन गर्न नसक्दा उपभोक्ता मूल्यवृद्धिको मारमा पिल्सिन बाध्य छन् ।

 

तरकारीको मूल्य दिनदिनै वृद्धि हुन थालेपछि तरकारी किनेर खान नसकिने अवस्था भएको उपभोक्ताहरु बताउँछन् । व्यापारी र धनी वर्गकालाई कम असर पारे पनि दैनिक काम गरेर गुजारा चलाउनु पर्नेहरुलाई भने ठूलो मार परेको छ ।

 

ग्लोबल आइएमई र मुक्तिनाथ बैंकबीच सम्झौता Read Previous

ग्लोबल आइएमई र मुक्तिनाथ बैंकबीच सम्झौता

दशैंलाई सेयर बजारको रातो टीका, यी हुन् धेरै मूल्य घट्ने ९ कम्पनी Read Next

दशैंलाई सेयर बजारको रातो टीका, यी हुन् धेरै मूल्य घट्ने ९ कम्पनी