घट्यो जिरा मसलाको आयात, मूल्य भने यथावत

काठमाडौं । दैनिक भान्सामा प्रयोग हुने मसलाजन्य वस्तुको आयात घटेको देखिएको छ । गतवर्षको तुलनामा चालू आर्थिक वर्षमा जिरा , धनियाँ, मेथी, मरिच, सुकुमेल, अदुवा लगाएत मसलाको आयात घटेको हो ।

 

चालू आर्थिक वर्षको दुई महिना (साउन-भदौ)मा जिरामसलाको आयात घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालू आवको भदौसम्ममा विभिन्न देशबाट ५४ करोड ४७ लाख ५१ हजार मूल्य बराबरको २४ लाख ८४ हजार ९२५ किलो जिरा आयात भएको छ ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा २ लाख २६ हजार ८३१ किलो (करिब ३ करोड रुपैयाँ) कम हो । गत वर्षको भदौसम्ममा ५७ करोड ४० लाख ३६ हजार मूल्य बराबरको २२ लाख ५८ हजार ९४ किलो जिरा आयात भएको थियो ।

 

यसैगरी, चालू आवमा गत वर्षको तुलनामा मेथी आयात पनि घटेको छ । गत वर्षको तुलनामा यस वर्ष मेथी आयात आधाभन्दा धेरैले घटेको हो ।

 

भन्सार विभागका अनुसार चालू आवमा २ करोड ७० लाख २२ हजार मूल्य बराबरमा २ लाख ९९ हजार २४५ किलो मेथी आयत भएको छ । जबकि गत वर्ष सोही अवधिमा ४ करोड २१ लाख ६६ हजार मूल्य बराबरको ४ लाख ६६ हजार ८०० किलो मेथी आयात भएको थियो ।

 

त्यसैगरी धनियाँको आयात पनि घटेको छ । गत वर्ष १७ करोड ७३ लाख ४२ हजार मूल्य बराबरको १३ लाख ८३ हजार ५०७ किलो धनियाँ आयात भएको थियो भने चालु आवमा ११ करोड ३५ लाख ६ हजार रुपैयाँ बराबरको १० लाख ७ हजार ३०६ किलो आयात भएको छ ।

 

त्यस्तै, गत वर्ष १४ करोड १८ लाख १४ हजार मूल्य बराबरको ६७ हजार ६४ किलो सुकुमेल आयात भएकोमा यो वर्ष १२ करोड २९ लाख १९ हजार मूल्य बराबरको ७१ हजार ९०५ किलो सुकुमेल आयात भएको छ ।

 

नेपालमै उत्पादन गर्न सकिने प्रचुर सम्भावना रहे पनि वर्षेनी अर्बौं मूल्यको जिरा मसलाको आयात हुँदै आएको छ । एकातिर स्वदेशमा उत्पादन नगर्दा वर्षेनी अर्बौं रुपैयाँ बाहिरिन पुगेको छ भने अर्कोतिर आयातित जिरा पनि कम हुँदा बजारमा अभाव भइ मूल्यसमेत बढ्न सक्ने सम्भावना देखिन्छ ।

 

आयात घट्नुको कारण बारे भन्सार अनभिज्ञ

 

जिराको आयात घट्नुको कारण बारे भन्सार विभाग अनभिज्ञ रहेको छ । आयात घट्नुको कारण सोध्दा ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा मसलाजन्य वस्तुको आयात कम भएको छ र ?,’ भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्य विक्रम खड्काले प्रतिप्रश्न गरे ।

 

‘मसलाजन्य वस्तुको आयात कम भएको भए के कारणले भयो अब हामी खोजी गर्छौं, तर गतवर्षको स्टक रहेर पनि हुन सक्छ । कि व्यापारीले बाटो छलेर पो ल्याएका छन् कि हामी खोजी गर्छौं,’ उनले चाणक्य पोष्टसँग भने ।

 

व्यापारी भन्छन् : मूल्य यथावत नै छ

 

आयात घटे पनि बजारमा जिरालगायत मसलाको मूल्य भने १ वर्षदेखि यथावत नै रहेको छ । विगतको तुलनामा मागमा ठूलो वृद्धि नभएकले आयात घटे बजार मूल्यमा खासै ठूलो परिवर्तन नआएको व्यापारीहरु बताउँछन् ।

 

गतवर्षको तुलनामा आयातमा केही कमी आए पनि बजार मूलयमा खासै प्रभाव नपरेको असनस्थित एक मसला होलसेल व्यापारीले बताए । ‘१ वर्षदेखि जिराको माग उस्तै छ । मूल्य पनि खासै वृद्धि भएको छैन, यथावत नै छ,’ उनले भने ।

 

हाल बजारमा प्रतिकिलो ३६० देखि ३७५ रुपैयाँ सम्ममा जिरा पाइन्छ । त्यसैगरी, मेथी प्रतिकिलो २५०, ज्वानो प्रतिकिलो ५०० रुपैयाँ रहेको छ ।

 

बजारमा तेजपत्ता प्रतिकिलो ३०० रुपैयाँ, मरिच प्रतिकिलो ९००, सुकुमेल ५८००, ल्वाङ प्रतिकिलो १५६०, अलैँची ५० ग्रामको १३६० रुपैयाँ, सुप ३१० रुपैयाँ प्रतिकिलो रहेको छ ।

 

उद्योगमन्त्री गजेन्द्र हमाल ३ दिनमै आउट, राजीनामा स्वीकृत Read Previous

उद्योगमन्त्री गजेन्द्र हमाल ३ दिनमै आउट, राजीनामा स्वीकृत

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल