जसले ३ खर्बमा किने घाटामा चुर्लुम्म डुबेको एअर इन्डिया, यसकारण देखे सम्भावना

काठमाडौं । घाटामा रहेको भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डियालाई देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक टाटाले खरिद गरेको छ।

 

भारत सरकारले टाटालाई २ अर्ब ४० करोड अमेरिकी डलर (करिब २ खर्ब ८८ अर्ब नेपाली रुपैयाँ) एअर इन्डिया विक्री गरेको जनाइएको छ।

 

सन् १९३२ मा टाटा समूहले नै एअर इन्डियाको स्थापना गरेको थियो। तर भारत सरकारले यसलाई सन् १९५३ मा आफ्नो स्वामित्वमा ल्याई सञ्चालन गरिरहेको थियो।

 

कुल ९.५ अर्ब अमेरिकी डलर घाटामा रहेको एअर इन्डियालाई भारत सरकारले लामो समयदेखि बेच्ने प्रयास गरिरहेको थियो। एअर इन्डिया पूरै बेच्ने भारत सरकारको घोषणा टाटाले घाटामध्ये कतिको जिम्मा लिनेछ भन्ने स्पष्ट छैन।

 

एअर इन्डियाको स्वामित्व लिने सम्झौता भएको केही समयमै टाटा सन्सका अध्यक्ष रतन टाटाले उक्त कम्पनीका पूर्वअध्यक्ष जेआरडी टाटाले पृष्ठभूमिमा एअर इन्डियाको विमान पारेर धावनमार्गमा खिचाएको तस्वीर ट्विट गरेका थिए।

 

पछिल्लो विक्री वायुसेवा प्रदायकको सम्पूर्ण स्वामित्व विक्री गर्न चाहिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सुखद रहेको जनाइएको छ। एअर इन्डियासँग थुप्रै सम्पत्ति छ जसमा १३० भन्दा विमानदेखि हजारौँ प्रशिक्षित विमानचालक र चालक दलका सदस्य समेत छन्।

 

भारतमा टाटा समूहले दुई वायुसेवा कम्पनी सञ्चालन गरिरहेको छ। सिङ्गापुर एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन गरिएको भिस्टारा र मलेसियाको कम्पनी एअर एशिया बीएचडीसँगको सहकार्यमा सञ्चालन गरिएको सस्तो उडान सेवा उपलब्ध गराउने एअर एशिया इन्डिया उक्त कम्पनीले सञ्चालन गरिरहेको छ।

 

सन् २००१ मा पनि भारतीय जनता पार्टी नेतृत्वको सरकारले इन्डियन एअरलाइन्सको ४० प्रतिशत स्वामित्व बेच्ने प्रयास गरेको थियो। त्यस बेला लुफ्थान्सा, ब्रिटिश एअरवेज र सिङ्गापुर एअरलाइन्सले खरिद गर्ने मनसाय देखाएका थिए।

 

तर सेयर प्राप्त गर्नका लागि विदेशी कम्पनीहरूले भारतीय कम्पनीहरूसँग अनिवार्य रूपमा सहकार्य गर्नुपर्ने प्रावधान सरकारले राखेपछि पछि उनीहरू पछि हटे।

 

सन् २०१८ मोदी सरकारले कम्पनीको ७६ प्रतिशत सेयर र घाटाको केही अंश विक्री गर्ने प्रयास गरेको थियो। तर सम्भावित खरिदकर्ताहरूका लागि त्यसका सर्तहरूका कारण आकर्षित भएनन्।

 

एअर इन्डिया किन आकर्षक ?

 

१३० विमानबाहेक एअर इन्डियाका नयाँ मालिकले भारतभरिका विमानस्थलमा ४,४०० आन्तरिक र १,८०० अन्तर्राष्ट्रिय अवतरण र पार्किङ स्थल नियन्त्रण गर्नेछन्।

 

त्यस्तै भारत बाहिरका विमानस्थलमा ९०० त्यस्ता स्थल छन्। तीमध्ये लन्डनको हिथ्रो विमानस्थलको आकर्षक पार्किङ स्थलहरू पनि पर्छन्।

 

त्यसबाहेक एअर इन्डियाका करोडौँ अमेरिकी डलरका घरजग्गा छन्। गत वर्ष यसका अचल सम्पत्ति छ अर्ब अमेरिकी डलर बराबरमा थिए।वायुसेवासँग ४०,००० भन्दा बढी कलाकृतिहरू रहेका छन्। तीमध्ये केही निकै बहुमूल्य रहेका छन्।

 

भारतमा हवाई यात्रुको सङ्ख्या बर्सेनि २० प्रतिशतले बढिरहेको समयमा टाटा समूहका लागि एअर इन्डिया राम्रो लगानी हुनसक्ने विज्ञहरू बताउँछन्।- बीबीसी

लगानी बोर्डले स्वीकृत गर्‍यो दुई जलविद्युत् आयोजनाको ७३ अर्बको लगानी Read Previous

लगानी बोर्डले स्वीकृत गर्‍यो दुई जलविद्युत् आयोजनाको ७३ अर्बको लगानी

महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?