बन्दीपुर केबलकार डेढ वर्ष भित्र संचालनमा आउने, स्थानीयले १० हजारमा १० वर्ष चढ्न पाउने

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ ।

 

२०७५ साउन पहिलो साता शिलान्यास भई २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना दुई वर्ष पछाडि धकेलिएको हो ।

 

२०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। अब २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए।

 

‘कोरोना कहरका कारण तोकिएको मितिमा काम सम्पन्न हुन सकेन,’ उनले भने, ‘अब आगामी वर्षको फागुन १ गतेदेखि केबलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएका छौँ ।’

 

कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

 

कम्पनीले त्यसभन्दा अगावै २०७८ फागुन १ गते रेष्ट्रो जोन सञ्चालनमा ल्याउने भएको छ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफआवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ,’ शर्माले भने। उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सकिनेछ ।

 

परियोजनाको कूल लागत २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । मोनोकेबल डिटाचवेल रोटेटिङ गोण्डोला प्रविधिमा आधारित १९ गोण्डालामार्फत प्रतिघण्टा ३०० यात्री बोक्न सक्ने क्षमता रहे पनि त्यसलाई विस्तार गरिएको छ ।

 

बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ गोण्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा ५०० यात्रु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ ।

 

यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

 

माथिल्लो स्टेशनमा नौतले चारतारे होटल बन्नेछ । यसअगाडि ६६ कोठा रहे पनि अब त्यसलाई बढाएर ८४ देखि १०० सम्ममा स्तरोन्नति गरिनेछ । होटललाई निश्चित समय र व्यवस्थापन पार गरेर चारतारेबाट पाँचतारे होटलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए ।

 

१ अर्ब अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ७५ करोड र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेकामा त्यसलाई बढाएर ९० करोड पुर्याउने लक्ष्य लिइएको छ ।

 

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता छन् ।

 

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

 

स्थानीयवासीलाई टिकटमा सहुलियत

 

कम्पनीले स्थानीयवासीलाई केबलकारको टिकटमा सहुलियत दिने भएको छ । स्थानीयवासीका लागि केबलकारमा सवार गरेवापत जीवनभरका लागि सुरुआतमा १० वर्षको अवधि रहने गरी लाइफटाइम फेयर घोषणा गरिएको छ ।

 

सो टिकटको मूल्य १० हजार रुपैयाँ तोकिएकामा परिवारका सबै सदस्यले टिकट बाहकका रूपमा पालैपालो प्रयोग गर्न सक्नेछन् । ‘यस्तो टिकट विक्री गर्नका लागि कम्पनीले आगामी कात्तिक ५ गतेदेखि पुस मसान्तसम्म खुला गर्ने निर्णय गरेको छ,’ उपाध्यायले भने, ‘प्रत्येक वडालाई १५/१५ दिनको समयसीमा दिएर टिकट किन्ने सुविधा दिएको छ ।’

 

यसैगरी वन समूहका सदस्यलाई २५ प्रतिशत, जग्गादातालाई ५० प्रतिशत र दृष्टिविहीन तथा ह्विलचियर प्रयोगकर्तालाई साधारण टिकटमा ५० प्रतिशत छुट दिइनेछ । अन्य अपाङ्गता भएका व्यक्तिलाई २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ ।

कात्तिक ४ देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्ता भर्न पाइने Read Previous

कात्तिक ४ देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्ता भर्न पाइने

स्वाबलम्वन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

स्वाबलम्वन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?