काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल विक्री वितरण गरेको छ ।
यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट ३८ लाख ५९ हजार रुपैयाँ बढीको चामल विक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम विक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल विक्रीका लागि राखेको छ । जसमध्ये स्टिम जिरा मसिनो चामलको विक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौँ उपत्यकामा रहेका चारवटा विक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको विक्री वितरण गर्दै आएको छ ।
त्यस्तै ३४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल विक्री भएको न्यौपानेले जानकारी दिइन् ।
यस्तैगरी, १ हजार २७५ किलो तीते फापर, सात ५२ किलो आयो नून, ५४२ किलो गहुँ, एक हजार २०० किलो चिनी र एक हजार ३७८ किलो आँटा बिक्री गरेको कम्पनीले जनाएको छ ।
दुई हजार ८४७ लिटर सूर्यमुखी तेल, एक हजार २४९ लिटर तोरीको तेल, चार हजार १८६ लिटर भटमास तेल र ८ हजार २९२ लिटर डिडिसीको घ्यू विक्री भएको कम्पनीले छ । कम्पनीले दशैंका लागि प्रति किलो खसी तथा बोकामा १० रुपैयाँ छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा ५ तथा भटमासको तेल र सिमीमा १० रुपैयाँ छुट दिएको छ ।
शनिबारदेखि खसीबोका विक्री
कम्पनीले शनिबारदेखि खसीबोका विक्रीको तयारी भएको कम्पनीले जनाएको छ । ‘हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली विक्री काउन्टरबाट खसीबोका विक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै विक्री गछौँ,’ सूचना अधिकारी न्यौपानेले भनिन् । कम्पनीले यस वर्षको दशैंका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने जनाएको छ ।
दुई जिल्लामा खसी बोका खरिद भए पनि काठमाडौँमा कतीमा विक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ ।